सर्वोच्चलाई गुठी संस्थानले किन टेरेन ?
रासंसा/काठमाण्डौ, श्रावण ९,
मुलुकमा सर्वोच्च अदालतले काठमाडौं ठमेलस्थित कमलपोखरीको ऐतिहासिक जग्गा अतिक्रमणको विषयमा गुठी संस्थानलाई कागजपत्र पेस गर्न आदेश दिएको साढे तीन महिना बित्दा पनि बुझाउन सकेको छैन । गुठी संस्थाले यसअघि ऐतिहासिक कमलपोखरी सार्वजनिक गुठी संस्थानको भएको भनी जवाफ पठाए पनि सर्वोच्चले कागजपत्र पेस गर्न भनेको साढे तीन महिना बित्दा पनि यसपटक भने कागजपत्र पेस गर्न सकेको छैन । सर्वोच्चले सार्वजनिक कमलपोखरी क्षेत्रको जग्गा के–कसरी व्यक्तिको नाममा दर्ता भयो भनी कागजात पेस गर्न ३० चैत २०८० मा आदेश जारी गरेको थियो । सर्वोच्चले मागेको विवरण मालपोत कार्यालय र नापी विभागले पठाए पनि गुठी संस्थानले भने अझै बुझाउन सकेको छैन । सर्वोच्चले कागजपत्र मागेपछि यकिन विवरण भए समयमै पठाउनुपर्नेमा ढिलाइ गरेको भन्दै अभियन्ताहरूले आश्चर्य व्यक्त गरेका छन् । गुठी संस्थानले कागजपत्र भेट्न नसकिएकाले पठाउन नसकिएको जवाफ दिएको एक अभियन्ताले बताए । सो मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासले हाल छायादेवी कम्प्लेक्स बनेको साबिक कित्ता नं १६७ र १०४० का जग्गाहरू २३ मंसिर २०४४ मा नेपाल सरकारका नाममा दर्ता से्रस्ता कायम भएकामा सोही जग्गाबाट कित्ताकाट भई विभिन्न व्यक्तिका नाममा गएको देखिएकाले के कसरी व्यक्तिको नाममा कित्ताकाट हुन गएको हो ? सोको विवरण गुठी संस्थान केन्द्रीय कार्यालय र मालपोत कार्यालय काठमाडौंबाट झिकाउन आदेश दिएको थियो । बैंकर पृथ्वीबहादुर पाण्डेले ठमेल भगवानबहालअगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाण्डेको नाममा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै सो भत्काउनुपर्ने माग गर्दै २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरी श्रेष्ठलगायतका १५ थान मुद्दा सर्वोच्चमा परेको थियो । त्यस्तै, अदालतले साबिक पोता १८३ नं श्री सिंहसार्थ बाहु गरुड भगवान नाममा दर्ता भएको रोपनी २६ रोपनी ८ आना जग्गा सो १८३ नम्बर पोता भिडाइ जग्गा दर्ता भएको छ छैन ? सोको तथ्यगत व्यहोरासहित सो पोता भिडाइ कुनै जग्गा दर्ता भएको भए के कुन कित्ता दर्ता÷हाल साबिक भई कसको नाममा कायम रहेको छ ? सोको विवरण गुठी संस्थान कार्यालय वा मालपोत विभागबाट झिकाउन आदेश भएको थियो । थहवी विक्रमशील महाविहार राजगुठीको संरक्षणमा रहेको कमलपोखरी, डिल र चोकसमेत २६ रोपनी ८ आना क्षेत्रफलका नाइके हिरण्यश्वरमान प्रधानसमेतले २०३३ र २०६२ सालमा गुठी संस्थानको ऐनविपरीत मिलापत्र गरी व्यक्तिका नाममा दर्ता गर्न सहीछाप गरिदिएकाले हाल सो गुठीको कार्यसमितिका अध्यक्ष हिरण्यश्वरमानका छोरा सुरेन्द्रमान प्रधानसमेतले सार्वजनिक पोखरी र पोखरीको डिलसमेतलाई व्याक्तिका नाममा रहेको छाया कम्प्लेक्स प्रालि कम्पनीको नाममा हक हस्तान्तरण गर्न सहमतिपत्र दिएका हुँदा थुनामा राखी कारबाही गरी कि.नं साबिक १६७ को हाल कायम २४१२, २४१३, १६१७, २००१९, १०४० समेतका कित्ताहरू सार्वजनिक गरी सो जग्गामा बनाइएका संरचनाहरू भत्काउनुपर्ने मागसमेत स्थानीयले गरेका छन् । साथै, वादी पुष्पमान प्रधान र प्रतिवादी केयुर शमशेरसमेत भई चलेको खिचोला मेटाइपाऊँ भन्ने मुद्दामा उल्लेख भएको चार किल्लाभित्रको २६ रोपनी ८ आना जग्गा हाल के कति कसको नाममा दर्ता स्रेस्ता कायम रहेको छ ? र सो जग्गा दर्ता भएको भए जग्गाको साबिक स्रोत एवं से्रस्ता विवरण गुठी संस्थान केन्द्रीय कार्यालय र मालपोत कार्यालय काठमाडौंबाट एक महिनाभित्र झिकाउन आदेश जारी भएको थियो । तथ्य प्रमाणका आधारमा हेर्दा २०४४ सालमा ठमेल वडा नं. २९ को ५७.१४.३.२ रोपनी क्षेत्रफलमा फैलिएको सार्वजनिक जग्गा तत्कालीन श्री ५ को सरकारले आफ्नो नाममा दर्ता ग¥यो । त्यसरी दर्ता गरिएको कमलपोखरीको कित्ता नं १६७ को १२.१३.२.२ रोपनी जग्गाको विवरणमा आवादीमा पर्ती पोखरी र घरजग्गाको महलमा पोखरी कायम गरिएको छ भने जग्गाधनीको नाममा श्री ५ को सरकार लेखिएको छ । मोहीको महलमा पोखरी नै उल्लेख छ । २०३९ सालमै मोहीको महलमा छिरेका केयुरशमशेरको नाम सो समयमा कतै देखिँदैन । अम्बिका राणाले १८ माघ २०४७ मा कित्ता नं. १६७ को जग्गा आफू र आफ्ना दाइ शंकरप्रसाद शाहका नाममा गुठी रैतानी (व्यक्तिगत नाममा) दर्ता गरिन्, जसको विरोध भयो । गुठी संस्थानबाट भुलवश आफ्ना कर्मचारीका कारण सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता हुन गएको भन्दै दुई महिना नबित्दै (१५ चैत २०४७) मा त्यसरी दर्तामा संलग्न श्री सिंहसार्थ वाहु गरुड भगवान गुठीका गुठियार र सम्बन्धित कर्मचारीलाई विभागीय कारबाही गर्ने र जग्गा श्री सिंहसार्थ वाहु गरुड भगवान गुठीलाई नै फिर्ता गराउने निर्णय भएको थियो ।