धरानको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित सुनिश्चित
रासंसा/सुनसरी, ज्येष्ठ ८,
मुलुकमा धरान उपमहागनरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) को जित सुनिश्चित भएको छ। दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार साम्पाङले १९ हजार ५९७ मत प्राप्त गरेका छन्। गठबन्धनका उम्मेदवार किशोर राईको मत १५ हजार ३१६ रहेको छ। एमालेबाट उम्मेदवार रहेकी मञ्जु भण्डारीको मत १२ हजार ३४८ छ। कुल खसेको मतमध्ये ३ हजार २८४ मतगणना गर्न बाँकी रहँदा साम्पाङले गठबन्धनका उम्मेदवार किशोर राईसँग ४ हजार २८१ मतको अग्रता लिएका छन्। अब गणना गर्न बाँकी रहेको मत गठबन्धन उम्मेदवारलाई मात्र आउँदा पनि साम्पाङको नै जित हुनेछ। यसैगरि, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता छ। उनले १९ हजार २८३ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार पदम इस्वोले १६ हजार ९१६ मत प्राप्त गरेका छन्। इस्वोभन्दा बेघा २३६७ मतले अगाडि छन्। हाल धरानको वडा न. १७ को मात्र मतगणना भइरहेको छ।