प्रदोष व्रत, अन्तर्राष्ट्रिय मानव अधिकार दिवस
रासंसा/काठमाण्डौ, मार्ग २४,
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस
प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाउने गरिएको हो । विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणा पत्र हो । पछिल्लो तथ्यांकअनुसार यो घोषणा पत्र ५ सयभन्दा बढी भाषामा अनुवादित भएको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र ७५ वर्ष पुग्यो १० डिसेम्बर २०२३ मा विश्वको सबैभन्दा महत्वपूर्ण बिश्वव्यापी घोषणहरु मध्ये एक मानिने मानव अधिकारको विश्वव्यापी घोषणा को ७५ औं वार्षिकोत्सव मनाइदैछ। यो ऐतिहासिक दस्तावेजले जाति, रंग, धर्म, लिङ्ग, भाषा, राजनीतिक वा अन्य विचार, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य हैसियतको परवाह नगरी सबैलाई मानवको रूपमा पाउने अपरिहार्य अधिकारहरू समावेश गर्दछ। प्रत्येक वर्ष विभिन्न मूल नाराका साथ मनाइने अन्तर्राष्ट्रिय मानव अधिकार दिवस यो वर्ष अर्थात् सन् २०२३ मा “Dignity, Freedom, and Justice for All” “सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय” भन्ने आशयको रहेको छ । मानव अधिकार खासमा एउटा मानिसको जन्म भए पछि उसले पाउनु पर्ने अधिकारहरु हुन् । सम्मानित जीवनका लागि एउटा मानिसका लागि चाहिने सबै आधारभूत आवश्यकताहरु मानव अधिकारभित्र पर्छन् ।
मानव अधिकार घोषणापत्रका आधारभूत विषयहरु के के हुन् त ?
यस मानव अधिकार घोषणापत्रले हामी सबैलाई सशक्तिकरण गर्दछ
मानव अधिकार हरेक मानवका लागि अपरिहार्य छ
हाम्रो साझा मानवता बिश्वबन्धुत्वको जरामा आसिन छ
समानता, न्याय र स्वतन्त्रताले मात्र द्वन्द्वलाई रोकेर शान्ति स्थापना गर्दछ
जहाँ जहिले मानवीय मूल्यमाथि आक्रमण हुन्छ, हामी सबै जोखिममा हुन्छौँ
आफ्नो र अरुको लागि आवाज उठाउने गरौँ
पछिल्ला वर्षमा पूरै संसारलाई हल्लाउने र त्रसित गर्ने मानव अधिकार उल्लंघनका समाचारहरु पनि आइरहेका छन् । हाम्रो समाजमा रुढीवादी परम्पराका कारण हुने महिलामाथिका हिंसा हुन् या सिरियाका बालबालिकामाथि भइरहेका हिंसा, वा अफगानिस्तानमा महिलामाथि भइरहेका हिंसाहरु किन नहुन्, सबै मानव अधिकारका उल्लंघनका घटना हुन् ।
पाकिस्तानमा ‘अनर किलिङ’का नाममा हुने घटना हुन् या म्यानमारबाट ज्यान जोगाउनैका लागि विदेशिनु परेका रोहिंग्याहरुको वेदना किन नहोस्, सबै आधारभूत मानव अधिकार हनन भएका निर्लज्ज घटना हुन् । कहिलेकाहीँ त यस्तो लाग्छ, विश्वभर भइरहेका विभिन्न यी घटनाहरु कुनै ढुंगाको मन भएका व्यक्तिहरुले गराइरहेका छन्, मानौं हाम्रो मानवता पूर्णरुपमा मरिसकेको छ ।
मानव अधिकारको पूर्ण सुनिश्चितता विकासको आधार हो, हाम्रो समाज समुन्नत हुने खुड्किलो हो । आजको दिन हामीले आफ्नो तर्फबाट पनि मानव अधिकार उल्लंघनका कदम नचाल्ने संकल्प लिऔँ ।