माओवादीभित्र विशेष महाधिवेशनबारे दुईथरी मत
रासंसा/काठमाण्डौ, श्रावण २७,
मुलुकमा नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा नेताहरूले पार्टी नीति र नेतृत्वको विषयमा खुलेर बहस गरेका छन् । शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले खुलेर बहस गरेका हुन् । शनिबार बसेको बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रको समस्या, नेतृत्वको विकल्प र पार्टी निर्माणबारे लिखित प्रस्ताव नै पेस गरेका थिए । त्यस्तै, अर्का उपमहासचिव वर्षमान पुनले पनि नीति र नेतृत्व सम्बन्धमा खुलेर बहस गरेका थिए । उत्तराधिकारी तयार पार्ने कुरामा सिद्धान्त, विचार, विधिमा धेरै राम्रो तयारी गर्नुपर्ने भन्दै उनले सैद्धान्तिक बहस मात्र भएकाले यसबारे केन्द्रीय समिति बैठकले मात्र टुङ्ग्याउने बताए । यस्तै विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्नेमा छलफल भइरहेको सापकोटाले जानकारी दिए । उनका अनुसार केही सदस्यले नियमित महाधिवेशन मिति आउन लागेकाले विशेष महाधिवेशनको आवश्यकता नभएको विचार राखेका थिए । तर केहीले भने विशेष महाधिवेशन गरी सांगठनिक समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । यो विषय पनि अब केन्द्रीय समितिले नै टुङ्ग्याउने उनको भनाई थियो ।