आमनिर्वाचन सम्पन्न समानुपातिक सांसद छान्न दलहरूलाई महाभारत
रासंसा/काठमाण्डौ, मार्ग २३,
मुलुकमा आमनिर्वाचन २०७९ सम्पन्नपश्चात दलहरुलाई समानुपाति उम्मेदवार छान्न महाभारत भएको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद छान्न दलहरूलाई महाभारत भएको हो । नाम पठाउने समयावधि सकिन एक दिनमात्रै बाँकी रहँदा अधिकांश दलहरूले नामावली तयार पार्न सकेका छैनन्। प्रत्येक राजनीतिक दलमा आकांक्षीहरू धेरै भएका कारण समानुपातिक सांसद छान्न महाभारत भएकाले दलहरुले शनिबार समानुपातिक उम्मेदवार छान्न एक दिनको मात्र समय रहेको छ। नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार बैठक बोलाएका छन्। एमालेले आज बोलाएको बैठक तयारी नपुगेको भन्दै शनिबारलाई सारेको छ। निर्वाचन आयोगले शनिबारसम्म समानुपातिक सांसदको नाम पठाउन दलहरूलाई पत्राचार गरेको छ। तर, कुनै पनि राजनीतिक दलले समानुपातिक सांसदको नाम आयोगसमक्ष पेस गरेका छैनन्। शनिबार अपरान्ह ४ बजेभित्र दलहरूले क्लस्टरअनुसार सांसदको नाम पठाउनुपर्ने छ। प्रतिनिधिसभातर्फ ११० र प्रदेश सभातर्फ २२० जनाको नाम आयोगसमक्ष पेस गर्नुपर्ने हुन्छ। समानुपातिक संसदमा प्रतिनिधिसभातर्फ नेकपा एमालेले ३४ सिट पाएको छ। त्यस्तै कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सिट पाएका छन्। बन्दसूचीअनुसार नाम मिले वा नमिलेको आयोगले जाँच गर्छ र नमिले सोमबारसम्म दलहरूले सच्याउन समय पाउने छ। कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फ पाएको सिटमध्ये २९ जना महिला पठाउनुपर्ने हुन्छ। बाँकी ३ जना पुरूष नेता जान पाउँछन्। विमेलेन्द्र निधि, गोपालमान श्रेष्ठ र प्रकाशशरण महतलाई छान्ने किन जीवन परियार, फरमुल्ला मन्सुर र योगेन्द्र चौधरीलाई छान्ने भन्ने विषयमा कांग्रेसमा विवाद देखिएको हो। कांग्रेसमा ३२ समानुपातिक सांसदमध्ये पुरूष ३ जनामात्रै जान पाउने भएपछि कसलाई पठाउने भन्ने विवाद देखिएको छ। कांग्रेसका वरिष्ठ नेताहरू समानुपातिक सूचीमा रहेकाले कसलाई छान्ने भन्ने विषयमा सकस देखिएको कांग्रेस नेताहरू बताउँछन्। सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ पाँच जना सांसदको टुंगो लगाए पनि प्रदेशसभातर्फको सांसद टुंगो लगाउन सकेको छैन। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सांसदमा नाम छनौटका विषयमा विवाद देखिएको छ। समानुपातिक पद्धतिमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै उम्मेदवार र पार्टीका नेताहरूले असन्तुष्टि जनाएका हुन्। सो पार्टीले प्राइमरी इलेक्सनमा धेरै मत ल्याएकाहरूको क्रम मिलाएर बन्द सूची पेस गरेको थियो। प्राइमरी इलेक्सनबाट समानुपातिक पद्धतिका उम्मेदवारको बन्दसूची तय गरिए पनि सो प्रक्रिया मिच्न खोजिएको उम्मेदवारहरूको आरोप छ। रास्वपाका असन्तुष्ट नेताहरूले पार्टी कार्यालय अगाडि खबरदारी सभा गरेका थिए। यसरि नै माओवादी केन्द्रले समानुपातिकतर्फ पाएका १४ सिटमध्ये ११ जना महिला पठाउनु पर्नेछ। माओवादीमा धेरै आकांक्षी भएकाले कसलाई पठाउने भन्ने टुंगो लगाएको छैन। समानुपातिकतर्फ राजनीतिक दलले क्लस्टरभित्र प्राथमिकता क्रमका रहेका उम्मेदवार निर्वाचित सिफारिस गर्नुपर्ने हुन्छ। सिफारिसका क्रममा सो दलको राष्ट्रिय सभामा रहेका र प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने विधिबाट निर्वाचित भएका सांसदको संख्याले कुन क्लस्टरमा कति निर्वाचत हुने निर्धारण हुन्छ। संविधानमा भएको व्यवस्थाअनुसार दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, मधेसी १५.३ प्रतिशत, थारु ६.६ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत र खस आर्य ३१.२ प्रतिशत निर्वाचित भएको हुनुपर्छ। यी सबै क्लस्टरमा ५० प्रतिशत महिला अनिवार्य निर्वाचित गराउनुपर्ने हुन्छ।