एमालेबाट गण्डकीमा को-को मन्त्री बन्दैछन् ?
मिनबहादुर कुँवर/कास्की, भाद्र १७,
मुलुकमा गण्डकी प्रदेश सरकार विस्तारको तयारी गरिएको छ । आइतबार मन्त्रिपरिषद् बैठकबाट मन्त्रालयको संख्या फुटाएर ९ बनाइएको छ । अब गण्डकीमा एमालेबाट ४ जना मन्त्री थपिनेछन् । एमालेले मन्त्रीको नाम दिने वित्तिकै मन्त्रिपरिषद् विस्तार हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । एमाले मन्त्रीको नाम टुंग्याउने अन्तिम कसरतमा जुटेको छ । दलका नेता खगराज अधिकारी यसैका लागि शनिबार काठमाडौं गएका थिए । उनी पोखरा फर्किसकेका छन् । काँग्रेसबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, अर्थमन्त्री डा. टकराज गुरुङ, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापा छन् । पाण्डेलाई विश्वासको मत दिएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री र माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री छन् । एमाले सरकारमा सामेल हुने भएपछि भैरहेका मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर हुने सम्भावना छ । यसअघि मन्त्री बनेकाहरुलाई नदोहो¥याउने सार्वजनिक रुपमै अधिकारीले घोषणा गरिसकेका छन् । त्यसैले चारैजना मन्त्रीहरु नयाँ अनुहारका हुने पक्काजस्तै छ । एमालेले कसलाई मन्त्री बनाउँदैछ ? सर्वाधिक चासो यसैमा केन्द्रित भएको छ । मन्त्री छनोटको ट्वाक्कै मापदण्ड बनेको त छैन । तर गण्डकीमा मन्त्री छान्दा भुगोल, जातीय क्लष्टर र लैंगिक हिसावले सन्तुलन मिलाउनुपर्छ । काँग्रेस र एमालेबीच भएको सहमति अनुसार गण्डकीका ९ मन्त्रालयमध्ये मुख्यमन्त्री सहित काँग्रेस ५ र एमालेले ४ मन्त्रालय पाउनेछन् । तर कसलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन । स्रोतका अनुसार एमालेलाई भौतिक पूर्वाधार, कृषि तथा भूमि व्यवस्था, स्वास्थ्य र वन तथा वातावर मन्त्रालय दिने तयारी छ । भौतिक मन्त्री मनाङेलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । सामाजिक विकास तथा स्वास्थ्यमन्त्री थापा अब सामाजिक विकास मन्त्री मात्रै बन्नेछन् भने उर्जा मन्त्री देवकोटा र अर्थमन्त्री गुरुङलाई यथावत राख्ने बताइएको छ । एमालेले पद्या जिसी श्रेष्ठको नेतृत्वमा सरकारमा सामेल हुने तयारी गरेको बुझिएको छ ।
उनी मन्त्री बन्ने पक्का जस्तै छ । तर नेतृत्व कसले लिने भन्ने अझै निक्र्यौल भएको छैन । यस्तै, बागलुङका कृष्ण पाठक पनि मन्त्री बन्ने निश्चितजस्तै छ । कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल पनि मन्त्री बन्दैछन् । उनीहरुको जिम्मेवारी भने छलफलकै क्रममा रहेको बताइएको छ । यद्यपी स्याङजाका सुधीर पौडेल, कास्कीका भीम कार्की र तनहुँका श्यामराजा महतको नाम पनि चर्चामा थियो ।