रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली रुस–युक्रेन द्वन्द्वमा घाइते
एजेन्सी,
मुलुकमा रुस–युक्रेनको सीमा क्षेत्रमा भएको भिडन्तमा परेर नौ जना नेपाली घाइते भएका छन् । एक वर्षभन्दा बढी समयदेखि दुई मुलुकबीच चलेको द्वन्द्वमा नेपालबाट गएकामध्ये नौ जना हाल घाइते भएर मस्कोमा उपचाररत छन् । उपचाररत सबैको अबस्था खतरामुक्त रहेको घाइतेमध्ये एक जनाले नाम सार्वजनिक नगर्ने सर्तमा बताए । गत १३ नोम्बेम्बरमा रुस र युक्रेनको सीमाक्षेत्रमा भिडन्त हुँदा नौ जना घाइते भएका हुन् । नेपालमा सेना समायोजनमा बहिर्गमनमा परेका झन्डै ५० पूर्वमाओवादी लडाकु रुस पुगेका छन् । ‘पहिलो श्रेणीमा लामबद्ध भए अगाडि बढ्नेक्रममा युक्रेनको सेनाले आक्रमण गरेपछि जवाफी फाएर खोल्नेक्रममा कम्मर र तिघ्राको देब्रे भागमा गोली लागेर घाइते भएँ,’ उनले भने, ‘एक दिन युद्ध क्षेत्रमा सामान्य उपचारपछि हेलिकोप्टरको सहायतामा दुई दिनमा मस्को ल्याएपछि हाल अस्पतालमा उपचाररत छु ।’ आफ्नो टोलीमा रहेकामध्ये चार जना आफूसँग र एक सातापछि थप पाँच जना घाइते भएका साथीसँग उपचाररत रहेको उनले बताए । ‘हामीसँग रहेका नौ जना साथी एकैसाथ घाइते भयौं,’ मस्कोमा उपचाररत नेपालीले भने, ‘अहिले मस्कोमा उपचार गरिरहेका छौं ।’ नेपालबाट दुबईको बाटो हुँदै रुसी सैनिकमा भर्ना हुन मस्को पुगेको घाइतेहरू बताउँछन् । घाइते भएका ती पूर्वमाओवादी लडाकुका अनुसार आफ्ना ५० भन्दाबढी साथी रुस आएको बताए । ‘केही ट्रेनिङ गरिरहेका छन् भने केही युद्धमा सामेल भइसकेका छन्,’ उनले भने । हालसम्म नेपालीहरू कतिको संख्यामा रुस र युक्रेनको सैनिकमा भर्ना भएका छन् भन्ने यकिन तथ्यांक छैन । तर, दुवै मुलुकमा हाल नेपालीहरू रोजगारीको सिलसिलामा त्यहाँ पुगेर सैनिकमा भर्ना हुनेक्रम बढिरहेको छ । सरकारले श्रम गन्तव्य नतोकेको र द्वन्द्वग्रस्त मुलुकमा नजान आग्रह गरे पनि माओवादीका पूर्वलडाकु, पूर्वसुरक्षाकर्मीहरू रोजगारीका लागि सो क्षेत्रमा गइरहेको जानकारी आइरहेका छन् । उनका अनुसार माओवादी सेनामा रहँदा आफूभन्दा तल्लो मातहतमा रहेका १० जना उनीसँगैको सम्पर्कमा आएका छन् । म्याग्दी घर भएका उनकै मातहत रहेका उनकै साथी हाल तीनमहिने तालिममा छन् । तालिम अवधिभर नेपाली ६० हजार रुपैयाँ हुने र तालिम पूरा भएपछि नेपाली ३ लाख रुपैयाँ तलब हुने गरेको उनले सुनाए । नेपालीहरू दुवै मुलुकको सेनामा भर्ती हुन जानेको संख्या बढिरहेको छ । दुई मुलुकबीचको तनावका बीच रुसले भाडाका सैनिक प्रयोग गरेर युक्रेनसँग लडिरहेको छ । पछिल्लो समय मात्रै भारत र दुबईको बाटो हुँदै रुसी भाडाको सैनिकमा भर्ना हुन जानेको संख्या बढिरहेको छ । रुसी सेनामा भाडाका सैनिक बढ्नुमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशीहरूका लागि ल्याएको आकर्षक योजना हो । सन् २०२२ सेप्टेम्बर अन्तिम सातामा रुसी सदन ‘स्टेट डुमा’ले एक विधेयक पारित ग¥यो । त्यस विधेयकले एक वर्ष रुसी सेना, रुसी फौज वा अन्य सैन्य सेवामा आबद्धहरूलाई सैनिक क्षेत्रमा सहभागी भएको एक वर्षमै रुसी नागरिकता दिने सहज प्रावधान ल्यायो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले १६ मे २०२३ मा त्यो विधेयक प्रमाणीकरण गरेका थिए । पछिल्लो समय रसिया प्रवेश गरेका नेपाली युवा रसियन सेनामा भर्ती हुने गरेका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् । नेपालबाट पनि रसियन सेनामा भर्ती गर्न सामाजिक सञ्जालमा विज्ञापन भइरहेको छ । विगत सात महिनायता नेपाली युवा भारत हुँदै रसिया पुगेर सेनामा भर्ती भइरहेको खबर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि पटकपटक पाइरहेको छ । सामान्यतया युद्धग्रस्त मुलुकहरूमा जाने कामदारको सरकारले श्रम स्वीकृति रोक्ने गरेको छ । तर, रुसमा अरू मुलुकको बाटो प्रयोग गरेर नेपालीहरू रुस पुगिरहेका छन् । त्यससँगै विधेयक ऐन बनेको छ । विधेयकको प्रमाणीकरणसँगै रुसी फौजमा एक वर्ष काम गरेका जुनसुकै मुलुकका युवासँगै उनीहरूका श्रीमान्–श्रीमती वा परिवारका सदस्यले सहज रूपमा रुसी नागरिकता लिन पाउनेछन् । रुसी फौजमा सहज प्रवेश र नागरिकता पाउने ‘आकर्षक’ प्रावधानले गर्दा धेरै नेपाली त्यसमा आकर्षित भएका हुन् ।