राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तेस्रोपटक

Share to:

रासंस/काठमाण्डौ, कार्तिक ३०,

मुलुकमा नेपालको संविधानको भाग ३३ मा संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९७ मा राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी उल्लेख छ। २०७४ साल फागुन–चैतमा सम्पन्न गरिएको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन संघीय संरचना अनुसार संसद् गठन भएपछिको पहिलो थियो। भने नेपालमा गणतन्त्र स्थापना भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको तेस्रो निर्वाचन थियो। २०७४ साल फागुन २९ गते हुने राष्ट्रपति निर्वाचन र चैत ९ गते हुने उपराष्ट्रपति पदको निर्वाचन प्रयोजनका लागि मतदाता नामावली तयार पार्ने काम कानुनतः आयोगकै जिम्मेवारीमा थियो। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी नियमावली, २०७४ बमोजिम संघीय संसद् सचिवालय र सात वटै प्रदेशसभाका सचिवालयबाट सदस्यहरूको नामावली आयोगले माग गरेको थियो। संघीय संसद् सचिवालयबाट प्रतिनिधि सभाका २७५ जना सांसद र राष्ट्रियसभाका ५६ जना सांसदको नाम आयोगमा दिइएको थियो। सात प्रदेश सभाबाट कूल ५ सय ५० जना सदस्यमध्ये ५ सय ४९ जना सदस्यको नाम आयोगमा प्राप्त भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो कार्यकाल सकिएपछि २०७४ साल फागुनमा निर्वाचन गर्ने निर्णय भएको थियो। निर्वाचन आयोगले सरकारको निर्णय अनुसार त्यसै साल फागुन २९ का लागि राष्ट्रपति पदको निर्वाचनको मिति तोकेको थियो। निर्वाचनका लागि आयोगले राष्ट्रपति पदको निर्वाचन तथा कार्यतालिका पनि स्वीकृत गरेको थियो। फागुन १७ मा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर काठमाडौंमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको थियो। आयोगका अनुसार फागुन २३ गते राष्ट्रपति पदको निर्वाचनका लागि जम्मा दुईजना उम्मेदवारको मात्र मनोनयनपत्र दर्ता भएको थियो। राष्ट्रपति पदको निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्नेमा कुमारी लक्ष्मी राई र विद्यादेवी भण्डारी उम्मेदवार बनेका थिए। निर्धारित समयभित्र मनोनयनपत्र दर्ता गर्ने कुनै पनि उम्मेदवारले आफ्नो मनोनयनपत्र फिर्ता नलिएपछि दुवैजना उम्मेदवारको नाम कायम रहेको थियो। मतदानपछिको मतगणनामा विद्यादेवी भण्डारीले ३९ हजार २ सय ७५ र कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत प्राप्त गरेकी थिइन। योसँगै भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। फागुन २० गते बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म मतदान कार्यक्रम सञ्चालन भएको थियो। संघीय संसदका ३३१ जना र प्रदेश सभाका ५४९ गरी जम्मा ८८० मतदातामध्ये संघीय संसदका ३२६ जना र प्रदेश सभाका ५ सय ३६ जना गरी कुल जम्मा ८ सय ६२ जना मतदाताले राष्ट्रपतिको निर्वाचनमा मतदान गरका थिए। राष्ट्रपति पदको निर्वाचनमा ९८ प्रतिशतले मतदान गरेका थिए। राष्ट्रपति पदको निर्वाचनमा मतदान भएको जम्मा ८ सय ६२ मतमध्ये संघीय संसद्का सदस्य मतदाताले मतदान गरेको मतपत्रमध्ये ३ र प्रदेश सभाका सदस्य मतदाताले मतदान गरेका मतपत्रमध्ये ५ गरी कुल ८ वटा मतपत्र बदर भएका थिए। राष्ट्रपतिको निर्वाचनमा मतदान गरिएका ८ सय ६२ मत अर्थात ०.९३ प्रतिशत मत बदर भएको थियो। राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानुन बमोजिम प्रधान न्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था संविधानको धारा ७१ मा उल्लेख छ। त्यसै अनुसार राष्ट्रपति पदको शपथ ग्रहण गरेकी थिइन्। भण्डारी संविधानको धारा ६२ को उपधारा (३) बमोजिम निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त भएपछि निर्वाचनको पहिलो चरणमै राष्ट्रपति पदमा निर्वाचित घोषणा गरिएको थियो। त्यसैगरी २०७४ साल चैत ९ गते उपराष्ट्रपति पदको निर्वाचन गर्ने निर्णय भएको थियो। त्यसैअनुसार चैत १ गतेदेखि चैत ४ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उपराष्ट्रपति पदको निर्वाचन कार्यक्रम सञ्चालन गरिएको थियो। चैत ४ मा उम्मेदवारको अन्तिम नामावलीमा नन्दबहादुर पुनको एक मात्र उम्मेदवारी कायम रहेको थियो। उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुनको मात्र उम्मेदवारी कायम भएको थियो। नन्दबहादुर पुन दोस्रोपटक उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित घोषित भएका थिए। निर्वाचितले संविधानअनुसार राष्ट्रपतिबाट उपराष्ट्रपति पदको शपथ ग्रहण लिएका थिए।

Like