देशनिर्माता कि एकताका प्रतीक पृथ्वीनारायण ? प्रश्न चिन्ह किन ?

Share to:

रासंसा/काठमाण्डौ, पौष २७,
गणतन्त्र घोषणा हुनु अघिसम्म पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिन्थ्यो । गणतन्त्र आएपछि भने उक्त बिदा काटियो । यसपालि संघीय सरकारले निर्णय नगरे पनि गोरखा, नुवाकोटको विदुर, स्याङ्जाको वालिङलगायत नगरपालिकाले भने पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
हरेक वर्ष पुस २७ ले एउटा गरमागरम बहस बोकेर आउँछ । पृथ्वी जयन्ती, एकता दिवस मनाउने, नमनाउने विषयमा व्यापक बहस हुन्छ । दिवस मनाउनेहरूले बिदाको माग गर्छन् । सरकार अटेरी भएर बस्छ । दिवस मनाउनु हुन्न भन्नेहरूले पृथ्वीनारायण शाहको खोइरो खन्छन् । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठक भन्छन्, “पृथ्वीनारायण शाहले वर्तमान नेपालको एकीकरण गरेर आज हामीलाई एउटा टेक्ने थलो दिनुभएको छ, नेपाली भएर गर्व गर्ने ठाउँ दिनुभएको छ । त्यसैले यस दिन राष्ट्रिय एकता दिवस मनाउनुपर्छ भन्ने हाम्रो पार्टीको विचार हो ।” राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठक भन्छन्, “पृथ्वीनारायण शाहले वर्तमान नेपालको एकीकरण गरेर आज हामीलाई एउटा टेक्ने थलो दिनुभएको छ, नेपाली भएर गर्व गर्ने ठाउँ दिनुभएको छ । त्यसैले यस दिन राष्ट्रिय एकता दिवस मनाउनुपर्छ भन्ने हाम्रो पार्टीको विचार हो ।” पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस मनाउनुपर्छ भनेर आवाज उठाउनेमध्ये एक हुन्, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन । उनले एकीकरण दिवस मनाउनुपर्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्रसमेत बुझाएका छन् । एक सार्वजनिक कार्यक्रममा उनले भने, “पृथ्वीनारायण शाह थिए । त्यसकारण नेपाल भन्ने देश छ । नेपाल भन्ने देश छ, त्यही भएर शेरबहादुर देउवा प्रधानमन्त्री, बिदादेवी भण्डारी राष्ट्रपति हुन पाउनु भएको छ ।” ती राष्ट्रनिर्माताको सम्मानस्वरूप राष्ट्रिय एकता दिवस मनाउन सरकारले गरेको कन्जुस्याइँको उनले निन्दासमेत गरेका छन् । विवेकशील साझाले राष्ट्रिय एकता दिवसलाई नेपाल दिवसका रूपमा मनाउन, सार्वजनिक बिदा दिन, नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग गरेको छ । हरेक सरकारी कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिर पनि राखिनुपर्ने पाठकको धारणा छ । “पृथ्वीनारायण शाहलाई राजा भनेर मात्र हेरिदिनु भएन । किनभने अहिलेको भूगोल त्यस्तो विशिष्ट परिस्थितिमा, इस्ट इन्डिया कम्पनीले निल्दै आएको परिस्थितिमा नेपालको एकीकरण गरे,” पाठक भन्छन् । भौगोलिक रूपमा चुनौतीविहीन राज्य राख्नु त्यतिखेरको समयमा ज्ञान, विवेकले सानो कुरा नभएको उनको भनाइ छ । पाठक अगाडि भन्छन्, “संसारमा जहाँसुकै पनि एकीकरण गर्दा बिनाकुनै क्षति एकीकरण सम्भव भएको छैन । केही न केही घटना र विवाद भएका छन् । तर बृहत् दृष्टिले त्यसलाई हेर्न सक्नुपर्छ ।” राष्ट्रिय एकता दिवसको बिदा कहिले विदा दिने, कहिले नदिने अवस्था छ, राष्ट्र निर्मातालाई त्यसरी विवादमा तान्न नहुने उनको जिकिर छ । उता इतिहासविद् प्राडा. रमेश ढुङ्गेल पनि पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका हुन्, त्यसकारण एकता दिवस मनाउनुपर्छ भन्छन् । “उहाँ त गोर्खाबाट आउनुभएको हो तर दिव्योपदेशको कुनै पनि ठाउँमा गोर्खा विस्तारको कुरा छैन, तसर्थ उहाँ विस्तारवादी होइन”, उनी भन्छन्, “बोल्नैपर्ने ठाउँमा पनि ‘यो राज्य भन्याको दुई ढुङ्गाको तरुल रहेछ’ भन्नुभएको छ, त्यहाँ गोर्खा भन्नुपर्ने हो तर त्यसमा उहाँ धेरै कूटनीतिक हुनुहुन्छ । यसैले उहाँको नेपालबारे एकदमै स्पष्ट दृष्टिकोण छ ।” पृथ्वीनारायण शाहले ‘मेरो जस्तै चेतना छ भने र यो राज्यबारे तिमीहरूले बुझ्यौ भने यो देश मेरा साना दुःखले आर्जेको होइन, चार जात छत्तीस वर्णको फूलबारी हो’ भनेका छन् । त्यसकारण उनी नेपाल एकीकरणकर्ता हुन्, उनको सम्मान हुनुपर्ने धारणा ढुङ्गेलको छ । अहिले जातीय, क्षेत्रीय, भौगोलिक रूपमा नेपालमा जुन खालको विचलन आएको छ त्यो सन्दर्भमा पृथ्वीनारायण शाहको दिव्योपदेश मार्गदर्शक ग्रन्थ हो भन्ने पाठकको धारणा छ । “विविधतामा एकता खोज्न सक्यौँ, समुदाय समुदाय, भूगोल भूगोलबीच आपसमा भ्रातृत्वपूर्ण सम्बन्ध भयो भने सम्पूर्ण देश नै शान्त र स्थिर हुन्छ,” उनी भन्छन्, “खासगरी भौगोलिक र राजनीतिक रूपमा संवेदनशील मुलुक शान्त रहन सकेन, सामाजिक सद्भाव रहेन भने यो मुलुकको अस्तित्व नै एक दिन सङ्कटमा पर्न सक्छ” । त्यसैले पनि पृथ्वीनारायण शाहको दिव्योपदेश महत्त्वपूर्ण दस्तावेज रहेको उनी बताउँछन् । हरेक सामन्तवादी राजालाई जस्तै धेरै भूभाग र जनतामाथि शासन गर्ने, आफूभन्दा विकसित राज्य पनि हात पार्ने सपना पृथ्वीनारायणमा भएको आहुति बताउँछन् । “आफ्नो नेतृत्वमा विजय हासिल गरिएको राज्यका प्रत्येक राजाले सामन्ती राष्ट्रवादलाई बढावा दिन्थे । उनको ‘दिव्य उपदेश’ भनी चर्चा गरिने गरिएका देशभक्तिका बखानहरू वास्तवमा सामन्तवादकालीन सामन्ती राष्ट्रवादभन्दा माथिल्लो स्तरका होइनन् ।” उनका विचारमा पृथ्वीनारायण शाह कुनै युद्धसरदार वा लुटाहा योद्धा नभई प्रस्ट रूपमा एक राजा हुन् । विश्लेषक आहुती भने पृथ्वीनारायणलाई देशनिर्माता मान्न सकिने तर राष्ट्रनिर्माता र एकताको प्रतीक मान्न नसकिने धारणा राख्छन् । “नेपालका फरक फरक राष्ट्रियतालाई दमन गरेर वास्तविक बहुराष्ट्रिय राज्य बन्नै सक्दैनथ्यो र बनेन । पृथ्वीनारायणले त झन् बहुराष्ट्रियतामाथि दमनको योजनाबद्ध अभियान सुरु गरे, जसका कारण नेपालको आन्तरिक राष्ट्रियताको मुद्दा दिन–प्रतिदिन कचल्टिन गयो र आजसम्म समाधान भएको छैन,” उनी भन्छन्, “नेपालमा देश र राष्ट्रको अन्तरलाई हेरिएन भने नेपाल एउटै सभ्यताको देशका रूपमा मात्रै बुझिन्छ, जुन कुरा सत्य होइन ।” यो भेगका मानिसहरूको दुःखप्रति चिन्तित भएर पृथ्वीनारायणले एकता गरेका हुन् कि गोर्खा राज्य विस्तार गरेका हुन् भन्ने ठूलो विवादको विषय रहेको खगेन्द्र सङ्ग्रौला बताउँछन् । त्यसैले नेपाली समाजमा रहेको विवादलाई चर्काउन र खण्डित भएको नेपाली समाजलाई अझ खण्डित गर्न यस्तो प्रकारको जन्मजयन्ती मनाउन नहुने उनको तर्क छ । लेखक खगेन्द्र सङ्ग्रौलाका विचारमा नेपाल अहिले एक जात, एक धर्मको प्रभुत्वबाट सङ्घीयतामा गइरहेको छ । यो बेलामा नेपालको सबैभन्दा ठूलो आवश्यकता भनेको नेपालका विभिन्न समुदायहरूबीचको एकता हो । पहाड र मधेसका बीचमा एकता, छूत र अछूतबीचको एकता हो । यदि यो कुरा सत्य हो भने पृथ्वीनाराण शाह वर्चस्वशाली सामन्त वर्गका प्रतिनिधि मानिन्छन् । उनले गोर्खा राज्यविस्तार गरेर काठमाडौं कब्जा गरेपछि असली हिन्दुस्ताना भन्ने एउटा सूत्र निर्माण गरे । उच्च जातीय हिन्दूहरूको एउटा व्यवस्थाको निर्माण गरे र समाजका धेरै व्यक्तिहरू त्यो वृत्तबाट पाखा परे । जनजाति समूह पाखा पर्‍यो । मधेसी समुदाय पाखा पर्‍यो, त्यहीँबाट यो जातिवादी खण्डित राष्ट्रवादको सिर्जना भयो । त्यस्तै राष्ट्रवादीहरूले पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउनुपर्छ भनिरहेका छन् । राजनीतिक, आर्थिक र कूटनीतिक हिसाबले दिव्योपदेश विवादास्पद रहेको सङ्ग्रौलाको भनाइ छ । “पृथ्वीनारायण शाह विवादास्पद भएपछि उनले गरेका हरेक कुरा विवादास्पद हुन्छन् तर दिव्योपदेशलाई पृथ्वीनारायणसँग जोडेपछि एकथरीले यसलाई भक्ति भजनका रूपमा गाउँछन्, अर्कोथरीले त्यसको विरोध गर्छन्,” उनी भन्छन्, “त्यसो भएपछि यसले समाजमा थप विभाजन र खण्डीकरण ल्याउँछ ।” त्यसैले यो अनुपयुक्त रहेको उनको भनाइ छ । “यो राजावादीहरूको राजनीति गर्नेहरूको कमाइ खाने भाँडो हो, हिन्दु राजावादीहरूबाहेक कसैलाई पनि पृथ्वीनारायणको जयन्तीप्रति कुनै चासो र चिन्ता छैन,” संग्रौला भन्छन् । पृथ्वीनारायण शाहको एकीकरणका क्रममा भोगेका अनुभवको सँगालो भनिएको दिव्योपदेशलाई कसरी लिनुहुन्छ भन्ने प्रश्नमा सङ्ग्रौला भन्छन्, “यो पुस्तक पृथ्वीनारायण शाहले कुनै हालतमा लेखेका होइनन्, उनका भक्तहरूले कुनै समयमा लेखिदिएको हो ।” तर दिव्योपदेशमा लेखिएका कुराहरू निरपेक्ष रूपमा, कृतिगत रूपमा हेर्दा कतिपय कुरा उपयुक्त रहेको उनको भनाइ छ । “नेपालजस्तो भूभागमा आफू जाई नलाग्ने, आइलाग्यो भने त्यसलाई जबाफ दिने जस्ता उपदेशलाई निरपेक्ष रूपमा हेर्दा त्यसलाई नकार्नु या त्याग्नै पर्ने देखिँदैन,” उनी भन्छन्, “तर यसको भाषा, शैली, प्रस्तुति र सन्दर्भलाई हेर्दा पृथ्वीनारायण स्वयंले लेखेका होइनन् । उनका अनुयायी र भक्तहरूले लेखेका हुन् ।” उनका समयमा जुन किसिमको भाषा प्रचलनमा थियो, जेजस्तो किसिमको चिन्तन धारा थियो, त्योसँग राजनीति र भाषाका दृष्टिले मेल नखाने उनको भनाइ छ ।

Like