चित्र र चित्रा – चेतनाको अद्भुत उज्यालो यात्रा

Share to:

रासंसा/तनहुँ, फाल्गुण ८,

अघोर स्मशानेश्वोर चण्डी बाबा

जीवन एउटा चित्र हो जसमा समयले रंग भर्दै जान्छ। हरेक अनुभूति यस चित्रका रेखाहरू हुन् जसले मन, बुद्धि, अहंकार र चित्तको संयोजनमार्फत जीवनको अस्तित्वलाई पूर्णता प्रदान गराउदछ। चेतनाको यही चित्रलाई जब अध्यात्मको आलोक वाट हेरिन्छ, तब यो केवल दृश्यमा मात्र सिमित रहँदैन, यो त अस्तित्वको गहिराइमा पुग्ने मार्ग बन्दछ।
चित्र भनेको दृश्य हो, बाहिरी जगतका अनेक रूप, अनुभूति र अवस्था जसले चेतनालाई विभिन्न दिशामा मोड्दछ। यो रंग, रूप र घटनाहरूको संयोजन हो जसले संसारलाई बोध गर्न मद्दत गर्दछ। तर, चित्रा भनेको चित्रको त्यो परिपक्व अवस्था हो जहाँ दृष्टिकोणनै बदलिन्छ। जब बाहिरी दृश्यहरू सीमित लाग्न थाल्छन्, जब भौतिकता भन्दा परको सत्य खोज्न मन लाग्छ, तब चित्रा चेतनाको रुपमा प्रकट हुन्छ।
चित्रा केवल नाम मात्र होइन, यो विलक्षणताको प्रतीक हो जसले चेतनालाई सीमितताबाट मुक्त गराउँदछ। जब बाहिरी संसारका तर्क, पूर्वाग्रह र मोह हट्दछन्, तब चित्रा स्वरूपमा रहेको प्रकाश प्रकट हुन्छ। यो प्रकाश कुनै परिभाषाभन्दा परको सत्य हो जसले आत्मबोध गराउँछ।
मनको यात्रा विभिन्न अवस्थाहरूबाट गुज्रन्छन्। कहिले यी मोहको बादलले ढाकिन्छन् , त कहिले सत्यको प्रकाशले उज्यालो बनिदिन्छन्। चेतनाको चित्रा जब स्वच्छ हुन्छ, तब त्यो सत्य, प्रेम र आनन्दको स्रोत बन्छ। साधना भनेको यही चित्रालाई निर्मल बनाउने प्रक्रिया हो। जब मनको छायाहरू हट्छन्, तब जीवनको आत्मस्वरूप प्रकट हुन्छ।
संसारको हरेक दृश्य क्षणिक छन्, तर आत्मचेतना शाश्वत छ। बाहिर हेर्दा जगतको रूप अनन्त लाग्छ, तर भित्र हेर्दा शुद्ध शून्यता मात्र भेटिन्छ। यही शून्यताभित्र सम्पूर्ण सृष्टिको रहस्य लुकेको छ। जसले यसलाई आत्मसात् गर्छ, उ ऊर्जास्वरूप बन्दछ।
यसर्थ, चित्रा कुनै बाहिरी शक्ति मात्र होइन, यो चेतनाभित्र लुकेको तेज शक्ति हो। जब व्यक्तिले यस तेजलाई अनुभूति गर्छ, तब मन मष्तिष्कमा रहेका सारा भेदभाव मेटिन्छन्। ज्ञान, प्रेम र करुणाको मूल प्रवाह नै यही चित्रामय चेतना हो। जीवनको यो चित्र पूर्ण बन्न सक्दानै जीवन सार्थक बन्दछ । बाहिरी दृश्यहरू क्षणिक छन्, तर आत्मचेतना शाश्वत छ। जब चेतनाको चित्रा निर्मल बन्छ, तब जीवन सत्य, प्रेम र आनन्दको स्रोत बन्दछ। यही आत्मबोध नै वास्तविक पूर्णता हो, जसले जीवनलाई सार्थक बनाउँदछ। जय अघोर ।

Like