कारागार चलान वडाध्यक्ष
रासंसा/रोल्पा, ज्येष्ठ २६,
मुलुकमा महिलाको हत्या आरोपमा पक्राउ परेका पूर्वीरुकुम पुथा उत्तरगंगा गाउँपालिका ११ का वडाध्यक्ष कुमार सिंह पुर्पक्षका लागि कारागार चलान भएका छन्। प्रहरीले पक्राउ गरी २९ दिनसम्म हिरासतमा राखेर अनुसन्धानपछि अदालतले तीनै जनालाई पुर्पक्षका लागि कारागार पठाएको हो। झडपमा संलग्न भएको, प्रहरीको प्रारम्भिक अनुसन्धान र पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो। पटकपटकको म्याद थप र कानुनी प्रकृयापछि शुक्रबार अदालतले अध्यक्ष बुढालाई पुर्पक्षका लागि कारागार पठाएको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीका अनुसार अदालतले उनलाई २३ गते कारागार पठाउने निर्णय गरेको हो। गत वैशाख १९ गते पुथा उत्तरगंगा गाउँपालिका ११ मा निर्वाचन प्रचारप्रसारका क्रममा भएको झडपपछि हराईरहेकी स्थानीय ३९ वर्षीया दुथि भनिने जुनमाया बुढाको हत्या आरोपमा पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर–११ का निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, वडाध्यक्ष कुमार सिंह बुढा र अर्जुन बुढालाई प्रहरीले पक्राउ गरेको थियो। वडाध्यक्ष कुमार सिंह वैशाख २६ गते पक्राउ परे पनि ३० गतेको निर्वाचमा उनले जित हासिल गरेका छन्। उनले एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार लक्ष्मण बुढालाई ५८ मतले पराजित गरेका थिए। बुढाको ४ सय ६१ र प्रतिद्वन्द्वीको ४ सय ५८ मत आएको छ। जयकुमार २०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुन्। वडाध्यक्ष कारागार गएपछि उक्त वडामा लैन बुढालाई कार्यबाहक दिइएको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताए। ‘काम सम्पादन गर्न असहज हुनु स्वभाविक हो। हाल एक सदस्यलाई काबा दिइएको छ,’ घर्ती भन्छन्, ‘उहाँहरुले सफाई पाउनु हुन्छ भन्ने लागेको छ। त्यो घटना नै सुनियोजित छ। उहाँहरुले मारेको कुनै प्रमाण छैन। जेलबाटै चुनाव जित्नु भो। पक्राउ परेका ३ जना र फरार तीन जना सबै हाम्रो पार्टीका नेता कार्यकर्ता हुन्।’