कम्प्युटरका हार्डडिक्स समय पालनामा घडीको सुई जत्तिकै विश्वासिला शताब्दी पुरुष सत्यमोहन जोशी
रासंसा/ललितपुर, बैशाख ३०,
मुलुकमा नेवार जातिलाई पहिला ‘नेवाल’ भनिन्थ्यो । क्रमशः ‘ल’ हटेर यो जाति नेवाः या नेवार हुन थाल्यो । यो जातिले नेपाली माटोमा प्राचीनकालदेखि नै जरा गाडेको हो । नेवार काठमाडौँ उपत्यकाका आदिवासी हुन् । शताब्दी पुरुष सत्यमोहन जोशी आफूलाई परम्परावादी नेवार मान्छन् । उनी जनै लगाउँछन् र गायत्री मन्त्र जप नगरी अन्न खाँदैनन् । उनका बाजे नरसिंहराज जोशी काठमाडौंका आदिवासी थिए । उनी पनि धर्म संस्कृतिका कट्टर थिए । नेपालको प्रथम राजवंश गोपालवंश हो र गोपालवंश पहिलो नेवार जातिको समुदाय हो । यस वंशले करिव ५ सय वर्ष राज्य चलायो । नेवार समुदायको पुर्खाचाहिँ ज्यापू हुन् । मल्ल कालदेखि नै नेवारी भाषालाई ‘नेपाल भाषा’ भन्न थालियो । नेवारी लिपि चाहिं ईश्वी संवत दसौँ शताब्दीबाट देखा परेको हो । सत्यमोहन जोशीका बुबा पनि धर्म, संस्कृति र जातीयताका पक्षपाती थिए । उनी राणाका घरेलु कामदार थिए । उनी लेखनदासको पनि काम गर्थे । एउटा मुद्धामा परेर उनको सर्वनास भयो । तर अनेक सङ्घर्ष खेपेर धेरैपछि उनले एउटा थोत्रो घर किने । अनि त्यसै वर्ष प्रथम सन्तानका रूपमा सत्यमोहन जोशी जन्मे ।
सत्यमोहन जोशीको जन्म १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको थियो । आज उनले १०३ वर्ष टेकेका छन् । सानामा यी अति चकचके थिए । अति गरेपछि यिनलाई घरमा नै बाँधेर राखिन्थ्यो । त्यसो नगरे यिनी इनारमा पनि फाल हान्न सक्थे र घरको धुरीबाट पनि हाम फाल्न सक्थे । तर त्यतिखेर यी लाटा थिए । यिनका कुरा बुबा आमाले ईशारामा बुझ्नु पर्थ्यो । ५ वर्षसम्म पनि बोली नफुटेकोले यिनलाई भक्तपुरको सूर्यविनायको जङ्गलमा छाडिएको थियो । त्यसबेला जङ्गलमा एक्लो भएको अनुभूति भएपछि जोशी ‘माँ, ए माँ’ भनेर चिच्याएका थिए । जोशीले सात वर्षको उमेरमा नेवारी भाषाको प्रथम अक्षर लेखे । १० वर्ष पुगेपछि यिनले नेपाली भाषा बोल्न थाले । तर उनी त्यो भाषा बोल्न राम्ररी जान्दैन थिए । त्यसैले उनी नेवारीमा मात्र बोल्थे ।