परमानन्दमा भजन प्रतियोगिता सम्पन्न

Share to:

पुष्पराज खतिवडा/तनहुँ, भाद्र १०,

मुलुकमा परमानन्द संस्कृत गुरुकुल देवघाटधाममा आज भजन प्रतियोगिता सम्पन्न भएको छ । आजको कार्यक्रममा ६ कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थी सहभागी भएका थिए । यसमा १० ओटा समूह सहभागी भएको थियो । यस गुरुकुलले विद्यार्थीको सर्वाङ्गीण विकासका निम्ति पाक्षिक रूपमा यस्ता कार्यक्रम गर्ने गरेको कुरा यस विद्यालयका सहायक प्रधानाध्यापक कृष्णदेव पाण्डेयले बताए । जीवनमा भौतिक, शैक्षिक, सामाजिक जस्तै आध्यात्मिक चिन्तनको पनि छुट्टै र विशिष्ट महत्त्व रहने गर्दछ। वैदिक सनातन हिन्दू धर्मको महत्तालाई भजनले आफ्ना विषय बनाएका थिए। भगवानको चरित्र, कार्य र लीलालाई गुणानुवाद, भावनानुवाद गरिएका चुड्का भजनहरु प्रस्तुत गरिएका थिए । भजनको बीचबीचमा नृत्य गरेर विद्यार्थीहरूले मनोरञ्जनसमेत दिलाएका थिए ।

यस कार्यक्रममा निराजन ढकालको समूह, सुलभ घिमिरेको समूह, विष्णु काफ्लेको समूह, रन्जन बेलबासेको समूह र अन्वेस कण्डेलको समूह उत्कृष्ट घोषित भए । परमानन्द संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य स्वामी सच्चिदानन्द सरस्वतीजी महाराजको सभापतित्वमा कार्यक्रम भएको थियो । समापन मन्तव्य दिँदै महाराजले सुरदास र मीराको उदाहरण दिँदै भजन भावप्रधान हुनुपर्दछ, उत्तेजना पैदा गर्ने किसिमको भजन हुनुहुँदैन भनी बताए । यस कार्यक्रममा विपिन ढकालले सहजीकरण गरेका थिए भने हरि कँडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Like