अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलस्वास्थ्यहेडलाइन

सुर्तीजन्य पदार्थको सेवनबाट कोरोनाभन्दा ४ गुणा बढीको मृत्यु

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ५,

मुलुकमा कोरोना महामारीको तुलनामा सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्यु हुनेको संख्या चार गुणाभन्दा बढी देखिएको छ । कोरोना महामारीले झण्डै तीन वर्षमा १२ हजार मानिसको मृत्यु हुँदा सुर्तीजन्य पदार्थको सेवनका कारण हरेक वर्ष २७ हजारभन्दा बढीको मृत्यु हुने गरेको विज्ञहरुको भनाइ छ । ३५ देशमा गरिएको अध्ययनले ‘क्रोनिक अब्स्ट्रक्टिभ पुलमोनरी डिजिज’ (सीओपीडी)बाट सबैभन्दा बढी मृत्यु नेपालमा हुने गरेको देखाएको छ । मृत्युको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन नै रहेको पाइएको छ । नेपालमा हरेक १० मध्ये ७ मृत्यु नसर्ने रोगका कारण हुने गर्दछ । सुर्तीजन्य पदार्थ प्रयोगका कारण लाग्ने रोगको उपचारमा बर्सेनि अरबौं रुपैयाँ खर्च हुने गर्छ । ग्लोबो क्यानले प्रक्षेपण गरेको एक प्रतिवेदनले नेपालमा सन् २०२२ मा थप ५ हजार क्यान्सरका नयाँ बिरामी थपिने देखाएको छ । यस्तै, सो वर्ष ४ हजार जनाको सुर्तीजन्य पदार्थका कारण मृत्यु हुने प्रक्षेपण गरिएको छ । सुर्तीजन्य पदार्थ सेवन गर्दा टक्सीनले फोक्सोका कोसिकाहरुलाई नष्ट गर्ने हुँदा फोक्सोको क्यान्सर हुने जोखिम बढ्ने डा. शाही बताउँछन् । यस्तै सानैमा सुर्तीजन्य पदार्थ सेवन गर्दा फोक्सोको विकासमा अवरोध हुन सक्ने भएकाले सीओपीडी, मुटु लगायतका रोगले सताउने उनको भनाइ छ । पाटन अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई मात्रै होइन, नगर्नेलाई पनि असर गर्ने बताए । ‘सेकेण्ड ह्याण्ड स्मोकिङ’को असर हुन सक्ने भएकाले सुर्तीजन्य सेवन नगर्नेहरु पनि सचेत हुनुपर्ने उनको भनाइ छ । क्यान्सरहरुमध्ये सबैभन्दा बढी अर्थात् फोक्सोको क्यान्सरले ८० प्रतिशतको मृत्यु हुने र प्रत्येक वर्ष विश्वमा ८० लाख मानिसको सुर्तीजन्य पदार्थको कारण ज्यान जाने एक अध्ययनले देखाएको छ । पछिल्लो समय नेपाली युवा इ–सिगरेटतर्फ सिफ्ट भएको चिकित्सकहरु बताउँछन् । भविष्यमा यी युवाहरु विस्तारै धुम्रपानतर्फ आकर्षित भएको खण्डमा भयावह स्थिति सिर्जना हुने एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सुनाए । इ–सिगरेट रोक्नका लागि तत्काल प्रभावकारी कानुनको खाँचो रहेको उनको भनाइ छ । नसर्ने रोगको प्रमुख कारकका रुपमा रहेको सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बनाइएको कानुनको प्रभावकारी कार्यान्वयनमा सम्बन्धित निकायले ध्यान नदिएको उनले बताए । ‘सुर्तीजन्य पदार्थको नियन्त्रण सम्बन्धी राम्रो कानुन भए पनि कार्यान्वयन फितलो छ । नेपालमा दैनिक ७२ जनाको सुर्तीजन्य पदार्थकै कारण ज्यान जाने गर्छ,’ उनले भने । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग सम्वन्धी बहुक्षेत्रीय कार्ययोजना ल्याएको र त्यसमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्ने उपाय पनि उल्लेख गरिएको भन्दै उनले सोहीअनुसार अगाडि बढ्ने प्रस्ट पारे । उता स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दीपेन्द्ररमण सिंहले बढ्दो क्रममा रहेको नसर्ने रोगको प्रमुख कारक तत्वको रुपमा रहेको सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । कानुन कार्यान्वयनको जिम्मेवारी सरकार र सबै पक्ष भएकाले सुर्तीजन्य पदार्थ सेवनमा नियन्त्रणका लागि सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ । ‘सुर्ती नियन्त्रण सम्वन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तहको समन्वय हुनुपर्छ,’ उनले भने, ‘सुर्तीजन्य पदार्थरहित पालिका मात्रै नभई अब हरेक घर सुर्तीजन्य पदार्थरहित बनाउनु पर्छ, यस कार्यको सुरुवात मधेस प्रदेशबाट भएको छ ।’ सुर्तीजन्य पदार्थको प्याकेटमा यसबाट हुने जोखिमसम्बन्धी चित्र ९० प्रतिशत भागमा छाप्ने व्यवस्था कार्यान्वयनमा ढिलाइ भएको अध्यक्ष चन्दले सुनाए । अदालतले आदेश दिए पनि त्यस्तो चित्र छाप्ने गरी कार्यान्वयनमा जान ढिलाइ भएको उनले बताए । यस्तै, द युनियनका क्षेत्रीय निर्देशक डा. तारासिंह बलले उत्कृष्ट कानुन हुँदासमेत कार्यान्वयन फितलो हुँदा अपेक्षा अनुसारको परिणाम आउन नसकेको बताए । कानुन बनाउने निकायले आफ्नो जिम्मेवारी बिर्सिँदा सार्वजनिक स्थलमा धुम्रपान पूर्ण रुपमा निषेध हुन नसकेको उनको भनाइ छ । कानुन विपरीत खिल्ली चुरोट बेचबिखन कायमै रहेको उनले बताए । ‘सजाय फितलो हुँदा लापरवाही गर्ने धेरै भए, अब कानुन र दण्डलाई सँगसँगै लैजान पर्छ,’ उनी भन्छिन् । उता स्वास्थ्य मन्त्रालयकी प्रमुख विज्ञ डा. संगिता मिश्राले सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनी मुलक चित्र छाप्ने व्यवस्थालाई सरकारले कार्यान्वयन गर्ने योजना बनाएको जिकिर गरिन् । यस्तै, स्वास्थ्य सेवा विभाग इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले सुर्तीजन्य पदार्थसम्बन्धी कानुन कार्यान्वयनका लागि नसर्ने रोग सम्बन्धी बहुक्षेत्रीय कार्य योजनामार्फत सम्बन्धित पक्षसँग छलफल गरी नियन्त्रण कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउने योजना बनाइने बताए ।

Like