नुवाकोटमा आज ४८ हल गोरु जुधाइँदै
रासंसा/नुवाकोट, माघ १,
मुलुकमा माघे संक्रान्तिको अवसरमा आज नुवाकोटको विभिन्न स्थानहरूमो गोरु जुधाई मेला हुँदैछ। नुवाकोटको तारुकालगायत विभिन्न स्थानमा ४८ हल गोरु जुध्ने छन्। विजेताहलाई ५० हजार रुपैयाँसम्म नगद पुरस्कार राखिएको छ। अन्य स्थानको भन्दा नुवाकोटको तारुका, चन्दनीको गोरु जुधाई मेला विशेष र चर्चित छ। यस पटक तारुकमा गोरु जुधाई महोत्सव र बेत्रावतीको गोरु जुधाईलाई मेलालाई आयोजकहरूले विशेष रुपमा आयोजना गरिएको जनाएका छन्। सदियौंदेखि माघे संक्रान्तिको दिन गोरु जुधाई हुने नुवाकोटको तारुकामा यस वर्ष भने तारुकाको पौरख, नेपालको गौरव भन्ने मूल नाराका साथ आइतबार र सोमबार गोरु जुधाउने कार्यक्रम छ। गोरु जुधाई मेलाको लागि गोरु दर्ता गराउने काम सकिएसँगै हल गोरु ठूला जुरो बनाउँदै मैदानमा उत्रिएका छन्। आइतवार नुवाकोटको तारुका (तारकेश्वर गाउँपालिका), बेत्रावती (विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाउँपालिकालगायतका स्थानमा गोरु जुधाई प्रतियोगिता गरिँदै छ। तारुकामा २८, पन्चकन्यामा ११ र वेत्रावतिमा नौ हल गोरु जुधाउने कार्य सुरु भएको छ। पन्चकन्या गापा- ३ पिपलडांडामा विजेता गोरु धनीलाई नगद ५० हजार रुपैयाँ पुरस्कार दिइने आयोजक समितिका संयोजक गणेश खनालले जानकारी दिए। गएको वर्ष विजेता गोरुका धनीहरुलाई प्रोत्साहन स्वरुप वर्गिकरण अनुसार १०, ८ र ६ हजार पुरस्कार प्रदान गरिएको थियो। जुधाउने गोरुको औषधि उपचार तथा बिमाको व्यवस्था गरिएको छ। जुधाइने गोरुको संख्या बढी भएको र यस पटक महोत्सवसहित मनोरञ्जनात्मक कार्यक्रमसमेत रहेका कारण दुई दिन आयोजना गरिएको आयोजकले जनाएको छ। दर्शकहरुका लागि होमस्टेको व्यवस्था गरिएको छ। ऐतिहासिक सांस्कृतिक जगेर्ना र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले तारुकामा गोरु जुधाई सांस्कृतिक महोत्सवको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष मदनकुमार श्रेष्ठले जानकारी दिए। जुधाइने गोरु दुई हजार रुपैयाँ पछि फिर्ता हुने गरि शुल्क लिइएको छ भने गोरुको वर्गिकरण गरी क, ख र ग वर्ग अनुसार पुरस्कार दिइने उनको भनाई छ। ‘माघे संक्राान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदनकुमार श्रेष्ठले दिएको जानकारी अनुसार समितिले किसानलाई मेलालाई पहिलो पटक महोत्सवसहित मनोरन्जनात्मक बनाइएको छ। वडाध्यक्ष सुर्यमान श्रेष्ठका अनुसार यस वर्ष गोरु जुधाई मेलालाई ‘महोत्सव’का रूपमा सञ्चालन गरिएको छ। माघे संक्रान्ति पर्व तारुकामा विदेशिएका युवा जनशक्ति घर फर्कन पर्व भएका कारण विशेष रुपमा रहेको श्रेष्ठले वताए। तारकेश्वर गापाले गोरु जुधाई मेलालाई सम्पन्न गर्न आर्थिक सहयोग गरेको अध्यक्ष शिव अधिकारी अविरलले वताए। तारुकाको चन्दनीको गोरु जुधाई नेपालको एकमात्र स्थानमा हुने गोरु जुधाई भएको कारण यसको संरक्षण र सम्वद्र्धनमा विशेष योजना रहेको बताए।‘गोरुलाई समय निर्धारण नगरी एकआपसमा जुधेसम्म जुधाइने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत समावेश गराउन लागिएको छ’–मेला समितिका संयोजक मदन श्रेष्ठले भने। मेला समितिका संस्थापक जनकराज ढुङ्गानाले तारुकाको गोरु जुधाइ प्रतिस्पर्धालाई व्यवस्थित, आकर्षक, रोचक र थप मनोरञ्जनात्मक गतिविधिसमेत संलग्न गराइने भएकाले यस वर्ष दुई दिन गोरु जुधाउन लागिएको बताएका छन्। ‘अघिल्ला वर्ष मेलाका रूपमा मनाइने गरिएको भए पनि यो वर्ष महोत्सवका रूपमा दुई दिन मनाउन लागिएको हो।’ माघे संक्रान्तिको अवसरमा जुधाउन दर्ता भएका गोरुलाई एकले अर्कोसँग (वान भर्सेज वान) प्रतिस्पर्धा गराउन लागिएको छ। प्रतिस्पर्धामा विजेता हुने गोरु, धेरै समयसम्म जुध्ने गोरु, उत्कृष्ट प्रस्तुतिका साथ जुध्ने गोरुलगायतका शिर्षकमा गोरुधनी किसानलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ। नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा जुधाइने गोरुले स्पेनी बुलफाइटको झल्को दिने र नेपालका लागि बिल्कुलै नयाँ प्रतियोगिताका रूपमा परिचित छ। तारुकाको मौलिक परम्परा र इतिहास जीवन्त बनाउने गोरु जुधाई मेलामा पछिल्लो समय आन्तरिक र वाह्य पर्यटकहरू समेत आकर्षित हुन थालेका छन्। यस पटक नौं हल गोरु जुधाउने तयारी भएको क्लबले जनाएको छ। दर्शकहरूको थप मनोरञ्जनका लागि बेत्रावती बजारको नेवार समुदायको लाखे नाच, जिबजिबे रसुवाको ब्राम्हण समुदायको बालनभजन, मगर समुदायको सोरठी नाच, तामाङ सेलो र तामाङ जातीको झाँक्री नाच, पञ्चेबाजा सहितको झाँकी प्रदर्शन गरिने छ। गोरु जुधाई दिउँसो ३ बजेसम्म हुने र त्यसपछि राती आठ बजेसम्म साँस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ। तारुकाको गोरु जुधाइलाई अनुसरण गर्दै अहिले नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाउन थालिएको भएपनि उपयुक्त स्थान, आकर्षक गोरु, रोमाञ्चक प्रतिस्पर्धा, ऐतिहासिक महत्वलगायतका कारण तारुकाको गोरु जुधाइको आकर्षण र महिमा सबैभन्दा उत्कृष्ट रहेको समितिका अध्यक्ष श्रेष्ठले बताए। ‘पशु जुधाएर मनोरञ्जन लिन हुँदैन भनेर अधिकारकर्मीहरुवाट विरोधका आवाज उठ्नेदेखि धेरैपटक कार्यक्रम रोक्न पनि खोजियो,’ विगतलाई स्मरण गर्दै उनी भन्छन्, ‘गोरु जुधाइको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई बचाउन र उनीहरूको जुध्ने रहेर पूरा गर्न निरन्तरता दिइएको हो।’ जुधाई जित्ने पहिलो गोरु धनी किसानलाई १३ हजार रुपैयाँ र दोस्रो हुने गोरुको धनी कृषकलाई ११ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको गोरु छनौट उपसमितिका सदस्य तथा क्लवका पुर्व अध्यक्ष सुरज लवटले जानकारी दिएका छन्। जुध्ने क्रममा चोटपटक लाग्ने गोरुको बीमा समेत भएको छ। नुवाकोट र रसुवाको सिमा क्षेत्र ऐतिहासिक एवं धार्मिक तिर्थस्थल बेत्रावतीमा गोरु जुधाउने परम्परा छ। गोरु जुधाई हेर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौ, चितवन, मकवानपुर, गोरखावाटसमेत सर्वसाधारण आउने गरेका छन्।