थारु बस्तीमा धार्मिक हस्तक्षेप गरेको विषयमा अनुसन्धान गर्न निर्देशन
रासंसा/काठमाण्डौ, श्रावण १५,
मुलुकमा प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले थारु बस्तीमा गलत नियतले धार्मिक हस्तक्षेप गरेको भन्ने जनगुनासो आएको भन्दै यस विषयमा अनुसन्धान गर्न थारु आयोगलाई निर्देशन दिएको छ। बैठकले थारु समूदायको संरक्षण, सम्वर्द्धन, उत्थानका लागि एकीकृत र रणनीतिक कार्ययोजना बनाई कार्यसम्पादन गर्न पनि आयोगलाई निर्देशन दिएको छ। बैठकले प्रदेश तहमा राना थारुलाई थारु आयोगको कार्यक्षेत्रबाहिर पर्ने गरि सूचीकृत गरिएको भन्ने विषयमा लिखित रूपमा स्पष्ट जानकारी गराउन मन्त्रीपरिषद्को कार्यालय र थारु आयोगलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन्। सिंहदरबारमा आइतबार बसेको समिति बैठकले थारु समूदायको धर्म परिवर्तन गर्ने उदेश्यले धर्मको प्रचार गरेको, धार्मिक रूपमा समूहकृत गर्ने गरेको र थारु भाषा लिपि संहिताकृत गर्ने नाममा थारु बस्तीमा गलत नियमले धार्मिक हस्तक्षेप गरेको भन्ने जनगुनासो आएको भन्दै यस विषयमा संवेदनशील भई कार्य सम्पादन गर्न र तत्काल अनुसन्धान सुरु गर्न आयोगलाई निर्देशन दिएको हो। बैठकले बहुसंख्यक थारु जनसंख्या भएको स्थानमा नै थारु आयोगको कार्यालय स्थापना नगर्नु, सिकलसेल एनिमिया तथा थालासेमियाजस्ता रोग राष्ट्रिय रूपमा नै उन्मुलन गर्ने गरि कार्ययोजना बन्न नसक्नुको कारणहरु १५ दिन भित्र समितिमा उपलब्ध गराउन थारु आयोगलाई निर्देशन दिएको छ।