‘देशभर दुषित र न्यून गुणस्तरका खाद्य सामग्री बिक्री भरहेको विभागको भनाइ
रासंसा/काठमाण्डौ, फाल्गुन ७,
मुलुकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुषित खाद्य पदार्थ बिक्रि वितरण भइरहेको जनाएको छ । विभागले २ सय ८४ खाद्यको नमुना संकलन गर्दा २२ खाद्य पदार्थका नमुनाहरू स्वास्थ्य प्रतिकुल रहेको बताएको हो । विभागले चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै पुस मसान्तसम्ममा नमुना संकलन र परीक्षण गर्दा सबैभन्दा बढि प्रतिकुल खाद्य सामग्री भेटिएको जनाएको हो । विभागले पुस मसान्तसम्मा विभिन्न न्यून गुणस्तर र दुषित उत्पादन गर्ने विभिन्न ३८ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै १५ पानीको दुषित नमुना भेटिएको छ भने फल तथा सागपातको ११ र दुग्ध र दुधजन्य पदार्थको ५ नमुना खान अयोग्य रहेको जनाएको हो । यी मध्ये सबैभन्दा बढि १३ वटा दुध तथा दुग्धजन्य पदार्थसँग सम्बन्धित रहेको छ भने मसलाको ५, पिउने पानीसँग सम्बन्धित ५ र खाद्यान्न तथा दलहन वस्तु उत्पादन गर्ने विभिन्न ५ कम्पनीविरुद्ध मुद्धा दायर भएको हो । ३८ मध्ये १९ मुद्दा दुषित खाद्य पदार्थ सम्बन्धी, १० मुद्दा न्यून गुणस्तरको, ७ मुद्दा लेबल नलगाएको तथा विवरण नमिलेको र एउटा मुद्दा अनुज्ञापत्र नलिई कारोबार गरेको रहेको विभागले जनाएको छ । भारतबाट विषादी मिसिएको हरियो तरकारी भित्रँदा समेत विषादी परीक्षण नगरी आयात हुँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुगिरहेको छ । खाद्य प्रविधि तथा गुणस्तर कायम गर्न विभागले देशैभरी जिल्लास्तरीय रूपमा अनुगमन गर्दै आएको भए पनि प्रयोगशाला, प्रविधि विषादी परीक्षण कार्य अघि बढ्न नसक्दा उपभोक्ताले न्यून गुणस्तरका वस्तु प्रयोग गर्न बाध्य भएका छन् ।