एमाले अध्यक्ष ओलीको प्रधानमन्त्रीका लागि दाबी पेस

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २९,

मुलुकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै एमाले अध्यक्ष ओलीले राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका हुन् । संसद्का अन्य साना दल जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत कांग्रेस–एमाले गठबन्धन सरकारकै पक्षमा भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर एमाले अध्यक्ष ओली शुक्रबार अबेर राति राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए । ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १ सय ६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । राष्ट्रपतिको आह्वानबमोजिम प्रधानमन्त्रीमा दाबी पेस गर्न एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवालगायतका नेता शीतलनिवास गएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत गुमाएपछि नयाँ सरकारको ढोका खुलेको थियो । प्रचण्डले राखेको विश्वासको मतको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले प्रचण्डले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि शीतलनिवास पुगेका थिए । लगत्तै, राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानुनविद्हरूसँग छलफल गरेका थिए । संविधानको धारा ७६(२) वा (३)मध्ये कुन उपधाराबमोजिम नयाँ सरकार गठन हुने भन्ने विषयमा बहसका बीच राष्ट्रपति पौडेलले संविधानविद्हरूसमेतको परामर्शमा संविधानको धारा ७६(२) बमोजिमकै सरकार गठनका लागि आह्वान गरेका थिए । संविधानको धारा ७६(२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ । यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबार मात्रै हुने भएको छ । ओलीले १ सय ६५ सांसदको समर्थनसहित शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेस गरे पनि नियुक्ति भने आइतबार मात्रै हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दाबी पेस भएपछि अब नियुक्तिको विषय राष्ट्रपतिको भएको जनाए । कांग्रेस र एमालेका १ सय ६५ सांसदको समर्थन’ फाइल प्राप्त गरेसँगै राष्ट्रपतिले आवश्यक अध्ययन गरेर आइतबार मात्रै नियुक्ति गर्ने सचिवालयको भनाइ छ ।

Like