भारतीय मुद्रा चलाउनुपर्ने बजेट छलफलमा माग
रासंसा/काठमाण्डौ, चैत्र १२,
मुलुकमा आगामी बजेटमा निर्यात प्रवद्र्धन र आयातलाई प्रतिस्थापन गर्नुपर्ने, विदेशी मुद्रा आर्जनको आधार तयार गर्न ऊर्जा, पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा उद्यमी व्यवसायीले जोड दिएका छन् । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सन्दीपकुमार अग्रवालले भारतीय रूपैयाँ ५ सय र २ हजारको नोट नेपालमा पनि चल्तीमा ल्याउनुपर्ने माग गरेका थिए । पुर्खाले वैध रूपले आर्जन गरेको सम्पत्ति पनि नेपालको पछिल्लो कानुनअनुसार अवैध बनाएको भन्दै उनले राज्यले वैध सम्पत्तिलाई एकपटक अभिलेखीकरण गर्न दिनुपर्ने बताए । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले शुक्रबार आयोजना गरेको बैठकमा उद्यमी व्यवसायीले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको विद्यमान समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले राष्ट्र बैंकको नीतिले निजी क्षेत्र हतोत्साही भएको बताउँदै निजी क्षेत्रलाई हतोत्साही बनाएर आर्थिक समृद्धिको कल्पना गर्न नसकिने जिकिर गरे । १० प्रतिशतमा रहेको सेवा कर खारेज गर्नुपर्ने सुझाव दिएका थिए । यस्तै हाल १३ प्रतिशतमा भ्याट १० प्रतिशतमा झार्नुपर्ने उनलेबताए । कृषिमा पूर्ण आयकर छुट दिनुपर्ने र शून्य दरमा सम्पत्ति अभिलेखीकरण गर्न पाउनुपर्ने उनको भनाइ थियो । ‘कृषिमा हाल ५० प्रतिशत आयकर छुटको व्यवस्था छ । यसलाई बढाएर शतप्रतिशत छुट दिनुपर्छ,’ उनले भने । उनले मदिरा र सुर्तीजन्य पदार्थमा मात्र अन्तःशुल्क लगाउन माग गरेका थिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेटलाई उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिँदै करको दायरा बढाउनुपर्ने र सामाजिक सुरक्षा भत्ता कोही व्यक्तिलाई पनि दोहोरो दिन नहुने धारणा राखे । सो अवसरमा सांसद मोती दुगडले देशमा आर्थिक संकट घोषणा गर्ने अवस्था आइसकेको बताए । पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र पाण्डेले भारतीय २ हजार र ५ सय दरका नोट नेपालमा प्रचलनमा ल्याउन नसकिने बताएका थिए । होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले होटललाई उत्पादनमूलक उद्योगसरहको सेवा, सुविधा प्रदान गर्न सरकारसँग माग गरिन् । होटलको लगानीको आकार हेरी पुर्नकर्जाको सीमा २० करोडबाट दायरा बढाउनुपर्ने उनले बताइन् । व्यवसायीलाई न्यून ब्याजदरको व्यवस्था हुनुपर्ने पनि राणाले बताइन् । छलफलका क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भारु ५ सय र २ हजारका नोट नेपालमा चल्न दिँदा मुलुकलाई नै फाइदा हुने उल्लेख गरे ।’