इन्स्टाग्राममा आउने लिङ्क खोल्दा आइडी ह्याक हुने घटना बढ्यो, ह्याकरको निशानामा सामाजिक सञ्जाल
रासंसा/काठमाण्डौ, मार्ग २६,
मुलुकमा वरिष्ठ पत्रकार किशोर नेपाल आजभोलि सामाजिक सञ्जालमा देखिँदैनन् । पत्रकार नेपालको फेसबुक र ट्विटर अकाउन्टमा ह्याकरले आँखा लगाएपछि उनी सामाजिक सञ्जालमा नदेखिएका हुन् । कार्तिक ६ बाट समस्या आएको उनको फेसबुक पेज अहिले डाउन छ । ट्विटर अकाउन्ट पनि रिकभर भएको छैन । सामाजिक सञ्जाल प्रयोगकर्ता बढेसँगै त्यसलाई दुरुपयोग गरेर ह्याक गर्ने र सोसल इन्जिनियरिङ मार्फत सञ्जालभित्र छिरेर ‘बार्गेनिङ’ गर्नेहरू पनि बढेका छन् । सामान्य प्रयासमा प्रयोगकर्ताले राखेका कमजोर खालका पासवर्ड परिवर्तन गरिने विधिलाई अनुसन्धान अधिकृतहरूले ‘सोसल इन्जिनियरिङ’ भन्छन् । वरिष्ठ पत्रकार नेपालले आफ्नो फेसबुक र ट्विटर अकाउन्टमा समस्या आएको बारे प्रहरीलाई जानकारी गराएका छन् । साइबर ब्युरोले त्यसबारे अनुसन्धान गरिरहेको छ । ‘उहाँको अकाउन्ट ह्याक भएको छ’ साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति राय भन्छन्–‘रिकभर गर्ने प्रयास गरिरहेका छौँ ।’ नेपालमा सामाजिक सञ्जाल मध्ये फेसबुकबाट सबैभन्दा धेरै चरित्र हत्या गर्ने र ठगीका घटना हुने गरेका छन् । साइबर ब्युरोको तथ्याङ्क अनुसार २०७९ साउनपछिको ५ महिनामा मात्रै फेसबुकसँग सम्बन्धित १९ सय २६ वटा घटना ब्युरोमा दर्ता भएका छन् । त्यसपछि थाहा भयो, ह्याकरले पैसा मागेका रहेछन् । धन्न उनले पैसा पठाइनन् । फेसबुक मार्फत साथी बन्नेहरू बिस्तारै मोबाइल नम्बर लिएर हवाट्स एप र भाइबरमा पहुँच बनाउँछन् । ह्वाट्स एपमा भिडियो कल गरेर भिडियो बनाउने र सो भिडियोलाई म्यासेन्जर र ह्वाट्सएप ग्रुपमा सेयर गर्ने धम्की दिएर ठगी हुने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । काठमाडौँमा बस्ने र पढेलेखेकी एक जना युवतीलाई एक दिन बहिनीको म्यासेन्जरबाट धमाधम म्यासेज आउन थाल्यो । ‘तँ कता छस्, म समस्यामा छु, मलाई पैसा हालिदे !’ आफूलाई कहिल्यै ‘तँ’ नभन्ने बहिनिले अचानक यस्ता सन्देश पठाएपछि शंका लागेर ती युवतीले बहिनिलाई फोन गरिन् । अनि, बहिनिले भनिन्–‘मैले पैसा मागेको होइन, मेरो फेसबुक अकाउन्ट मेरो पहुँच बाहिर छ ।’ ‘भिडियो कलमा महिलाले कल गर्ने र पुरुषलाई वस्त्र फुकालेर कुरा गर्न उत्तेजित बनाएर भिडियो खिच्ने प्रवृत्ति पछिल्लो समय बढ्दो छ’ ब्युरोका एसपी पशुपति राय भन्छन्–‘अनि, सो भिडियो सामाजिक सञ्जालमा राखिदिन्छु भनेर ब्ल्याकमेलिङ्ग हुने गर्छ, यसबाट पुरुष पीडित हुने गरेका छन् ।’ भिडियो बनाएपछि फ्रड गर्नेहरूले ‘मसँग फोटो, भिडियो छ लिक गर्छु’ भनेर पैसा माग्ने गरेका छन् । सामाजिक सञ्जाल अहिले ठगीको ठुलो माध्यम भएको छ । त्यस्ता ठगीबारे साइबर ब्युरोले अनुसन्धान गरेर विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुर बाहेक ठगी सम्बन्धी मुद्दा चलाउन केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाउने गरेको छ । महिला र पुरुषको नाङ्गो फोटो जोडेर बनाएको भिडियो आफ्नै मेसेन्जरमा आएपछि आत्तिएर धेरैले पैसा गुमाउने गर्छन् । यस्ता घटनामा आरोपीहरू फेसबुकमा साथी बनेर नजिकिन्छन्, अनि ह्वाट्स एपमा कुरा गर्न रुचाउँछन् । ‘त्यस्ता ब्ल्याकमेलमा भारतीय नम्बर धेरै प्रयोग भएको देखिन्छ’ एसपी राय भन्छन्–‘सामाजिक सञ्जाल प्रयोगकर्ता सचेत भए मात्र यस्ता घटना कम हुने देखिन्छ ।’ साउनपछि ४२ वटा घटनामा मुद्दा ब्युरोले मुद्दा चलाएको छ । कतिपय चरित्रहत्या गरेर पोष्ट गरिएका सामग्री हटाउने र ह्याक भएका सञ्जाल ब्युरोले रिकभर गराउने गरेको छ । टिकटकबाट चरित्रहत्या गरिएका १ सय ६२ उजुरी पछिल्लो ५ महिनामा दर्ता भएको छ । ई–सेवाको आइडी ह्याक गरेर पैसा चोरी भएको ४६ उजुरी पछिल्लो ५ महिनामा दर्ता भएका छन् । इन्टरनेट बैंकिङ्ग र इमेलमा पहुँच बनाएर पैसा ट्रान्सफर गरेका ३९ वटा घटनामा ब्युरोले अनुसन्धान गरिरहेको छ । दर्ता भएका धेरै मुद्दा अनुसन्धानको क्रममा रहेको एसपी रायले जानकारी दिए । ह्याकरलाई प्रहरीले विद्युतीय कारोबार ऐन–०६३ को दफा–४४, ४५ र ४६ अनुसार मुद्दा चलाउने गरेको छ । सो ऐन अनुसार कम्युटरको स्रोत, सङ्केत चोरी गरेमा र अनधिकृत पहुँच राखेमा बढीमा ९ वर्ष कैद र ६ लाख जरिवाना हुने कानुनी व्यवस्था छ । फुडमाण्डु र जावलाखेल स्थित भायोनेट ह्याक गर्नेहरू सहितका ह्याकरलाई प्रहरीले कानुनको दायरामा ल्याएको छ । पछिल्लो १ वर्षमा १३ जना ह्याकरलाई पक्राउ गरेर मुद्दा चलाएको एसपी रायले बताए । पछिल्लो समय चिनियाँ एप ‘वि च्याट’ पनि ह्याक भएको उजुरी आउन थालेको छ । मङ्सिर महिनामा मात्र विच्याट सम्बन्धी दुईवटा उजुरी ब्युरोमा आएको छ । विई च्याटमा मोबाइल नम्बर मागेर ह्याकरले बैंक खातामा पहुँच बनाउने गरेको अनुसन्धानबाट थाहा भएको छ । सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटा प्लेटफर्म इन्टरनेशनलको कार्यालय नेपालमा नहुँदा अनुसन्धानमा असहज हुने गरेको अनुसन्धान अधिकृतहरु बताउँछन् । ‘यहाँबाट अमेरिकास्थित मेटामा पत्र लेख्नुपर्छ’ एक जना अनुसन्धान अधिकृत भन्छन्–‘जवाफ ढिलो आउने र कतिपय अवस्थामा जवाफ नै नदिँदा अनुसन्धान जटिल हुने गरेको छ ।’ ‘सोसल इन्जिनियरिङ’मा संलग्नहरुले सामाजिक सञ्जालमार्फत चिनजान भएपछि बैंकबाट फोन गरेको भनेर ओटिपी ‘वान टाइम पासवर्ड’ लिएर पनि ठग्ने गरेका छन् । त्यस्तो ठगी घटाउन सामाजिक सञ्जाल प्रयोगकर्ता नै सचेत हुनुपर्ने एसपी राय बताउँछन् । ‘बैंकले फोन गरेर पासवर्ड माग्दैन भन्ने कुरा अनलाइन बैंकिङ्ग प्रयोगकर्ताले थाहा पाउन जरुरी छ’ उनी भन्छन्–‘सामाजिक सञ्जालको सही प्रयोगबारे जनचेतना कार्यक्रम पनि व्यापक बनाउनु जरुरी छ ।’ नेपाल र अमेरिका बिचमा ‘इन्फर्मेशन एक्सचेन्ज टिटि’ नहुँदा सूचना आदान प्रदानमा समस्या भएको अनुसन्धान अधिकृतहरूको भनाइ छ । पछिल्लो समय इन्स्टाग्राममा आउने लिङ्क खोल्दा सो आइडी ह्याक हुने घटना बढेको छ । त्यस्ता लिङ्क नखोल्न आग्रह गर्दै एसपी राय भन्छन्–‘लिङ्क खोलेपछि ह्याकरले आइडीमा सहज पहुँच बनाउँछन् त्यसपछि पैसा माग्न अनेक पासो फाल्ने गरेका घटना धेरै छन् ।’ इन्स्टाग्राम ह्याक गर्नेहरूले नाइजेरियन नम्बर प्रयोग गरेको भेटिएको छ ।