भाडाकै भवनमै नयाँ सांसद

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २०,

मुलुकमा निर्धारित समयमा संसद् भवनको निर्माण नसकिने भएपछि अबको संसद् बैठक पनि भाडाकै घरमा बस्ने भएको छ। संसद् भवन सिंहदरबार परिसरभित्र बन्दै छ। आफ्नै भवन नहुँदा सचिवालयले बानेश्वरको भाडामा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक राख्दै आएको छ। पञ्चायतकालमा बनेको संरचनामा टालटुल गरेर पनि ठाउँमा अपुग हुने भएपछि संसद् बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडाको घरमा विगतदेखि नै चल्दै अएको छ। आफ्नै सुविधासम्पन्न भवन बनाउने उद्देश्यका साथ बनाउन थालिएको भए पनि कोभिडका कारण निर्धारित समयमा निर्माण सकिएको छैन। संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमला निर्धारित समयमा भवन नसकिएकाले निर्वाचित संसद्को बैठक पनि पहिलेकै स्थानमा राख्नुपर्ने अवस्था आएको बताउँछन्। ‘नयाँ निर्वाचित भएर आउनेले पनि नयाँ भवन पाएनन्। अर्कोतिर सिंहदरबार र संसद् भवन एकै ठाउँमा नभई फरक दूरीमा रहँदा चुनौती छ,’ उनले भने। सिंहदरबारको पुतली बगैंचामा निर्माण हुन गइरहेको भवनको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते शिलान्यास गरेका थिए। ५ अर्ब ६७ करोड भ्याटसहित रकमको ठेक्का तुँदी सेस कन्सट्रक्सनले लिएको हो। भवन बनाउने जिम्मा लिएको सहरी विकास मन्त्रालयले साढे दुई वर्षसम्ममा निर्माण सक्ने जनाएको थियो। तर, शिलान्यास गरेको तीन वर्षमा ६० प्रतिशतमात्र काम सकिएको छ। भाडामा मात्रै राज्यकोषबाट अर्बाैं रकम खर्च भइरहेको छ। हालसम्म कति रकम तिरेको भन्ने सचिवालयसँग कुनै रेकर्ड छैन। तर, भवन बन्ने रकम भाडामा गएको अनुमान गर्न सकिन्छ। संसद् भवन बानेश्वरको भाडा १५ करोड रहेको संघीय संसद् सचिवालयका प्रमुख लेखानियन्त्रक बसन्तराज सिग्देलले बताए। अहिले १६ करोड ५० लाख पुगेको उनी बताउँछन्। २०७९ असोजमा सकेर हस्तान्तरण गर्ने भनिएको भवनको ६० प्रतिशत मात्र काम सकिएको भवन निर्माण आयोजनाका प्रमुख दीपक श्रेष्ठले बताए। ‘कोभिडका कारण ६ महिना थप गरी आउँदो चैतसम्म म्याद थपिएको हो,’ उनले भने। उनका अनुसार अन्य देशमा भएका संरचना र आवश्यकताको कुरालाई ध्यानमा राख्दै नयाँ संसद् भवन निर्माण गर्न लागिएको छ। भवन निर्माणमा सूचना प्रविधिको भरपुर प्रयोग गर्न सुझाव दिइएको छ। नयाँ प्रविधि प्रयोग गरी संसद् भवन निर्माण हुनेछ। भवनमा मिडिया सेन्टर र मिडिया कन्फरेन्स हल हुने बताइएको छ। नेपालको इतिहासमा भवन निर्माणमा यो सबैभन्दा ठूलो प्रोजेक्ट मानिएको छ। अत्याधुनिक सुविधासम्पन्न बनाउन लागिएको भवनमा भीभीआईपी कक्ष, संयुक्त कक्षलगायत सबै सुविधा हुने प्रवक्ता धमलाले जानकारी दिए। यस्तै विभिन्न प्राविधिक कोठाहरू, संयुक्त सदन, केही बहुउद्देश्य हल, सुरक्षालाई ध्यानमा राखेर बंकर व्यवस्था, भीभीआईईपी कक्ष, संसदिय दलको कार्यलय पनि यो भवनमा रहनेछ।

Like