बक्यौदा नतिरे १५ दिनपछि फेरि विद्युतको लाइन काट्ने सूचना, प्राधिकरणको सूचना जारि
रासंसा/काठमाण्डौ, कार्तिक २९,
मुलुकमा नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत आपूर्ति लिएका उपभोक्तालाई १५ दिनभित्र बक्यौता नतिरे लाइन काट्ने जानकारी गराएको छ। बिहीबार प्राधिकरणले एक सूचना जारी गर्दै डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत आपूर्ति लिएका उपभोक्तालाई १५ दिनभित्र बक्यौता तिर्न आउन आग्रह गरेको हो। टाइम अफ डे (टीओडी) मिटरको आधारमा डेडिकेटेड र ट्रंकलाइनको छुट बिलको १५ दिनभित्र बक्यौता उठाउन मन्त्रिपरिषद्ले निर्णय गरे पनि प्राधिकरणले भने पुरानै बिल सहि भएको दाबी गर्दै प्राधिकरणले पत्र पठाएको छ। कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले २४ घण्टामा काटिएको लाइन जोड्न, टीओडी मिटरको आधारमा १५ दिनमा बक्यौता उठाउने र लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। प्रचण्ड सरकारले गठन गरेको पूर्वन्यायाधीश गिरिशचन्द्र लाल आयोगको डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवाद समाधानसम्बन्धी प्रतिवेदनलाई लाल आयोग प्रतिवदेन भनिएको छ। सरकारको निर्णय कार्यान्वयन गर्दै प्राधिकरण सञ्चालक समितिले मंगलबार लाइन जोड्ने र १५ दिनमा बक्यौता उठाउने निर्णय गरेको थियो। टीओडी मिटरको आधारमा विद्युत महसुल उठाउने सरकारको निर्णयलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौती दिए थिए। घिसिङले बुधबार पत्रकार सम्मेलनमा १५ दिनभित्र डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता नतिर्ने उद्योगको लाइन पुनः काटिने बताएका थिए। मन्त्रिपरिषद्को निर्णयअनुसार काटिएका लाइन जोडिए पनि बक्यौता तिर्न १५ दिनको समय दिइएको घिसिङले बताएका थिए। यता उद्योगीहरुले टीओडी मिटरको डाटा र सोहि अनुसार बिल प्राप्त नभएको बताउँदै आएका छन्। तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइ जाने प्राधिकरणको चेतावनी छ। ‘नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत आपूर्ति लिएका उद्योगहरूको बक्यौता महसुल असुली सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०६१।०७।२५ को बैठक र नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मिति २०६१।०७।२७ को ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको छ।’ विद्युत प्राधिकरणको सूचनामा भनिएको छ, ‘सोही अनुरूप वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म TOD मिटरमा रेकर्ड भएको डिमान्ड तथा I, I, र T, Time Interval मा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला। अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन (अर्थात् २०६१ मङ्सिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ। तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने व्यहोरा समेत जानकारी गराइन्छ।’