चीनको आंकलन कोरोना कारण आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने
एजेन्सी,
विश्वमा कोरोना महामारीका कारण विश्व अर्थतन्त्र प्रभावित भएकाले विश्वको दोस्रो ठूलो देश चीनले आफ्नो वार्षिक आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने संकेत गरेको छ । प्रमुख शहरहरूलाई पूर्ण वा आंशिक लकडाउनको अवस्थामा रहेको जनाइएको छ । शीर्ष नेतृत्वको बैठकपछि जारी विज्ञप्तिमा आगामी वर्षको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न प्रयास गर्ने भनिएको बीबीसीले जनाएको छ । विश्लेषकहरूले भने चीनले यसअघि घोषणा गरेको ५ दशमलव ५ प्रतिशतको लक्ष्य पूरा गर्न कठिन हुने बताइसकेका छन् । सत्तारूढ कम्युनिष्ट पार्टीको शीर्ष नीति निर्माता निकायले आगामी वर्षको आर्थिक वृद्धिदरको लक्ष्यलाई उचित दायरामा राखेको जनाएको छ । सोही निकायले यसअघि तय गरेको ५ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य भने उल्लेख गरेको छैन् । चीनले शून्य कोभिड नीतिलाई निरन्तरता दिइरहेको छ । कोरोना महामारी सुरू भएपछि चीनले सन् २०२० मा पनि आफ्नो आर्थिक वृद्धिदरको लक्ष्य पूरा गर्न सकेको थिएन । चीनका ठूला शहरमा घोषणा गरिएको लकडाउनका कारण आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने चिनियाँ अर्थशास्त्रीहरूको भनाइ छ। यो महिनाको सुरूमा पनि चीनले आफ्नो अर्थतन्त्र यस वर्षको दोस्रो त्रैमासिकमा तीव्र रूपमा संकुचित भएको बताएको थियो । यस अवधिमा ठूला चिनियाँ शहर, प्रमुख वित्तीय र उत्पादन केन्द्र साङघाइसहितका क्षेत्रमा पूर्ण र आंशिक रूपमा तालाबन्दी गरिएको थियो ।
