सुनसरी १ का एमालेका बागी उम्मेद्वार मेन्याङ्बोलाई पार्टीबाट निष्काशन
रासंसा/सुनसरी, कार्तिक १५,
मुलुकमा पार्टी निर्णय विपरीत सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेद्वारी दिएका बागी उम्मेद्वार मनोजकुमार मेन्याङ्बोलाई नेकपा एमालेले पार्टीबाट निष्काशन गरेको छ। यता, एमाले जिल्ला सचिवालय सदस्य तथा धरान नगर इञ्चार्ज नारायण सुवेदीले पार्टी निर्णय विरुद्ध उम्मेद्वारी दिएकाहरुलाई कारबाही गरिनु नियमित प्रक्रिया भएको बताए। ‘पार्टी निर्णयविरुद्ध गएपछि कारबाही हुनु स्वभाविक प्रक्रिया नै हो, यसले पार्टीमा अनुशासन कायम राख्छ,’ उनले भने। एमाले प्रदेश नं १ कमिटीले मेन्याङ्बोलाई पार्टी निर्णय विपरीत स्वतन्त्र उम्मेद्वारी दिएकोले पार्टी विधानको धारा ८१ को उपधारा १ बमोजिम पार्टी सदस्यताबाट निष्काशन गरेको जनाएको छ। एमाले प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेका अनुसार पार्टी निर्णयविपरीत चुनावमा उठेकाहरुलाई मनोनयन फिर्ता गर्न अनुरोध गरिएको थियो। उक्त अनुरोध अनुसार उम्मेद्वारी फिर्ता नगरी चुनौती दिएकाहरुलाई पार्टी विधान वमोजिम कारबाहीको निर्णय गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए। उनले भने, ‘ज जस्ले उम्मेद्वारी फिर्ता लिनुभयो, उहाँहरुलाई गरेनौं। फिर्ता नलिएर पार्टीको निर्णयलाई चुनौती दिएकाहरुलाई कारबाही हुन्छ।’ पार्टी निर्णयविरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका मेन्याङ्बोले भने आफूले पार्टी सदस्यता त्यागेको घोषणा गरेर चुनावमा उठेको कारण कुनै फरक नपर्ने बताए। पार्टीले स्थानीय परिस्थिति र कार्यकर्ताहरुको माग नबुझी माथिबाट निर्णय लादेकोले विद्रोह गरेको भन्दै उनले भने,‘मैले पार्टी साधारण सदस्य नरहने गरी स्वतन्त्र उम्मेद्वर दिने घोषणा गरेको थिए। पार्टी नै परित्याग गरिसकेकोले कारबाही गरेको भन्ने कुराले कुनै फरक पदैन।’ सुनसरी १ मा एमाले र जसपाबीच चुनावी तालमेल भएको छ। जसले गर्दा एमालेका स्थानीय नेता, कार्यकर्ताहरुमा असन्तुष्टी जन्माएको थियो। असन्तुष्ट कार्यकर्ताहरुले एमालेका प्रदेश कमिटी सचिवालय सदस्य मेन्याङ्बोलाई साथ दिदै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेद्वार उठाएका थिए। सुनसरी १ मा एमाले जसपाबाट प्रतिनिधिसभा सदस्यमा जसपाका नेता अशोककुमार राई आधिकारिक उम्मेद्वार छन्। सुनसरी १ बाट एमालेले जयकुमार राईलाई सर्वसम्मत उम्मेद्वारको लागि सिफारिश गरेको भएपनि तालमेलको कारण अन्तिम समयमा उनी उम्मेद्वार हुन पाएनन्।