यूरोपदेखि पाइलट आए, तर उड्न पाएनन् प्याराग्लाइडिङमा सोलो उडानमा प्रतिबन्धले पाइलटलाई मार

Share to:

रासंसा/कास्की, कार्तिक १५,

मुलुकमा स्पेनदेखि आएका एक जना प्याराग्लाइडिङ पाइलट केही दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को पोखरास्थित कार्यालयमा तीन घन्टासम्म बसे। ती विदेशीले प्राधिकरणमा तीन घण्टा बिताउनुको कारण थियो–प्याराग्लाइडिङ उडानको अनुमति लिनु। सोलो उडान बन्द भएको थाहा नपाएका ती स्पेनी पाइलट प्राधिकरणमा अनुमति लिन पुगेका थिए तर, उनलाई प्राधिकरणले अनुमति दिएन। उड्ने अनुमति नपाएपछि निराश भएर ती पाइलट फर्किएका थिए। यहाँको आकाशमा अहिले प्राधिकरणले प्याराग्लाइडिङको सोलो उडान बन्द गरिदिँदा स्पेनी जस्ता धेरै पाइलट मर्कामा परेका छन्। तर, प्राधिकरणले पोखराको सराङकोट क्षेत्रमा अहिले प्याराग्लाइडिङको सोलो (एकल) उडान बन्द गरिदिएको छ। यहाँको आकाशमा अहिले प्याराग्लाइडिङको टेण्डम (व्यवसायिक) उडानको अनुमति मात्र प्राधिकरणले दिएको छ। पोखराको अकाशमा उड्नकै लागि भनेर यूरोपदेखि आएका धेरै विदेशी पाइलट अहिले पोखरामा रोकिएको यहाँका व्यवसायीले बताएका छन्। सराङकोटको आकाशमा व्यवसायिक बाहेक अन्यखालका कुनैपनि उडान गर्न नपाउने गरि नेपालको हवाई सेवाको नियमनकारी निकाय प्राधिकरणले प्रतिबन्ध लगाएको छ। ‘पोखराको आकाशमा सोलो उडान गर्नकै लागि भनेर १०–१२ जना विदेशी पाइलट आइसकेका छन्। तर, उनीहरु उड्न पाएका छैनन,’ नेपालकै पहिलो प्याराग्ग्लाइडिङ पाइलट राजेश बमजन भन्छन्, ‘उड्नै भनेर यूरोपदेखि आएका उनीहरु पर्खेर बसेका छन्। तर, प्राधिकरणले अनुमति दिएको छैन। ती पाइलट निराश छन्। कतिपयको पाइसकेको उडान अनुमति पनि रद्द भएको।’असोज ३० गते मानवीय क्षति हुने गरि सराङकोटमा प्याराग्लाइडिङ दुर्घटना भएपछि प्राधिकरणले सराङकोटको आकाशलाई व्यवसायिक उडानमा मात्र उपयोग गर्नुपर्ने गरी सोलोलाई प्रतिबन्ध लगाएको हो। तर, त्यसको अप्ठेरोमा विदेशी पाइलट परेका छन्। जो पोखराकै आकाशमा उड्ने गरी ग्लाइडर बोकेर यूरोपदेखि आएका छन्। बमजनका अनुसार पोखरा अरुखाले पाहुनाका लागि पछिल्लो समय ट्रान्जिट मात्र बनेको छ। तर, लामो समय बस्ने पाहुना भनेकै प्याराग्लाइडिङका पाइलट हुन्। ती पाइलट कम्तिमा २ हप्तादेखि २ महिनासम्म बस्छन्। उनीहरु उड्दा सरकारलाई राजश्व तिर्छन् भने रेस्टुरेन्ट, होटल पनि चलायमान बनाउँछन्। तर, अहिले सोलो उडानलाई विकल्प बिना बन्द गराउँदा त्यसको मार परेको उनले बताए। उनका अनुसार नेपालमा उड्न नपाउने सन्देश पाएका कतिपय विदेशी अहिले भारतको हिमाञ्चल प्रदेशको धरमशालाको नजिकको आकाशमा उड्न पुगेका छन्। जहाँ सयौंको संख्यामा सोलो उडान हुने गरेको छ। ‘पर्यटक आउने पिक सिजनमा यहाँ प्याराग्लाइडिङ पाइलटलाई उड्न रोकियो। यसको मार प्याराग्लाइडिङ मात्र नभइ पर्यटनका सबै क्षेत्रमा पर्छ। प्याराग्लाइडिङलाई मात्र नभइ सबैलाई घाटा छ,’ उनले भने, ‘कम्तीमा दुई साता बस्दा यहाँ ती पाइलटले केही रकम त खर्च गर्थे, तर खर्चनै नपाइ फर्किने अवस्था आएको छ।’ ‘टेण्डम जस्तै सोलोलाई पनि व्यवस्थापन गर्नुपर्नेमा राज्य चुकेको हो। सोलोलाई व्यवस्थापन गर्नेबारे कसैले सोचेन। व्यवसायिक उडान बाहेक सोलोलाई प्याराग्लाइडिङ उडान नै ठानिएन,’ उनले भने, ‘सोलो उडान बन्द नकारात्मक सन्देश गएको छ, पर्यटनमा उस्तै नोक्सान पुगेको छ।’ सराङकोटको आकाश साँघुरो भयो भन्दै अन्यत्र पठाउँदा पाहुना जान नमान्ने उनले बताए। सबैतिर उचित व्यवस्थापन नहुँदा पाहुना जान नमान्ने उनले बताए। ‘आकाशमा उड्ने भनेर मात्र हुँदैन, उचित सुरक्षासहित खानपिन र बसोबास तथा पहुँचको राम्रो व्यवस्थापन हुनुपर्छ,’ उनले भने। उनका अनुसार पोखराको प्याराग्लाइडिङको प्रवर्द्धन विदेशी सोलो पाइलटले गरेका हुन्। पोखरामा प्याराग्लाइडिङको सुरु सोलोबाट हुँदै व्यवसायिकतामा उक्लेको हो। तर, अहिले सोलोलाई नै व्यवस्थापन नगर्दा नेपालबारे नराम्रो सन्देश गएको उनले बताए। ठूलो खर्च गरेर प्याराग्लाइडिङ उड्न आउने पर्यटक प्रकृतिप्रेमी हुने र उनीहरु प्रकृति नियाल्न आउने भएकोले यो अवरोधले ती विदेशीको मन दुखेको उनले सुनाए। ‘पैसा खर्च गर्छु भन्दा पनि प्रतिबन्ध लगाएका हौ। यो सिजनमा २–३ सय जना यस्ता पाइलट आउने गरेका थिए। यो सिजन विदेशीका लागि उपयुक्त भएपनि रोकिँदा मार परेको छ,’ उनले भने, ‘पर्यटनको सबै क्षेत्रले आम्दानी गुमाएको छ।’ ‘प्याराग्लाइडिङमा सोलो उडान बिना ‘चार्म’ आउँदैन। टेण्डमसँगै सोलोलाई पनि तत्कालै व्यवस्थापन गरेको भए हुन्थ्यो। व्यवसायिक उडानको समय छुट्याएर सराङकोटको आकाश केही समय सोलोलाई दिन सकिन्छ,’ बमजन भन्छन्, ‘हाल टेण्डम उडान हुने सराङकोट र तोरीपानी बाहेक नजिकैका मान्द्रेढुंगा र ढिकीडाँडामा सोलो उडान अनुमति दिन सकिन्थ्यो।’ त्यसबाहेक पाइलटले आफ्नो क्षमता अभिवृद्धि गर्न सोलो उडान गर्नुपर्ने भएपनि सोलोका लागि व्यवस्थापन जरुरी रहेको उनले बताए। प्याराग्लाइडिङ पाइलटहरुका अनुसार अक्टोवर र नोभेम्बरमा नेपाल प्याराग्लाइडिङ उडानका लागि सबैभन्दा राम्रो समय मानिन्छ। यो सिजनमा उड्नकै लागि भनेर विदेशीहरु ग्लाइडरको झोला बोकेर टाढाटाढादेखि आउँछन्। उनका अनुसार यसरी आउने प्याराग्लाइडिङका यस्ता पाइलटहरु पोखरामा लामो समय बिताउँछन्। प्राधिकरणसँग अनुमति लिएर उड्छन्। होटल बस्ने र रेस्टुरेन्टमा खानपिन गर्दा ठूलो रकम खर्चन्छन्। तर, त्यो सबै भुलेर सोलोलाई प्रतिबन्ध लगाइएको गुनासो अध्यक्ष पहारीको छ। तर, अहिले आएका पाहुना पनि उड्न नपाएको पाइलट क्लवका अध्यक्ष बिमल पहारी बताउँछन्। पहारी भन्छन्, ‘पोखरा आसपासका क्षेत्रमा तत्कालै यसलाई व्यवस्थित गर्नुपर्छ। प्याराग्लाइडिङलाई हामीले खेल र व्यवसाय सोच्यौ, तर प्राधिकरणले खेलको रुपमा हेरेन, व्यवसाय मात्र देख्यो। नेपालको प्रडक्ट भन्ने नै बिर्सियौं।’ उनका अनुसार तोरिपानी र सराङकोटको आकाश व्यवसायिक उडानका लागि उपयोग गर्ने भए नजिकैको मान्द्रेढुंगा र ढिकीडाँडा सोलो उडानका लागि उपयुक्त छ। मान्द्रेढुंगा फेवाताल माथि पर्छ। ढिकीडाँडा पोखरा–१६ को अर्मला माथिको आकाश हो। पहारीका अनुसार सराङकोटको आकाशमा चाप भएपनि प्याराग्लाइडिङलाई सोलोले चिनाएकोले व्यवस्थापन जरुरी छ। ‘टेण्डम मात्र गरेको भए त नेपालले मेडल नै ल्याउँदैनथ्यो। सोलोलाई पनि ठाउँ दिनु पर्दथ्यो। यो बेला विदेशी आउने समय हो,’ उनले भने। सन् २०१८ मा इन्डोनेशियामा भएको १८ औँ एशियन गेममा नेपालले प्याराग्लाइडिङमा पहिलो सहभागीतामै क्रसकन्ट्रि (टीम इभेन्ट)मा रजत पदक जितेर नाम उचो बनाउन सफल भएको थियो। राज्यले मेडल बिर्सेको उनले बताए। ‘मान्द्रेढुंगा र ढिकीडाँडा सोलो उडानका लागि उपयुक्त ठाउँ हो। लामो समय उड्न मिल्ने भएकोले उपयुक्त छ। त्यसबारेमा तत्कालै अध्ययन गरेर सोलोका लागि उडान खुलाउनुपर्छ,’ पहारी भन्छन्, ‘पोखराको आकाशमा उड्नकै लागि भनेर आएका पाहुनालाई निराश बनाउनुहुँदैन। अहिले उड्नै नपाई फर्केका विदेशी आगामी दिनमा नआउन पनि सक्छन्। यसले नेपालको पर्यटनमा झनै मार पार्छ।’ प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का निवर्तमान अध्यक्ष कृष्ण भण्डारीका अनुसार व्यवसायीको शिफारिसमा प्राधिकरणले सोलोका लागि ठाउँ तोक्ने हो। पोखरा नजिकैका क्षेत्रमा सोलो उडानका लागि ठाउँ खोज्नुपर्ने उनले बताए। सोलोका लागि मंसिरभित्र एयरस्पेस छुट्टिने उनले बताए। पोखराको आकाशमा प्याराग्लाइडिङ गर्ने विदेशी पाइलटले नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग अनुमति लिनुपर्छ । प्राधिकरणले १५ दिनको ५ हजार रुपैयाँ लिएर अनुमति दिन्छ। १५ दिन कटेमा पुन अनुमति लिनुपर्छ। अनुमति लिन जाँदा विदेशी पाइलटले कुनैपनि प्याराग्लाइडिङ कम्पनि मार्फत जानुपर्छ। किनकी पाइलटले कम्पनिकै टेकअफ र ल्याण्डिङ क्षेत्र उपयोग गर्नुपर्छ। ‘व्यवसायिक र एकल उडान एकै ठाउँ हुँदा भीडभाड बढेर व्यवसायिकमा अप्ठेरो परेको हो। तर, पोखरा नजिकको कुनैपनि ठाउँमा सोलो उडानका लागि तुरुन्त विकल्प दिनुपर्छ। सोलो पाइलटले नै पोखराको प्याराग्लाइडिङ चिनाइदिएका हुन्। अहिले उनीहरुलाई नै ठाउँ छैन,’ भण्डारीले भने, ‘तत्कालै व्यवस्थापन जरुरी छ। यो समयमा उड्नकै लागि विदेशी पाइलट आउने भएकोले पनि व्यवस्थापन गर्नुपर्छ।’ ‘अहिले सोलो बन्द हुँदा धेरै विदेशी पाइलट उड्न पाएका छैनन्। अनुमति चाहियो भन्दै प्राधिकरणमा आउँछन्, तर, नपाएपछि निराश छन्,’ प्राधिकरणका पोखरास्थित एकजना अधिकारी भन्छन्, ‘यसले पोखराको प्याराग्लाइङि र समग्र नेपालको पर्यटनबारे नराम्रो सन्देश गएको छ।’ प्राधिकरणबाट अनुमति नपाएपछि अनुमति बिना नै उड्ने भनेर विदेशी झर्किने गरेको पनि ती अधिकारीले बताए।

Like