प्रचण्ड र माधव नेपालरहित वाम एकताको पक्षमा रहेको महासचिव पोखरेलको भनाइ
रासंसा/दाङ, चैत्र २२,
मुलुकमा यतिखेर स्थानीय तहको निर्वाचनको गर्मि बढ्दै आएको छ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा पार्टी रहेको बताउनुभएको छ । ‘माओवादी र नेकपा एकीकृत समाजवादीसँग एमालेले चुनावी तालमेल गर्दैन, तर उनीहरूका कार्यकर्तालाई भने एमालेमा गोलबद्व गर्छौंं,’ उहाँले भन्नुभयो, ‘प्रचण्ड र माधवरहित वाम एकताको पक्षमा एमाले छ, कम्युनिष्टको सरकार ढालेर बुर्जुवाको सरकार निर्माण गर्नेहरू कम्युनिष्ट हुन सक्दैनन् ।’ प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीसँग चुनावी तालमेल नहुने भन्दै एमाले प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा रहेको बताउनुभयो । गठबन्धन सरकार उद्देश्यहीन र लक्ष्यहीन भएको भन्दै उहाँले अहिलेको चुनावमा जनताहरूले मन पराएका प्रतिनिधि चुन्ने अधिकार रोक्ने खालको अराजक गतिविधि भइरहेको आरोपसमेत लगाउनुभयो । महासचिव पोखरेलले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनताहरूको मन जोडेर अगाडि बढ्ने बताउनुभयो ।