अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

उपेन्द्र यादवले थाले उपनिर्वाचनको तयारी

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण १६,

मुलुकमा गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा उम्मेदवार हुने तयारीमा छन् । उनी बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने योजनामा रहेको बताइन्छ । आठ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने निश्चित भएपछि उपेन्द्र यादव जनकपुर पुगेर त्यहाँका नेताहरूसँग यस विषयमा छलफल गरेका छन् । उनले नेताहरूलाई आन्तरिक रूपमा सो क्षेत्रको वस्तुस्थिति बुझ्न लगाइसकेका छन् । नेताहरू बारा गएर आन्तरिक रूपमा त्यहाँको वस्तुस्थितिको अध्ययन गर्न थालेका छन् । बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जसपा नेपालका रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर अध्यक्ष यादवले सो क्षेत्रबाट उपनिर्वाचनमा आफू उम्मेदवार बन्ने तयारी गरेको स्रोत बताउँछ । अध्यक्ष यादव सप्तरी–२ बाट चुनाव हारेका हुन् । उनी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएका थिए । जनकपुरबाट बारा–२ मा पुगेका जसपाका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले अध्यक्ष उपेन्द्र यादवलाई स्वागत गर्न बाराका जनता आतुर रहेको बताए । विगतमा अध्यक्ष उपेन्द्र यादवको स्वकीय सचिवको रूपमा काम गरिसकेका नेता योगेन्द्र राय यादव बारा–२ को वस्तुस्थिति बुझ्न सोमबार नै त्यहाँ पुगेका हुन् । विभिन्न व्यक्तिलाई भेट्दै उनले क्षेत्रको अवस्थाबारे अध्ययन गरिरहेका छन् । उनी भन्छन्, ‘उपेन्द्र यादव बाराबाट चुनावमा यति धेरै मत ल्याउनु हुन्छ कि रेकर्ड ब्रेक हुन्छ ।’ सो क्षेत्रका सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि प्रतिनिधिसभा सदस्यमा रिक्त हुने सिटका लागि उपनिर्वाचन गराउनुपर्ने हुन्छ । उपचुनावमा पार्टीका अध्यक्ष उपेन्द्र यादव नै उम्मेदवार बन्ने चर्चा जिल्लाभर फैलिएको बताउँदै उनले अध्यक्ष यादव बारा–२ बाट चुनाव लडेको अवस्थामा अत्यधिक मतले जिताएर पठाउने दाबी गरे । सो क्षेत्रका पार्टीका कार्यकर्ता तथा नेताहरू पनि उत्साहित रहेको बताइन्छ । उपेन्द्र यादवले उपनिर्वाचन लड्ने मनस्थिति बनाएपछि नेता तथा कार्यकर्ताहरू आन्तरिक तयारीमा जुटिसकेका छन् । ‘पार्टीका अध्यक्ष नै आफ्नो क्षेत्रमा आएर चुनाव लड्ने भएपछि उत्साहित हुनु स्वाभाविक हो,’ जसपाका स्थानीय युवा नेता भरत खड्काले भने, ‘क्षेत्रका मतदाताहरू उत्साहित छन्, नेता तथा कार्यकर्ताहरू आन्तरिक तयारीमा जुटिसकेका छन् ।’ यसअघिको चुनावमा पनि अध्यक्ष उपेन्द्र यादव बाराबाट चुनाव लड्न खोजेका थिए । त्यहाँका नेता तथा कार्यकर्ताहरूले उनलाई सोही क्षेत्रबाट चुनाव लड्न आग्रह गरेका थिए तर सप्तरीका नेता तथा कार्यकर्ताले उपेन्द्र यादवलाई त्यहाँबाट चुनावमा उठ्न लगाएका थिए । जसपा मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले पनि बारा–२ मा उपेन्द्र यादवलाई चुनावमा उठाउने आन्तरिक तयारी चलिरहेको बताए । ‘नेता तथा कार्यकर्ता उत्साहित छन्, रामसहाय यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रको गरिमा त्यसै पनि बढ्ने भयो, त्यसपछि पार्टीकै अध्यक्ष उपेन्द्र यादव चुनावमा लड्न आएपछि क्षेत्रको गरिमा बढ्ने भएका कारण क्षेत्रका मतदाताहरू उत्साहित भएका छन्,’ उनले भने । अहिले पनि सप्तरी–१ का सांसद नवल किशोर साहले आफू उपराष्ट्रपति बन्ने र आफ्नो क्षेत्रमा अध्यक्ष उपेन्द्र यादवलाई उपनिर्वाचनमा उम्मेदवार हुन प्रस्ताव गरेका छन् । तर उपेन्द्र यादवले बाराबाटै चुनाव लड्ने मनस्थिति बनाइसकेको बताइन्छ । जसपाका कार्यकारिणी सदस्य समेत रहेका रामसहाय यादवले बारा–२ बाट १३ हजार ८२२ मत ल्याएर चुनाव जितेका थिए । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए । रामसहाय यादव एमालेसँग गठबन्धन गरेर चुनाव जितेका थिए । शिवचन्द्र कुशवाहा पाँच दलीय गठबन्धनका उम्मेदवार थिए । यस्तै, स्वतन्त्र उम्मेदवार रविन्द्र यादवले १० हजार ७५०, अरुणकुमार ज्ञवालीले सात हजार ६९८, जनमत पार्टीका उम्मेदवार राजेश साहले दुई हजार ७२५, नागरिक उन्मुक्ति पार्टीका तेजबहादुर भगतले एक हजार १११, स्वतन्त्र उम्मेदवारहरु विनोद कुमार यादवले ७७७, अजयप्रसाद चौधरीले ५७४, राप्रपाका सोनालाल प्रसाद साह तेलीले ४५९ मत ल्याएका थिए । सो क्षेत्रमा जसपाबाट रामकिशोर यादव बागी उम्मेदवार भएका थिए । उनले चुनावमा ११ हजार ४३ मत ल्याएर तेस्रो स्थान ओगटेका थिए । उपचुनावमा उपेन्द्र यादव आठ दलीय गठबन्धनका साझा उम्मेदवार बन्ने समभावना रहेको जसपाका नेताहरू बताउँछन् । आठ दलमा कांग्रेस, माओवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् ।

Like