अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

यस्तो छ वामदेवको वाम एकता प्रस्ताव

Share to:

रासंसा/काठमाण्डौ, आषाढ १२,

मुलुकका पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतम नेतृत्वको ‘राष्ट्रिय एकता अभियान’ले नेपालका कम्युनिस्ट पार्टीबीच एकताका लागि संवाद गर्ने निष्कर्ष निकालेको छ । ललितपुरमा शनिबार भएको अभियानको राष्ट्रिय भेलामा प्रतिवेदन पेस गर्दै गौतमले कम्युनिस्ट पार्टीबीच संवाद गर्ने जनाए । एमालेका पूर्वउपाध्यक्ष समेत रहेका गौतमले कम्युनिस्ट पार्टीबीच एकताका लागि दबाबमूलक अभियान सुरु गर्ने निष्कर्ष निकालेका हुन् । अभियानको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायतका कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहसँग पनि पार्टी एकता वा कार्यगत एकताका निम्ति वार्ता गर्ने उल्लेख गरेका छन् । गौतमले पार्टी एकताका लागि वार्ता कमिटी बनाउने प्रस्ताव गरेका छन् । गौतमले नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका निम्ति छलफल एवं वार्ता गर्ने जनाएका छन् । गौतमले प्रतिनिधि सभा विघटनअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन प्रचण्डसमक्ष प्रस्ताव राखेको खुलासासमेत गरेका छन् । तत्कालीन नेकपाको पुनः एकीकरणका लागि गौतमले एमाले र माओवादीबीच २ जेठ २०७५ मा भएका सहमति र समझदारी नै संशोधनसहित अघि सारेका छन् । गौतमका अनुसार ओलीले प्रचण्डसमक्ष ‘म पार्टी एकताका निम्ति त्याग गर्न र पार्टी एकता जोगाऔं भन्न आएको हुँ’ भनेका थिए । तर, त्यसका लागि ओलीले केही सर्त राखेका थिए । ओलीलाई उद्धृत गर्दै गौतमले भने, ‘तपाईंहरूले मविरुद्ध पार्टीभित्र जे जस्तो विचार राख्नुभएको छ, त्यसमा केपी ओलीले दुईटा पदमध्ये एउटा पद छोड्नुपर्छ भन्नुभएको हो । म एउटा पद छोड्न तयार भएर आएको छु । तर, मैले भनेको व्यक्तिलाई तपाईंहरूले प्रधानमन्त्री बनाउनुपर्छ ।’ ४ पुस २०७७ मा तत्कालीन नेकपाका दुई अध्यक्षबीच प्रचण्ड निवास खुमलटारमा भएको संवादको स्मरण गर्दै उनले यस्तो बताए । ५ पुसमा प्रतिनिधि सभा विघटन गर्नुअघि ओली प्रचण्ड निवास पुगेका थिए । प्रचण्डको निम्तोमा गौतम पनि त्यहीँ पुगेका थिए । ओलीले आफूलाई लगाइएको आरोपपत्र फिर्ता लिन पनि भनेका थिए । त्यतिबेला प्रचण्डको नाममा ओलीप्रति असन्तुष्ट पक्षले १९ पृष्ठको प्रस्ताव सचिवालयमा पेस गरेका थिए । जसलाई ओलीले आरोपपत्र भन्दै आएका छन् । तर, सो प्रस्ताव फिर्ता लिन आफूले पनि गरेको आग्रह प्रचण्डले नमानेको गौतमको भनाइ छ । ‘अहिले भर्खरै जाऔं, सचिवालयको बैठक बसौं । भोलि बिहान स्थायी कमिटी बैठक बसौं । र पत्रकार सम्मेलन गरेर हामीले गरेको निर्णय घोषणा गरौं,’ ओलीको भनाइ उद्धृत गर्दै गौतमले भने । ‘आरोपपत्र फिर्ता लिन सक्दिनँ भनेर प्रचण्डले भन्नुभयो । यदि त्यसबेला फिर्ता लिएँ भनेको भए सायद पार्टी फुट्नबाट जोगिन्थ्यो कि भन्ने मलाई अहिले पनि लाग्छ,’ गौतमले भने ।

Like