स्थानीय तह निर्वाचनमा मतदाता उत्साह छैनन

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १५,

मुलुकमा आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा मतदातामा उत्साह देखिएको छैन। विगतको चुनाव जस्तो मतदातामा चुनावको रौनक नदेखिएपछि गाउँहरु सुनसान बनेका हुन्। केही उम्मेदवारको घर र आफन्तहरुमा मात्र भिड र चुनावी रणनितिमा बनाउन एकाध नेता र कार्यकर्ताहरु जम्मा हुने बाहेक खासै उत्साह छैन। अग्रपंक्तिमा खटिने युवाहरु पनि कम मात्रामा देखिन थालेका छन्। अघिल्लो निर्वाचनमा जनप्रतिनिधिहरुले गरेको अधिकांश बाचा पूरा नगरेका कारण पनि मतदातामा उत्साह नदेखिएको हो। पार्टीका केही नेता र कार्यकर्ताहरु चुनावी माहोलसहित नगर गाउँमा देखिएपछि आम मतदाताहरुमा भने उत्साह देखिएको छैन। नगर र गाउँमा पार्टीका नेता/कार्यकर्ताहरु चुनावी प्रचारमा होमीनुपर्नेमा यति खेर शान्त रहेको छ। गाउँहरु सुनसान छन्। जसका कारण जनप्रतिनिधिले बनाएको आफ्नो विकास एजेण्डा (घोषणा पत्र) जनताले विस्वास नै गर्न छाडेका छन्। विगतमा निर्वाचित प्राय जनप्रतिनिधिहरुले आफन्त र आसेपासेहरु मोटाउने खालको कामहरु गरेका जनताहरु निराश छन्। विगतमा आफ्ना उम्मेदवार जिताउन लाग्ने कार्यकर्ताहरु समेत यसपालि खासै जाँगर चलाएका छैन। निर्वाचित जनप्रतिनिधिहरुले विकासको सपना बाँडेर कामै नगरेकाले यसपाली चुनावमा लाग्नै मन छाडेको नारायण नगरपालिकाका स्थानीय देवेन्द्र बस्नेतले बताए। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा देखिएको उत्साह भने यसपालि देखिएको छैन। आफूहरुमाथि मतदाताले विश्वास गरे विगतको भन्दा नयाँपन, नयाँ तरिकाबाट विकासको मोडल ल्याउने नारायण नगरपालिका –९ का वडाध्यक्ष युवा उम्मेदवार महेन्द्रविक्रम खड्काले बताए। गठबन्धनबाट बागी उम्मेदवार बढी भएकाले पनि मतदाताहरुमा उत्साह नभएको हुनसक्ने बताइन्छ। वडासदस्य, अध्यक्ष हुँदै पालिका प्रमुखसम्म युवा उम्मेदवार बढी देखिएका छन्। त्यसमा पनि नयाँ अनुहार बढी छन्। तर, मतदातामा राजनिति सरगर्मी बढेको छैन। युवा उम्मेदवारहरुले आफूहरुलाई जिताएर देखाए विगतको जस्तो दुःख जनताले झेल्न नपर्ने गरी काम गर्ने उद्घोष गरेका छन्। १६ गतेसम्म बागी उम्मेदवारी फिर्ता दिन गठबन्धनले उम्मेदवारलाई भनेको छ। चुनावमा सधै पुराना अनुहार दोहोरिने क्रम नरोकिएकाले पनि मतदातामा उर्जा आएको नागरिक समाजका अगुवा अभिषेक अनुरागले बताए।

Like