वार्षिक एक अर्ब ८० करोड बचत गर्न चार अर्ब खर्चिँदै, अब अमलेखगञ्जमा डिजेल, पेट्रोल र मट्टीतेल पाइपलाइनबाटै
रासंसा/मोतिहारी, फाल्गुण १३,
मुलुकमा अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्नको लागि आवश्यक पर्ने पूर्वाधारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। नेपाल आयल निगम र भारतीय आयल निगमले पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपुक्ती गर्न आवश्यक पर्ने पूर्वाधार निर्माण कार्य समेत अमलेखगञ्ज डिपोमा सुरु गरेकाे छ। अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्नको लागि चार अर्बको आवश्यक पर्ने पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा रहेको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रदीप कुमार यादवले बताएका छन्। पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपुक्ती गरिने कार्यमा खर्च हुन लागेको चार अर्ब रुपैयाँ मध्ये भारतीय आयल कर्पोरेशनले एक अर्ब दिने र तीन अर्ब रुपैयाँ नेपाल आयाल निगमले खर्च गरि रहेको यादवले जानकारी दिए। पाइपलाइनबाट आपुक्ती गरिने पेट्रोल र मट्टितेल भण्डाणनको लागि अमलेखगञ्ज डिपोमा भण्डारण क्षमता बिस्तार, ल्याब निर्माण र अटोमेसिन गरि तीन क्षेत्रमा ती रकमलाई खर्चने काम भइरहेको प्रमुख यादवले बताए। भारत बिहारको मोतिहारी देखि नेपालको अमलेखगञ्जसम्म रहेको नेपाल–भारत अन्तर देशीय पेट्रोलियम पाइपलाइनबाट अहिले डिजेल मात्रै आपुक्ती गरिँदै आएको छ। अमलेखगञ्ज डिपोमा निर्माण भइरहेको भण्डारन क्षमता बिस्तार, ल्याब निर्माण र अटो मेसिनको काम २०८० को माघ सम्ममा सकेर पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपुक्ती गरिने लक्ष्य राखिएको यादवले बताए। भारत बिहारको मोतिहारी देखि नेपालको अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपुक्ती सुरु भए पछि वार्षिक एक अर्ब ८० करोड रुपैयाँको बचत हुने यादवले बताए। नेपाल आयाल निगमको अमलेखगञ्ज डिपोमा अहिले ४१ सय किलो लिटर क्षमताका दुई पेट्रोल ट्यांक, २५० किलो लिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण भइरहेको उनले बताए। पेट्रोल र मट्टितेल भण्डारणको लागि अमलेखगञ्ज डिपोमा आवश्यक पूर्वाधार निर्माणको ठेक्का लिएको लिखिता इन्फास्ट्रक्चर प्रालिले २०८० को माघ मसान्त भित्र नै निर्माण सम्पन्न गर्ने गरी कामहरू गरि रहेको उनले बताए। त्यस्तै, फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्टाउने ओडब्ल्युएस सिस्टम तथा पिएमसीसी कक्ष निर्माण समेत भइरहेको यादवले बताए। एउटै पाइपलाइनबाट डिजेल, पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि अमलेखगञ्ज डिपोमा भण्डारण गर्ने क्षमता नहुँदा डिजेल मात्रै आयात गरिँदै आएको थियो।पाइपलाईबाट डिजेल मात्रै आपुक्ती हुँदै आए पछि पेट्रोल र मट्टितेल भारत बिहारको बरौनीबाट अमलेखगञ्जसम्म ट्यांकरबाटै ढुवानी गर्नु पर्ने बाध्यता रहेको छ। अमलेखगञ्ज डिपोमा सञ्चलन गरिएको कामहरू निर्माण सम्पन्न भए पछि पाइपलाइनबाट आउने पेट्रोलियम पदार्थबाट नेपाल आयाल निगमलाई तीन अर्ब ८० करोड वार्षिक बचत हुने अनुमान गरिएको यादवले बताए। अब पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पेट्रोलियम पदार्थ पाइपलाइनबाटै आयात हुने भएकाे छ। यसबाट अमलेखगञ्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्यांकरको संख्या शून्य हुनेछ भने प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख यादवले बताए। नेपालको लागि चाहिने डिजेलको ७० प्रतिशत मात्रै पाइपलाइनबाट आपुक्ती हुँदा नेपाल आयल निगमलाई वार्षिक दुई अर्ब बचत हुँदै आएको छ। पाइपलाइनबाट प्रति घण्टा तीनलाई लिटरसम्म पेट्रोलियम पदार्थ आपुक्ती गर्न सकिने छ। ७५ साल भदौ २४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँबाट स्विच वन गरेर ६९ किलोमिटर लामो मोतिहारी–अमलेखगन्ज अन्तरदेशिय पेट्रोलियम पाइपलाइनको संयुक्त रूपमा उद्घाटन गरेका थिए। अमलेखगञ्ज डिपोमा भण्डारण क्षमता बिस्तार भए पछि डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलो लिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलो लिटर पुग्ने बताइएको छ। पाइपलाइनबाट डिजेल आयात गर्दा प्रति लिटर डिजेलमा एक देखि एक रुपैयाँ ५० पैसासम्म नेपाल आयल निगमलाई बचत भइरहेको छ। २०७१ साउनमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट नेपालमा आपूर्ति गरिने पेट्रोलियम पदार्थका लागि इन्डियन आयल निगमले अनुदानमा पाइपलाइन बनाइदिने घोषणा गरेका थिए।
