सीमा र हवाइमार्ग बन्द गर्नुपर्ने अवस्था आउन सक्छ : गृहमन्त्री, बढ्यो ओमिक्रोन : के भन्छन् काठमाडौंका सिडियो र सीसीएमसीसी

Share to:

रासंसा/काठमाण्डौ, पौष २३,

मुलुकमा संक्रामक ओमिक्रोन भेरियन्ट धमाधम पुष्टि भइरहेको हुनाले संक्रमितको ग्राफ बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शुक्रबारको आँकडाअनुसार नेपालभर संक्रमितको संख्या ९६८ पुगेको छ । थप २४ जनामा ओमिक्रोन पुष्टि भएसँगै सरकारले अस्पतालहरुलाई तयारी अवस्था रहन निर्देशनसमेत दिइसकेको छ । केही दिनयता कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको ग्राफ उकालो लागेको छ । संक्रमणको जोखिम बढ्न थालेपछि व्यवसायी एवं आम मानिसले सोध्न थालेका छन्– अब के हुन्छ ? के अब फेरि लकडाउन हुन्छ ? काठमाडौंमा मात्र होइन, बाहिरी जिल्लामा पनि संक्रमणको जोखिम बढ्न थालेको छ । कोरोना संक्रमण बढ्न थालेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाभित्रका सबै विद्यालय ९ दिनका लागि बन्द भएका छन् । शुक्रबार सार्वजनिक अपिल जारी गर्दै माघ ३ गतेसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय तुलसीपुर उपमहानगरपालिकाले गरेको हो । त्यहाँ एन्टिजेन परीक्षण गर्दा बिहीबार ५३२ जनाको कोरोना परीक्षण गर्दा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले बताए । भारतमा पछिल्लो सात महिनापछि दैनिक संक्रमितको सङ्ख्या एक लाख पार भएको छ भने सिमा नाकाबाट आउनेमा धमाधम कोरोना संक्रमण भएको पाइएको छ । केही दिनयता शून्यमा झरेको संक्रमण पछिल्लो साता उक्लिन लागेको नेपाल भारत सीमा नाका बेलहियाले जनाएको छ । जनस्वास्थ्य विज्ञहरुले कोरोना महामारीको तेस्रो लहरको संकेत देखिइसकेको बताइरहेका छन् । स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भेरियन्टले गर्दा अत्यधिक बिरामीको चाप बढ्न सक्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन एक साताअघि नै निर्देशन दिइसकेको अवस्था छ ।

Like