स्टेरिङ ‘फेल’ हुँदा भवितव्य, बूढानीलकण्ठ दुर्घटनाको फैसला, चालकले मदिरा सेवन नगरेको दाबी ! यात्रुको ज्यान गयो, चालकलाई ६ महिना जेल

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २६,

मुलुकमा दुई वर्षअघि बूढानीलकण्ठमा बाटो हिँडिरहेकी महिलाको ज्यान जाने गरी भएको कार दुर्घटनासम्बन्धी मुद्दाको फैसला गत चैत ७ गते भयो । सो फैसलाको पूर्णपाठ बिहीबार मात्र सार्वजनिक भयो । मुद्दाको फैसलामा दुर्घटनालाई ‘भवितव्य’ भन्दै ‘मेकानिकल इरर’ का कारण दुर्घटना भएको उल्लेख गरिएको छ । सोही फैसलामा कैफियत देखिएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायाधीश सूर्यप्रसाद अधिकारीलाई सर्वोच्च अदालतमा काजमा तानेका छन् । काठमाडौँ जिल्ला अदालतले गरेको यो फैसलाको विषयमा हाल अनुसन्धान भइरहेको सर्वोच्च स्रोतले रातोपाटीलाई बतायो । फैसला सुनाएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारीले सो दुर्घटनालाई भवितव्य बताउँदै कार चालकलाई ६ महिनाको सजाय तोकेका छन् । फैसलामा चालकले मदिरा सेवन नगरेको, कारको स्टार्ट बन्द भएर स्टेरिङ समेत जाम भई दुर्घटना भएको प्रतिवादीको बयानलाई अदालतले स्वीकार गरेको छ । काठमाडौँको बूढानीलकण्ठस्थित सडकमा ०७६ मंसिर २८ गते बिहान साढे १० बजे स्कुल नजिकैको सडक छेउमा हिँडिरहेकी ४० वर्षकी लीला देवकोटालाई कारले ठक्कर दिएको थियो । घाइते देवकोटाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । हाई प्रोफाइल परिवारको व्यक्ति संलग्न रहेको सवारी ज्यान मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अधिकारीले सवारी दुर्घटना लापरबाहीपूर्वक नभएर भवितव्य भएको, यान्त्रिक गडबडीका कारण दुर्घटना भएको र मदिरा सेवन गरेको पुष्टिसमेत नभएको भन्दै न्यूनतम मात्रै सजाय गरी प्रतिवादीलाई चोख्याएको आरोप लागेपछि न्यायाधीश अधिकारी सर्वोच्चमा काजमा तानिएका हुन् । सोही मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसलामा न्यायाधीश अधिकारीले प्रतिवादीद्वारा मदिरा सेवन गरिएको कुरालाई अस्वीकार गरेका छन् । मौकाको बयानमा प्रतिवादी र प्रतिवादीका साक्षीले आफूहरूले अघिल्लो दिनदेखि नै मदिरा सेवन गरेको बताएका थिए । तर, अदालतमा बयान गर्ने क्रममा भने दुवैले आफूहरूले मदिरा सेवन नगरेको बताएका थिए । कार चालक पृथ्वी मल्लले मदिरा सेवन गरेर घटना गराएको भन्दै मृतकका पति रामकुमार देवकोटाले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले चालकद्वारा मदिरा सेवन गरेको तथ्यसहित अदालतमा अभियोजन दर्ता गराएको थियो । प्रतिवादी पृथ्वी मल्ल र प्रतिवादीका साक्षी करिश मास्केले दिएको बयानमा मेकानिकल फेल अर्थात् यान्त्रिक गडबडीका कारण स्टार्ट बन्द भएको र ब्रेक जाम भएका कारण दुर्घटना भएको बताएका थिए । तर, मेकानिक जाँच प्रतिवेदनमा भने सवारी साधनको सबै अवस्था ठीकठाक रहेको लेखिएको थियो । फैसलाले भने प्रतिवादीको बयानलाई स्वीकार गरेको देखिन्छ । तर, न्यायाधीश अधिकारीको इजलासले कसैले कुनै सवारी चलाउँदा दुर्घटना हुन गएको तथ्यलाई स्वीकार गर्दै ६ महिना कैद र एक हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । वादी नेपाल सरकारले लिएको जिकिरमा प्रतिवादीले मदिरा सेवन गरी कसैको ज्यान जान सक्छ भन्ने जान्दाजान्दै पनि लापरबाहीपूर्वक सवारीसाधन चलाएका कारण दुर्घटना भई मृत्यु समेत भएकाले ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको दाबी लिएको थियो । न्यायाधीश अधिकारीले प्रतिवादीबाट सोही ऐनको दफा १६१ को उपदफा ३ को कसुर भएको ठहर गर्दै ६ महिना कैद र एक हजार रुपैयाँ जरिवाना गरेका हुन् । चैत ६ गते पेसीमा चढेको उक्त मुद्दालाई न्यायाधीश अधिकारीले हेर्दाहेर्दैमा राखेर चैत ७ गते आफैले सुनुवाइ गरी फैसला सुनाएका थिए । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ मा यस्तो सवारी साधनको ठक्करबाट कुनै मानिसको मृत्यु भएमा हुने सजायबारे उल्लेख गरिएको छ । सोही अनुसार फैसलामा सवारी तथा यातायात ऐन, २०४९ को दफा १६१ (२) बमोजिमको कसूर अर्थात् लापरबाहीपूर्वक सवारी चलाई ज्यान नलिएको भन्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (३) बमोजिम अर्थात् भवितव्यका कारण दुर्घटना र मृत्यु भएकाले ६ महिना मात्रै कैद सजाय हुने उल्लेख छ ।
‘‘… यी प्रतिवादीले रक्सी मादक पदार्थ सेवन गरेको हो, होइन भन्नेतर्फ विचार गर्दा यी प्रतिवादीलाई स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्र हेर्दा यी प्रतिवादीको रगत परीक्षण नगरेको बाहिर हेर्दा रक्सी खाएजस्तो देखिएको भनी बकपत्र गरेको देखिन्छ । यी प्रतिवादीले उक्त दुर्घटना हुँदा आफ्नो गाडीको स्टेरिङ लक भएको र ब्रेक जाम भएको, सोही कारणबाट गाडी अर्को लेनतर्फ गएको हो, गाडी दुर्घटना पश्चात् मात्र पुनः स्टेरिङ अन भई स्टार्टसमेत अन हुन गएको अवस्था भएकाले यान्त्रिक गडबडीका कारण प्रस्तुत दुर्घटना भएको भनी बयानमा खुलाएको देखिन्छ । यी प्रतिवादीले चलाएको गाडीको गतितर्फ विचार गर्दा अधिकारप्राप्त अधिकारीसमक्ष यी प्रतिवादीको बयानमा गाडीको गति २०/३० प्रतिघण्टाको गतिमा रहेको भनी बयान गरेको र अदालतमा बयान गर्दा आफूले चलाएको गाडी १५/२० को गतिमा रहेको भनी खुलाएको देखिन्छ । प्रतिवादीको गाडी चालक अनुमति पत्र हेर्दा अन्तर्राष्ट्रिय गाडी चालक अनुमति पत्र रहेको देखिँदा यी प्रतिवादीले गरेको कसूर सवारी तथा यातायात ऐन, २०४९ को दफा १६१ (२) बमोजिमको कसूर नै हो भनी भन्न सकिने मिसिल संलग्न कागजातबाट देखिन आएन । यी प्रतिवादीले गरेको उक्त कसूर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (३) बमोजिमको कसुर रहेको देखिन आएकाले निज प्रतिवादीलाई सोही ऐनको दफा १६१(३) बमोजिम ६ (छ) महिना कैद सजाय र १,०००।– (एक हजार रुपैयाँ) जरिवाना समेत हुने ठहर्छ ।’’ प्रस्तुत मुद्दामा दुर्घटना हुँदाका बखत सोही गाडीमा सवार रहेका करिश मास्केले गरेको बकपत्र हेर्दा गाडीको आवाज बदलिएको, गियर बदल्न खोज्दा अचानक आवाज आएको, स्टेरिङ लक भएको, स्टार्टसमेत बन्द भएको, गाडी रोक्न खोज्दा गाडी नरोकिएको, ब्रेक नलागेकाले सडक पेटीमा गाडी ठोकिन पुगेको हो । गाडी ठोकिएपछि पुनः स्टार्ट गर्दा गाडी स्टार्ट भएको हो । घाइतेलाई उपचारतर्फ हामीले लगेको हो । यी प्रतिवादीले जानी जानी लापरबाही गरी दुर्घटना गराएको होइन । प्रतिवादीले र मैले मादक पदार्थ सेवन गरेको होइन । स्टार्ट बन्द भई स्टेरिङ फेल भएको कारणले दुर्घटना भएको हो भन्ने समेतको ब्यहोराको यी प्रत्यक्षदर्शी रूपमा रहेका सो गाडीमा सवार रहेका करिश मास्केको बकपत्र रहेको ।

Like