कुन र कस्तो राजा चाहियो त मुलुकमा ?
रासंसा/काठमाण्डौ, मार्ग ९,
मुलुकमा आजकल ‘हाम्रो राजा …’ र ‘राजा आऊ ….’ जस्ता चित्ताकर्षक र मादक नाराले सडक गुञ्जायमान भएको अनुभव गरिँदै छ । राजभक्तहरू निकै नै उत्साहित पनि देखिएको छ । महाभारतको लडाइँमा पितामह भीष्म, आचार्य द्रोण र महारथी दानवीर कर्णजस्ता महापराक्रमी योद्धाहरूको पतनपश्चात् दूर्योधनले मद्रनरेश शल्यलाई सेनापति नियुक्त गरेका थिए । शल्यको नियुक्तिको खबर सुनाउँदै सञ्जयले धृतराष्ट्रलाई भनेका थिए, ‘गते भीष्मे हते द्रोणे कर्णेच विनिपातते, आशा बलबती राजन् शल्यो ज्येष्यति पाण्डवान् !’ भीष्म, द्रोण र कर्णजस्ता धराशायी भए । अब शल्यले पाण्डवमाथि विजय प्राप्त गर्ने आशा जागेको छ । आशा बलवान छ । मद्रनरेश एक पराक्रमी योद्धा त थिए, तर भीष्म इत्यादिका तुलनामा केही थिएनन् । राजा आऊन् भन्ने कामना गर्नेहरूले पनि दूर्योधन स्थापित होस् भन्ने त पक्कै चाहेका छैनन् । सबैभन्दा कट्टर राजावादीले पनि ‘खोपाको देउता’भन्दा बढी खोजेका छैनन् । मैले व्यक्तिगत रूपमा कुनै खोपाको देउता किन चाहियो भन्ने बुझेको छैन । कुनै मूर्ति स्थापित भएर नेपालमा सुख शान्ति आउने भए देवाधिदेव महादेवको स्वयम्भू मूर्ति छँदै छ । कुनै सजीव मानिसलाई निर्जीव भूमिका किन दिने ? कुनै विशेष कूल वा खान्दानका व्यक्तिलाई टाउकोमा राख्दा नै नेपालको कल्याण हुने हो र ? महाराज शल्य त पाण्डुपुत्र नकूल शहदेवका सहोदर मामा थिए र परिबन्दका कारण कौरव सेनामा सामेल भएका थिए । उनलाई युद्धको अन्तिम परिणामको राम्रै आभाष थियो र स्वयं उनी पाण्डव पक्षकै विजयको कामना गर्दथे । राजभक्त सेनाका वर्तमान सेनापति आधुनिक शल्य महाराजको अन्तरमनमा के छ र उनी कति ज्ञानी हुन् भन्ने ’boutमा धेरै टिप्पणी नगरौं । तर, पनि आशाचाहिँ बलवान् नै हुँदो रहेछ । आधुनिक शल्यले राजालाई नारायणहिटी पु¥याइदिन्छ भन्ने आशा गर्नेहरूको सपना बिथोल्नुहुन्न । एकक्षणका लागि राजा आउँछन् भन्ने विश्वास गर्न चाहन्छु । भैगो, एउटा ‘आस्थाको केन्द्र’ मूक तर सजीव व्यक्ति चाहियो भनेरै मानौं । अब त्यो व्यक्ति को भन्ने प्रश्न उठ्दैन र ? हामीलाई आफ्नो शिरमाथि एउटा पराक्रमी कुलीन चाहिने नै रहेछ ! नेपालमा कैयन् अत्यन्तै श्रेष्ठ राजवंश विद्यमान थिए । मेरो दिमागमा यतिबेला पौराणिक कालका तीन राजवंश आइरहेको छ । मिथिला नरेश राजर्षी जनक एक त्यस्तै राजा थिए । प्रजापालनमा मात्र नभई विद्वतामा समेत उनी अद्वितीय थिए र नै राजर्षीको उपाधि पाएका थिए । आदर्श नारी माता सीताका पिता थिए । विश्व विख्यात राजकुमार सिद्धार्थ अर्थात् महात्मा गौतम बुद्धका पिता शुद्धोदन पनि नेपालले गर्व गर्नलायक राजा थिए । किरात राजा यलम्बरको पराक्रम अद्वितीय थियो र उनी पुजनीय छन् । यी तीन राजवंशका यथोचित उत्तराधिकारी किन नखोज्ने ? यो सबभन्दा उपयुक्त विकल्प होइन र ? यहाँनेर अत्यन्तै बलियो आवाज उठ्नेछ भन्ने मलाई राम्ररी थाहा छ । नेपालको एकीकरण गरेर नेपालको वर्तमान स्वरूपका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशज चाहियो । मौसुफको दूरदर्शिता र पराक्रमका कारण नै हामीले आफूलाई नेपाली भन्न पाएका हौं । हुन पनि हो, यो भूभाग मौसुफले आज्र्याको मुलुक हो । आफ्ना पुर्खाले आज्र्याको मुलुकमा मौसुफका वंशजको हक लाग्छ भन्ने तर्क गरिएला । पृथ्वीनारायण शाहले कायम गरेको राज्यको सरहदलाई उनका कान्छा छोरा बहादुर शाहले अत्यधिक बढाएका थिए । ‘पश्चिम किल्ला काँगडा, पूर्वमा तिष्ठा पुगेथ्यौं’ भनेर आज पनि गर्व गर्छौं । ती महापराक्रमी बहादुर शाहले दुर्दान्त मृत्यु बेहोर्नुप¥यो । आज पनि राजधानी काठमाडौंको बानेश्वरतिर निवास गर्ने बहादुर शाहका वंशजहरू हरेक वर्ष नुवाकोट दरबार पुगेर उनको श्राद्ध गर्छन् भन्ने सुनिएको छ । पृथ्वीनारायण शाहका सबैभन्दा सुयोग्य पुत्र बहादुर शाहका वंशज उत्तराधिकारी नै राजगद्दीका सबैभन्दा सुयोग्य अधिकारी होइनन् र ? सायद पौराणिक कालको कुरा गरेर हुन्न भन्ने तर्क गरिएला । हुन पनि यी पौराणिक पात्रका उत्तराधिकारी पत्ता लगाउन मुश्किल नै पर्ला । नेपालको इतिहासको स्वर्णकाल भनेर चिनिएको लिच्छविकालबाट खोज्न हुन्न र ? ऐतिहासिक सिम्रोनगढबाट हरिसिंह देव वा नान्यदेवका वंशज खोज्ने कि वा चाँगुनारायणका उपासक मानदेवको उत्तराधिकारी खोज्ने ? होइन भने महासामन्त मात्रै भए पनि हाम्री राष्ट्रिय विभूति भृकुटीका पिता अंशुवर्माका कुनै सन्तानलाई किन नखोज्ने ? लिच्छविकालसम्म पुग्दा गाह्रो पो हुने हो कि ? त्यसो भए परम प्रतापी मल्ल राजाका कुनै वंशज किन नखोज्ने ? प्रजापालन र थिति बसाउने कुरोमा अनन्तकालसम्म अमर रहन सक्षम जयस्थिति मल्लका वंशज उत्तराधिकारी खोज्न त धेरै मुश्किल नपर्ला कि ? अब पुनः अर्को तर्क गरिनेछ– राजाको जेठो छोरा राजा हुन्छ र जेठोको जेठो हुँदै राज परम्परा अगाडि बढ्छ । ल अब यसलाई पनि मानौं र बहादुर शाहका वंशजलाई छोडिदिऊँ । पृथ्वीनारायण शाहका जेठा छोरा प्रतापसिंह शाहको निधनपश्चात् उनका जेठा छोरा रणबहादुर शाह नेपालका राजा भए । यी राजाका विवाहिता महारानीका तर्फबाट जेठा छोरा थिए रणोद्दत शाह । स्वाभाविक रूपमा रणोद्दत शाह नै युवराज थिए । एक दिन राजा रणबहादुर शाह पशुपति आर्यघाटमा पुगेछन् । त्यहाँ उनले घाटमा एकसरो श्वेत वस्त्र बेरेर नुहाउँदै गरेकी एक शोडष वर्षीया सुन्दरी बालालाई देखे । ती बाला कान्तवती नाम गरेकी मैथिली बाल विधवा ब्राह्मणी रहिछन् । राजा ती सुन्दरीप्रति आशक्त भए । उनले ती बालालाई दरबार भित्र्याउन खोजे । कान्तवती कडै रहिछन् । राजहठ र जबर्जस्तीको प्रतिकार गर्नसक्ने अवस्थामा उनी थिइनन् । तर पनि उनले सर्त राखिछन्– ‘मबाट जन्मिने पुत्र राजा हुन्छन् भने मात्र म जान तयार छु ।’ युवतीप्रति आशक्त राजाले सर्त स्विकारेर कान्तवतीलाई दरबार भित्र्याए । यिनै ल्याइते रानीबाट जन्मिए गीर्वाणयुद्ध वीरविक्रम शाह । राजा रणबहादुर शाहले युवराज रणोद्दत शाह र उनका सन्तानलाई पदच्युत गरेर गीर्वाणलाई युवराज बनाए । यसरी स्वाभाविक क्रमभंग भएको हुँदा गीर्वाणको समयदेखि राजाहरूको नामको पछाडि ‘विक्रम’ जोडिएको हो । अब श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहकी विवाहिता क्षत्रिनी रानीका जेठा सन्तान दरसन्तानलाई राजा बनाउने रीत परम्पराको अवलम्बन गर्ने हो भने त रणोद्दत शाहका जेठा अनि उनका जेठा गर्दै वंशज खोज्नु जायज हुन्न र ? रणोद्दत शाहको त अत्यन्तै कलिलो उमेरमा निधन भएको देखिन्छ । तर, उनका जेठा सन्तान दरसन्तान केलाउँदा जगतप्रकाशजंग शाह हुँदै नवीनप्रकाशजंग शाहमा पुगिन्छ । उल्लेख्य के छ भने जगतप्रकाशजंग शाह नेपाली कांग्रेसका क्रान्तिकारी थिए र उनलाई राजा महेन्द्रले अत्यन्तै आततायी ढंगले मारेका थिए । जगतप्रकाशका छोरा नवीनप्रकाशजंग शाह हामीबीच छन् । उनी त्रिभुवन विश्वविद्यालयका उपकुलपति पनि रहेका थिए । पृथ्वीनारायण शाहकी क्षत्रिनी विवाहितातर्फका वंशज जेठा खोज्ने हो भने नवीनप्रकाशजंग शाह राजा हुनुपर्छ । राजभक्तहरूलाई स्वीकार्य नहुनुपर्ने कारण छ त ? राजतन्त्र नभइनहुने किन ? अब राजा चाहिएकै भए कुन र कस्तो राजा खोज्ने अनि रोज्ने ? माथि विकल्पहरूमध्ये कुन विकल्प उत्तम हो ? राजा भन्ने उपाधि मात्र चाहिएको हो ? भन्न त अनौठो एउटा कुरा पनि भनिन्छ । राजतन्त्र र हिन्दूत्व जोडिएको छ रे ! जनताले चुन्ने राष्ट्रप्रमुख किन अस्वीकार्य ? गणतन्त्र हिन्दूका लागि अस्वीकार्य हो ? त्यसरी पुराना कुरा गरेर साध्य हुन्न भन्ने तर्क गरिएला । त्यो पनि ठिकै मानौं । तुलनात्मक रूपमा नयाँ कुरा गरौं । राजावादीहरूका नजरमा परम प्रतापी राजा महेन्द्रका दुई होइन तीन पत्नी थिए । इन्द्रराज्यलक्ष्मी र रत्नराज्यलक्ष्मीका ’boutमा त सबैलाई थाह छ । इन्द्रराज्यलक्ष्मीसँग विवाह हुनुभन्दा निकै अघि नै उनको दरबारकी कुनै कामदार महिलासँग सम्बन्ध कायम भएको थियो । महेन्द्रभन्दा उमेरले जेठी ती महिला थिइन्, गीता गुरुङ । महेन्द्र आफू कलिलो जवान हुँदाको अवस्थामा नै गीता गुरुङले महेन्द्रका छोरालाई जन्म दिएकी थिइन् । ती छोराको नाम हो रवीन्द्र शाह । दरबारले गीतालाई ‘रानी’का रूपमा स्विकारेको थियो । रत्नराज्यलक्ष्मी नारायणहिटी भित्रिएपछि मात्र गीता र उनका छोरा दरबारबाट निकालिएका थिए । महेन्द्रको निधनपश्चात् रवीन्द्र शाह ‘राजकुमार’का हैसियतमा काजकिरियामा सामेल भएका थिए । महेन्द्रका जेठा छोरा रवीन्द्र शाह राजगद्दीका हकदार थिएनन् र ? अहिले रवीन्द्र शाह त छैनन् तर उनका छोरा पवीन्द्रविक्रम शाह छन् । उनलाई राजा बनाउँदा न्याय हुन्न र ? ल्याइते ब्याइते र जात–बेजातका कुरा गर्ने हो भने त गीर्वाणयुद्ध नै ल्याइते मैथिली ब्राह्मणीका छोरा थिए । ती गीर्वाणयुद्धका सन्तान दरसन्तानका ’boutमा पनि राम्रै प्रश्न उठ्छ । एउटा पौराणिक तथ्यलाई उल्लेख गरेर माथि उठाइएका प्रश्नहरूको जवाफ खोज्ने जिम्मा पाठकलाई नै छोड्न चाहन्छु । शकुन्तला र दुष्यन्तका छोरा राजा भरत प्रसिद्ध छन् । उनकै नामबाट भारत भएको भनिन्छ । ती महाप्रतापी राजा भरतका धेरै छोरा थिए । कतै तीन छोरा भनिएको छ भने कतै नौ ! तर भरतले आफ्ना कुनै छोरालाई उत्तराधिकारी बनाएनन् । उनले उत्तराधिकारी युवराजका रूपमा ब्राह्मण ऋषि भरद्वाजलाई चुने । तिनै भरद्वाजले प्रभुत मन्त्रको रचना गरेका थिए र १२ सूत्रीय व्याख्याद्वारा ऋग्वेदलाई धनी बनाएका थिए । रामायण कालका भारद्वाज ऋषि यिनकै सन्तान मानिन्छ । भरतले जैविक वंशका आधारमा नभई योग्यता र जनभावनाअनुरूप उत्तराधिकारीको चयन गरेका थिए । यसरी हेर्दा वैद्विक कालमा नै गणतन्त्रको जग बसालिएको थियो ।