जहिल्यै जहाज हुम्लीलाई टिकटमा सास्ती

Share to:

रासंसा/हुम्ला, आश्विन १९,

मुलुकमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नु परेको छ। निजी एयरलाइन्स र सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले १६ दिनसम्म धाउँदा पनि टिकट नपाएको उनले अन्नपूर्णसँग भने। जहाज धाउँदाधाउँदै होटेलमा १० देखि १५ हजार रुपैयाँ खर्च भइसकेको र जहाज भाडा सिमकोटको होटेलमै सकिएपछि आफू आक्रोश भएर सीता एयरलाइन्सको कार्यालयमा तालाबन्दी गरेको उनले बताए। जहाज टिकट नपाएपछि १७ दिनपछि पैदल हिँड्दै नेपालगन्जबाट सामान ल्याएर खापुनाथ पुगेको माहवाहक ट्रकबाट सुर्खेत हिँडेको उनको भनाइ छ। नेपालगन्ज, सुर्खेतबाट उडान गर्दै आएका निजी एयरलाइन्स समिट, तारा, सीता र सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगम उडान भरे पनि फ्लाइटको टिकट मनपरी वितरण गरेको यात्रुको गुनासो छ। सदरमुकाम सिमकोटदेखि नेपालगन्ज सुर्खेत झर्न दैनिक विमानस्थलमा पुगे पनि एयरलाइन्सका कर्मचारीहरूले फोन, फेसबुक म्यासेन्जरका आधारमा टिकट वितरण गरेको पीडित यात्रुहरूले सुनाउँछन्। ‘जहाज टिकट कतिबेला वितरण हुन्छ सर्वसाधारण नागरिकलाई थाहै हँुदैन’, सर्केगाड गाउँपालिका– ७ का रोडिकोटका ज्ञानसिंह विकले गुनासो गरे। सुर्खेत झर्न जहाज टिकटको लागि १६ दिनसम्म विमानस्थल धाउँदाधाउँदै पनि जहाजको टिकट नपाएको बिकले आक्रोश पोखे। ‘जहाज टिकट पहँुचवालाहरूले मात्रै पाउने हो। हामीजस्तो सोझासाझा नागरिकले कहाँ पाउँछांै’, शाहीले भने। टेलिफोन र फेसबुक म्यासेजका आधारमा टिकट वितरण हुने शाहीले दुःखेसो पोखे। ज्ञानसिंह विकले दसैंतिहार मनाउने जहाज टिकटको प्रतीक्षा गर्दागर्दै पाँच दिनसम्म कुरे पनि टिकट नपाएपछि दक्षिणी भेगको सर्केगाड हुँदै गाडीमा नेपालगञ्ज हिँडेको सामाजिक विकास कार्यालयका लेखा अधिकृत भक्तबहादुर शाहीले बताए। नेपालगन्ज, सुर्खेतदेखि दैनिक उडान हुँदा विमानस्थल भिडभाड हुने सिमकोट विमानस्थलमा पछिल्लो समय उडान घट्दै गएका छन्। निजी एयरलायन्स कम्पनीहरू पूर्वतिर केन्द्रित भएसँगै हुम्ला उडान पनि घट्दै गएका छन्। कोरोना महामारीभन्दा पहिला दैनिक एकदिनमा ६० देखि ७० उडान हुँदै आएको सिमकोट विमानस्थल पछिल्ला समय भारतीय तीर्थयात्रीहरूको संख्या घटेसँगै सिमकोट विमानस्थल सुनासानजस्तै देखिन्छ। काम विशेषले नेपालगन्ज, सुर्खेत र हुम्ला नेपालगन्ज आउजाउ गर्न हुम्ली नागरिकलाई जहिल्यै पनि सकस हुने गरेको छ। सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको जहाज फाटफुट आउने गरे पनि जहाजको उडान नबढाउँदा हुम्ली नागरिक सास्ती खेप्न बाध्य छन्। दसैंतिहारको समयमा सरोकारवाला निकायले ध्यान नदिँदा नेपालगन्जबाट हुम्ला आउने नागरिकहरू नेपालगन्ज र सुर्खेतमै अलपत्र परेका छन्। नेपालगन्ज, सुर्खेतबाट नियमित उडान नभएपछि हुम्ला आउने यात्रुहरूको जहाज भाडा नेपालगन्ज, सुर्खेतका होटेलमै सकिने गरेको छ। जहाजको प्रतीक्षा गर्दागर्दै जहाज भाडा होटेलको खर्च तिरेरै सकिएको चंखेली गाउँपालिका– ५ की बबिता तामाङले बताइन्। हुम्लाका लागि जहाज टिकट नपाउँदा बाजुराको टिकट कुर्दाकुर्दै होटेलेमै खर्च सकिएको उनको भनाइ छ। निजी एयरलान्स कम्पनी सीता, तारा, समिट एयरलान्सहरूले उडान नबढाउँदा हुम्ली नागरिक बर्सेनि सास्ती खेप्न बाध्य छन्। हुम्ला–सुर्खेतका लागि निजी एयरलाइन्स र नेपाल एयरलान्सहरू हुम्लादेखि सुर्खेतसम्मको ७ हजार रुपैयाँ भाडा लिने गरेका छन्। हुम्लाबाट नेपालगन्जका लागि ९ हजार रुपैयाँ तिरेर यात्रुहरू सहर झर्ने गरेका छन्। त्यसैगरी नेपालगन्जबाट हुम्ला आउने यात्रुहरूले ९ हजारदेखि १४ हजार रुपैयाँसम्म जहाज भाडा तिर्दै आएका छन्। महँगोे जहाज भाडा तिरे पनि नागरिकहरूले सहजै जहाज टिकट भने पाउन मुस्किल भएको छ। नेपालगन्ज सुर्खेतदेखि हुम्ला आउने गाडीमा पनि हुम्ली नागरिकमाथि सिन्डिकेट लगाउने गरिएको छ। सुर्खेतबाट छुटेको गाडीहरूलाई कालीकोटको जितेगडा र बाजुराको पिलुचौरमा यातायात व्यवसायीहरूले सिन्डिकेट लगाउँदा नागरिकको बिजोक हुने गरेको छ।

Like