प्रधानमन्त्री देउवाको निर्देशन, जनताको मन जित्नुहोस्
रासंसा/काठमाण्डौ, भाद्र २३,
मुलुकमा नेपाली कांग्रेसका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महिला नेताहरूलाई प्रत्यक्षमा टिकट पाउनका लागि आफू सक्षम, सशक्त र जनताको मन र मत जित्ने क्षमता बनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री देउवाले बुधबार कांग्रेसको बागमती प्रदेश प्रशिक्षण कार्यक्रममा बोल्दै महिला नेतृहरूलाई निर्वाचन जित्ने वातावरण निर्माण गर्न जनताका घर दैलोमा पुग्न आग्रह गर्दै भने, ‘जनता भनेका देशका मालिक हुन्। जनता देशका सार्वभौमसत्ता हुन्। जनताको विश्वास र मत जित्नुहोस्। मेरो कुरा गर्ने हो भने म महिला नेतृहरूलाई ५१ प्रतिशत नै दिन तयार छु। तर, गठबन्धनको यर्थाथता पनि बुझिदिनुस्। अझै मुख्य कुरा जनताको विश्वास लिएर आउनुस्। भोट जनताको चाहिने हो।’ नेपाल महिला संघले बुधबारदेखि सुरु गरेको प्रशिक्षण कार्यक्रम १० दिनभित्र सातवटै प्रदेशमा दिँदै छ। महिला संघकी अध्यक्ष उषा राउतले प्रशिक्षणका बारेमा बताउँदै एउटा प्रदेशमा ५० जनाको दरले महिला प्रतिनिधिहरू सहभागी भएको बताइन्। ‘महिलाले अब आफ्नो क्षमता मतदातालाई प्रभावित गर्न सक्ने बनाउनुहोस्। सामाजिक सञ्जालको मिडियामा सक्रियता देखाउनुहोस्। अब भाषण र सभा समारोहभन्दा पनि अनलाइनमा सक्रियता हुनपर्छ। अब महिलाले आफ्नो क्षमतामा विश्वास राख्नुहोस्। स्वतः भागमा आउँछ। आरक्षणमा सीमित हुन पर्दैन’, उनले भने। ‘महिलाले अब आफ्नो क्षमता मतदातालाई प्रभावित गर्न सक्ने बनाउनुहोस्। सामाजिक सञ्जालको मिडियामा सक्रियता देखाउनुहोस्। अब भाषण र सभा समारोहभन्दा पनि अनलाइनमा सक्रियता हुनपर्छ। अब महिलाले आफ्नो क्षमतामा विश्वास राख्नुहोस्। स्वतः भागमा आउँछ। आरक्षणमा सीमित हुन पर्दैन’, उनले भने। उनले भनिन्, ‘समग्रमा सबै प्रदेश गरेर करिब ५ सय महिला संघका दिदिबहिनीलाई तालिम दिइनेछ। २÷२ दिनको तालिममा राष्ट्रिय र अन्तर्राष्ट्रियका अनुभवी व्यक्तिहरू सहभागी हुँदैहुनुहुन्छ।’ निर्वाचनको मुखमा यो प्रशिक्षण गरिनुको प्रमुख कारण निर्वाचनलाई फोकस हो। निर्वाचनमा महिलाको प्रतिनिधित्व कसरी बलियो ढंगले बढाउन सकिन्छ भन्ने उद्देश्य रहेको राउतले बताइन्। कार्यक्रममा पूर्व उपसभापति तथा वर्तमान केन्द्रीय सदस्यसमेत रहेका प्रकाशमान सिंहले २००४ सालमा मंगलादेवी सिंहले खोलेको नेपाली महिला संंघलाई सशक्त बनाउन सबैको आवश्यकता रहेको बताए। उनका अनुसार महिलाको नाम आएपछि पछाडि सारेर आफ्नो अगाडि राख्ने परिपाटी अहिले पनि छ। ‘अहिले महिलाको आवाज बुलन्द छ। कांग्रेसले महिला चुनाव उड्छु भनेका ठाउँमा ध्यान दिनपर्छ। अहिले गठबन्धन छ। कतिपय स्थानमा टिकट भागबन्डामा पर्लान्। जुनसुकै भागबन्डामा पनि प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रबाट पुरुषलाई दिइने सिटमा महिलालाई टिकट लिएर अगाडि ल्याइयोस्’, उनले भनिन्। प्रधानमन्त्री देउवातिर इंगित गर्दै उनले भनिन्, ‘सभापतिजीले म त १ सय प्रतिशतनै महिलालाई दिन तयार छु भन्नुभयो। तर, सहभागिता खोइ भन्नुहुन्थ्यो। अहिले सहभागितामा हामी जति पनि संख्या दिन तयार छौं। ४० प्रतिशत महिला उम्मेदवार मागे पनि अहिले पनि हामी दिन तयार छौं।’ कार्यक्रममा सहमहामन्त्री डिना उपाध्यायले महिला सशक्त हुनुपर्छ भन्ने आवाज सबै जनतामा रहेको र महिला सशक्त हिजो आज र भोलि पनि महिलाले सशक्त भूमिका निभाउने बताइन्। अहिले पनि दाजुभाइलाई जिताउन महिला दिदीबहिनीहरूले नै मुख्य भूमिका निभाउँदै आएको भन्दै उनले गठबन्धनको नाममा महिलामाथि अन्याय सहन गर्न नसकिने बताइन्। उनले भनिन्, ‘महिला समानुपातिकमा मात्रमा किन ? हरेक प्रदेश, जिल्ला र क्षेत्रीय सभापतिमा पुरुष ? अनि म प्रत्यक्ष चुनाव लड्छु भनेर आउने महिलालाई पार्टीले न्याय गर्न सक्छ ? तर अब न्यायको विकल्प छैन। महिलालाई आश्वासन र समानुपातिकमा मात्र सीमित नेतृत्वले नगरोस्।’ उनले भने, ‘गुणात्मक र संख्यात्मक हिसाबमा पनि महिलाको सहभागिता बढ्दै गएको छ। व्यक्तिगत स्वतन्त्रता, क्षमता, योग्यता सबै क्षेत्रमा आफूलाई स्थापित गर्दै जानुहोला। बहुमत जुटाउन गठबन्धनको पाटो समात्नुपर्ने बाध्यता छ।’ कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एक तिहाइ महिलाको न्यूनतम सहभागी हुने व्यवस्था गरेको भन्दै अब यो सहभागिता मात्र हैन सशक्त र प्रभावकारिता सहभागिता खोज्नुपर्ने बताए। उनले देशभरका सक्षम महिलालाई महिला संघमा जोड्ने अभियान चलाउँदा हामी आगामी २ दशकमा ५० भन्दा बढी प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएको देख्न सकिने बताए। निर्वाचन परिचालनमा र आममतदातालाई कांग्रेसमा आवद्ध गर्न महिला नेतृहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै प्रवक्ता महतले भने, ‘एक तिहाइको चिन्ता नगर्नुहोस्। प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता बढोस्। त्यसो गर्दा समानुपातिकमा पुरुषहरू जान पाउँछन्। २०७४ भन्दा योपटक महिलाको आत्मविश्वास बढेको छ। पार्टीमा महिला सहभागिता र समावेशिताको विषय उठाउने र विधानमा प्रवेश गराउने अहिलेका प्रधानमन्त्री देउवा नै हुनुहुन्छ। त्यसैले महिला दिदिबहिनी आफू आफ्नो क्षमता बढाउँदै दाबी गर्नुहोला।’ एनडीआईकी नेपालकी संयोजक ड्याबोरा हिलले यो खालको क्षमता अभिवृद्घिको कार्यक्रम सातै प्रदेशमा गर्न एनडीआईले सहयोग गर्ने बताइन्। देशभर कांग्रेसका सक्षम नेतृहरूलाई जनता मत हाल्न तयार रहेको भन्दै उनले प्रधानमन्त्री देउवातिर इंगित गर्दै भनिन्, ‘देशभरि एनडीआईले गरेको एउटा अध्ययनमा देशभरका सबै भू–भागका मतदाताहरू महिलाले नेतृत्वमा महिलालाई नै पठाउन चाहन्छन्। पार्टीले सकेसम्म सातवटै प्रदेशमा महिलालाई प्रत्यक्ष र समानुपातिक सिटमा सकेसम्म धेरै सहभागिता गराउनुहोला।’ कांग्रेस बाग्मती प्रदेशका प्रदेश सभापति इन्द्र बानियाँले संविधान र विधानले दिएको व्यवस्थाअनुसार समानुपातिक प्रतिनिधित्वमा ४० र महिला सहभागिता ३३ प्रतिशत व्यवस्था रहेको बताए। तर, यसका बाबजुत पनि निर्वाचन आइराख्दा अहिले पनि धेरै महिला दिदिबहिनीको समानुपातिका थन्किन खोजेको उनको भनाइ छ। ‘बाग्मतीको हकमा समानुपातिका बस्न खोज्ने जो महिला प्रत्यक्षबाट पनि निर्वाचन लड्न सक्नुहुन्छ। उहाँहरूलाई हामीले सर्पोट गर्ने छौं’, बानियाँले भने।