नेकपा माओवादीमा स्थायी कमिटीमा युवाले पाँच वर्ष कुर्नुपर्ने, तेस्रो पुस्तामा अब के हुने हो

Share to:

रासंसा/काठमाण्डौ, पौष १५,

मुलुकमा महाधिवेशनमा व्यस्त रहेको नेकपा माओवादी केन्द्रले विधानतः १५ सदस्यीय पदाधिकारीको प्रबन्ध गरेको छ । केन्द्रीय समितिमा ‘थ्री इन वान’ भन्दै युवा (तेस्रो) पुस्ताको समेत समानुपातिक प्रतिनिधित्व गराउने बताएको माओवादीले १५ पदाधिकारी टीममा भने पहिलो र दोस्रो पुस्तालाई सेटल गर्ने र तेस्रो पुस्तालाई आगामी पाँच वर्षका लागि ढोका बन्द गर्ने संकेत देखिएको छ । साथै, माओवादीको विधानले पदाधिकारी टिममा समावेशीकरणको सिद्धान्तलाई पनि अंगीकार गरेको छैन । माओवादीको प्रस्तावित विधानमा सबै तहका निर्वाचित समितिहरु समावेशी चरित्रका हुने र महिलाको प्रतिनिधित्व ३५ प्रतिशत हुने उल्लेख छ । केन्द्रीय समितिमा १५ प्रतिशत सदस्य दलित समुदायबाट हुने र २० वर्षदेखि माथिका युवाहरुलाई कम्तिमा २० प्रतिशतको संख्यामा समेटिने विधानमा व्यवस्था गरिएको छ । न्यूनतम योग्यता नपुगेको स्थितिमा महिला र दलितको कोटा खाली राखिने विधानमा उल्लेख छ । ‘१५ सदस्यीय पदाधिकारीमा पहिलो र दोस्रो पुस्ताकै नेतालाई भाग नपुग्ने देखियो, अब हामी तेस्रो पुस्ताका युवाहरु पाँच वर्षका लागि पदाधिकारीमा जानै नपाउने स्थिति देखियो’ नेकपा माओवादी केन्द्रका एकजना युवा नेताले नाम उल्लेख नगर्ने शर्तमा रातोपाटीसँग भने, ‘काँग्रेसजस्तो ठूलो पार्टीमा ४५ वर्षका गगन थापा महामन्त्री बन्न सक्छन् भने युवाको पार्टी भनिएको माओवादीको पदाधिकारीमा चाहिँ तेस्रो पुस्ताको नेता किन नअटाउने ? पुरानै नेताहरुले पाँच वर्ष ओगट्ने हो भने युवाको आकर्षण काँग्रेसतिर सिफ्ट हुने खतरा छ ।’ हरेक प्रदेशबाट १ जना पर्ने गरी ७ जना उपाध्यक्ष र सातैजना सचिवको प्रबन्ध गर्ने हो भने माओवादीको पदाधिकारी टीममा युवा र अन्य समावेशी प्रतिनिधित्वको ढोका खुल्ने ती नेता बनाउँछन् । यसो गर्दा पदाधिकारीको संख्या १५ बाट बढेर २० पुग्न सक्छ । विधानको यही व्यवस्थामा टेकेर १५ सदस्यीय पदाधिकारीमा पनि तेस्रो पुस्ताका युवाको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माओवादीका युवा नेताहरुको भनाइ छ । यसो गर्दा १५ सदस्यीय पदाधिकारीमा कम्तिमा तीनजना पर्नुपर्ने हुन्छ । तर, माओवादीको पदाधिकारी टीममा पहिलो र दोस्रो पुस्तामात्रै समेटिने संकेत देखिएको छ । नेपाली काँग्रेसको पदाधिकारी टीम एमालेको भन्दा सानो छ तर काँग्रेसले पदाधिकारीमभा समावेशीकरणलाई अनिवार्य गरेको छ । काँग्रेसको पदाधिकारीमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र एक कोषाध्यक्षसमेत गरी १४ जना रहन्छन् । ८ सहमहामन्त्रीहरु क्लष्टरबाट आउने भएकाले समावेशी पदाधिकारी टीम बन्न पुगेको छ । पदाधिकारी छान्न महाधिवेशन प्रतिनिधिहरुलाई नै स्वतन्त्रता दिइएका कारण नेपाली काँग्रेसको पदाधिकारी टीममा तेस्रो पुस्ताका युवाहरु उपसभापति र महामन्त्रीसम्म पुग्न सफल भएका छन् भने विभिन्न दाग लागेका पुराना नेता पराजित बनेका छन् । नेकपा एमालेको पदाधिकारी टीम हेर्ने हो भने १९ सदस्यीय छ । एमालेले माओवादीको जस्तै अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिवको प्रवन्ध गरेको छ भने तीनजना उपमहासचिव र ७ जना सचिवको व्यवस्था गरेको छ, जसले गर्दा तेस्रो पुस्ता र समावेशीकरण सहज बनेको छ । तर, माओवादीले पदाधिकारीको टीम नै सानो बनाउन खोजेका कारण युवा र समावेशी प्रतिनिधित्व खुम्चन गई पुरानै नेताहरुको मात्र व्यवस्थापन गर्नुपर्ने अवस्था आइलागेको कतिपय नेताहरु बताउँछन् । तर, माओवादीमा भने नेतृत्वको खुल्ला प्रतिपर्धा हुन नपाउने अवस्थामा पुरानै, घ्यार–घ्यार गर्ने एवं बोलीसमेत लर्बराइसकेका नेताहरुकै निरन्तरता हुने सम्भावना बढी छ, जुन ‘फेस’ चुनावमा बिक्न गाह्रो पर्ने युवा नेताहरुको चिन्ता छ ।
माओवादीको अध्यक्षमा प्रचण्ड नै सर्वसम्मत हुने निश्चित छ । बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको सम्भावना बढी छ भने बाँकी ६ उपाध्यक्षमा पहिलो पुस्ताबाट कृष्णबहादुर महरा, हरिबोल गजुरेल, दीनानाथ शर्मा, लीलामणि पोखरेल, शशी श्रेष्ठ लगायतको सम्भावना बढी देखिन्छ । मधेसको प्रतिनिधित्वका लागि दोस्रो पुस्ताका मातृका यादवलाई पनि उपाध्यक्ष बनाइन सक्ने सम्भावना रहेको नेताहरु बताउँछन् । त्यस्तै, महासचिवको दाबी गरिरहेकी दोस्रो पुसताकी पम्फा भुसाललाई पनि उपसभापतिमा व्यवस्थापन गर्ने सम्भावना रहेको बताइन्छ । यसबाहेक काँग्रेसमा जस्तै युवापुस्ताबाट उपाध्यक्ष बन्ने कल्पना अहिलेसम्म माओवादीको महाधिवेशन हलले गरेको छैन । माओवादीमा दोस्रो पुस्ताका नेताहरुको ठूलो पंक्ति छ, जसले गर्दा तेस्रो पुस्ताले आगामी पाँच वर्षसम्म पदाधिकारीमा पाइला टेक्न गाह्रो देखिन्छ । दुई उपमहासचिव र तीन सचिव पदमा दोस्रो पुस्ताकै नेताहरु दाबेदार मानिन्छन्, जसको पंक्ति निकै लामो छ । १५ सदस्यीय पदाधिकारीमा अटाउनुपर्ने दोस्रो पुस्ताका करिब २६ जना माओवादी नेताहरुको सूची हेरौं– माओवादीको महामन्त्रीका लागि अहिलेसम्म दोस्रो पुस्ताका नेताहरु वर्षमान पुन र जनार्दन शर्माको दाबी चर्चामा आएको छ । यसबाहेक पम्फा भुसालले पनि महासचिवमा हल्का दाबी गरेकी छिन् । यसबाहेक तेस्रो पुस्ताका कुनै नेताले पनि काँग्रेसमा जसरी महासचिवमा दाबी गर्ने आँट गरेका छैनन् । बरु पुरानै पुस्ताका कृष्ण बहादुर महरालाई पो महासचिव बनाइने हो कि भन्ने चर्चा पनि माओवादीभित्र चल्दै आएको छ । माओवादीमा पहिलो पुस्ताका ७ र दोस्रो पुस्ताका २६ बढी नेताहरुलाई जोड्दा ३३ जना पुग्छन् । पदाधिकारीपछिको स्थायी कमिटीमा उनीहरुले नै भरिने सम्भावना छ । वर्षमान पुन, गिरीराजमणि पोखरेल, देव गुरुङ, जनार्दन शर्मा, शक्ति बस्नेत, राम कार्की, मात्रिका यादव, पम्फा भुसाल, उर्मिला अर्याल, विश्वनाथ साह, गणेश साह, हितमान शाक्य, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, नारायणप्रसाद दाहाल, ओनसरी घर्ती, जयपुरी घर्ती, कुलप्रसाद केसी, देवेन्द्र पराजुली, कृष्णध्वज खड्का, रेखा शर्मा, खिमलाल देवकोटा, डिलाराम आचार्य, डोरप्रसाद उपाध्याय, पूर्णाकुमारी सुवेदी, लक्ष्मण पन्त, वामदेव क्षेत्री, टंक राई, हितबहादुर तामाङ, कल्पना धमला । विधानअनुसार केन्द्रीय समितिमा जस्तै पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीमा पनि २० प्रतिशत युवाको कोटा सुनिश्चित गर्ने हो भने पहिलो र दोस्रो पुस्ताका नेताहरुले या त आफैं त्याग गर्नुपर्ने हुन्छ, या त युवाहरुसँग चुनावी प्रतिस्पर्धा रोज्नुपर्ने हुन्छ । विधान अनुसार केन्द्रीय कमिटीको एक तिहाई संख्या पोलिटब्यूरो हुनेछन् । २९९ सदस्यीय केन्द्रीय कमिटी बन्दाखेरि ९९ सदस्यीय पोलिटब्यूरो गठन हुन्छ भने त्यसको एक हिताई अर्थात ३३ सदस्यीय स्थायी कमिटी बन्नेछ । त्यो अवस्थामा प्रतिस्पर्धा नगराउने र बरिष्ठतालाई मात्रै हेर्ने हो भने स्थायी कमिटी पहिलो र दोस्रो पुस्ताकै नेताहरुले भरिनेछ । त्यसपछि तेस्रो पुस्ताका नेताहरुले पोलिटब्यूरो र केन्द्रीय समिति वा विभागहरुको सदस्यमा चित्त बुझाउनुपर्ने हुन सक्छ । यसैवीच नेकपा माओवादी केन्द्रको महाधिवेशन हलले अध्यक्ष बाहेक अरु पदाधिकारीहरु नछान्ने पार्टीका नेताहरु बताउँछन् । सो पार्टीका एक नेताले भने, ‘महाधिवेशनले अध्यक्षसहित केन्द्रीय कमिटीको प्यानललाईै अनुमोदन गर्छ । त्यसपछि बस्ने केन्द्रीय कमिटीको बैठकले आफूहरुमध्येबाट पदाधिकारीको छनोट गर्छ ।’ त्यसो त माओवादीलाई काँग्रेसको जस्तो समावेशी क्लष्टर मात्रै मिलाएर पुग्दैन । पूर्वजनमुक्ति सेना, जनयुद्धका घाइते एवं अपाङ्गहरुको अनुहार पनि नेतृत्वमा देखाउनुपर्ने चुनौती माओवादी छ । त्यस्तै समावेशीका नाममा वर्गीय प्रतिनिधित्व पनि समावेश गरिनुपर्ने पार्टीभित्र माग उठेको छ । जस्तो एमालेले समेत मजदुरको समावेशी कोटा तोकेको छ । तर, माओवादीको विधानले वर्गीय कोटा तोकेको छैन । तर, यो प्रक्रियामा जाँदा तेस्रो पुस्ताको प्रतिस्पर्धी नेतृत्व स्थापित नहुने हो कि भन्ने चिन्ता युवा नेताहरुमा छ । तेस्रो पुस्ताका एक नेताले भने, ‘अहिले राष्ट्रिय सम्मेलन मात्रै भैदिएको भए एकाध वर्षमै युवाहरुलाई नेतृत्वमा पुग्ने ठाउँ र आशा बाँकी रहन्थ्यो । तर, यो महाधिवेशन हो, अहिले युवाहरु पदाधिकारीमा आएनन् भने आगामी पाँच वर्षसम्म नेतृत्वको ‘बन्ध्याकरण’ सो सरह हुनेछ ।’ काँग्रेस र एमालेमा जस्तै पदाधिकारीमा अपग्रेड गर्न सकिने तेस्रो पुस्ताका माओवादी नेताहरुको पंक्ति नै नभएको चाहिँ होइन । सातैवटा प्रदेशमा युवा नेतृत्वको ठूलो पंक्ति छ । जस्तै– प्रदेश १ मा एमालेका शेरधन राईभन्दा सिनियर नेता अजम्बर कम्बाङ राई एमाले छाडेर माओवादीमा क्रियाशील छन् । उनी माओवादीको सचिवसम्म ‘डिजर्भ’ गर्ने नेता मानिन्छन् । तर, केपी ओलीले प्रभु साह र लेखराज भट्टराई साथमा लिएर हिँड्दा माओवादीले अजम्बरको ‘स्ट्रेन्थ’ खुट्याउन सकेको छैन । त्यस्तै अशोक राईकै समकालीन एमालेकै पूर्वसांसद टंक राईलाई पनि माओवादीले चिन्न सकेको देखिँदैन । त्यसैगरी प्रदेश २ मा सत्यनारायण भगत, उमेश यादव, अशोककुमार मण्डल, अजयशंकर नायक, राजु खड्का, रामेश्वर राय यादव, जगत यादव, भरत साह, रामकुमार शर्मालगायतका नेताहरुको टीम छ । वागमती प्रदेशमा तेस्रोपुस्ताका युवा नेताहरुको ठूलो पंक्ति छ । सरल सहयात्री, शालिकराम जमरकट्टेल, पुष्पविक्रम मल्ल, अञ्जना बिसंखे, लेखनाथ न्यौपाने, हिमाल शर्मा,देवी खड्का, युवराज चौगालाई, युवराज दुलाल, रामप्रसाद सापकोटा दीपशीखा र रेणु दाहाल वागमती प्रदेशमा क्रियाशील माओवादीको युवा पंक्ति हो । प्रदेश १ मा माओवादी जनयुद्धमा योगदान दिएका युवा पुस्ताका नेताहरुको ठूलो टिम छ, जसबाट पदाधिकारीमा अपग्रेड गर्न सकिने ठाउँ छ । जस्तै– धर्मशिला चापागाई, हेमराज भण्डारी, इन्द्र आङबो, सुरेशकुमार राई, सुदन किराती, शावित्रीकुमार काफ्ले, गोपी अछामी, शिवकुमार मण्डल र रामकुमारी चौधरी लगायतका तेस्रो पुस्ताका नेताहरुको पंक्ति प्रदेश १ मा छ । लुम्बिनी प्रदेशमा शुदर्शन बराल, इन्द्रजीत थारु, जीवन गौतम, टेकबहादुर बस्नेत, विमला सुवेदी, महेश्वर गहतराज, गणेशमान पुन, कमला रोका, अमृता थापामगर लगायतका तेस्रो पुस्ताका नेताहरु छन् । त्यस्तै गण्डकी प्रदेशमा बलावती शर्मा, यशोदा गुरुङ सुवेदी, गायत्री गुरुङ, सीता पोखरेल, आशा कोइराला, चूडामणि खड्का, हरिबहादुर चुमान लगायतका नेताहरुको पंक्ति छ । त्यसैगरी कुमार पौडेल, दलजीत बिक श्रीपाली, दामा कुमारी शर्मा, धर्मदत्त देवकोटा, प्रल्हादकुमार बुढाथोकी, जगप्रसाद शर्मा, हरि अधिकारी जस्ता तेस्रो तहका नेताहरु पनि माओवादीमा छन् । कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही, रामदीप आचार्य, सत्या पहाडी, मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, गणेशमान पुनलगायत छन् भने सुदुरपश्चिम प्रदेशमा खगराज भट्ट, वीना मगर लगायतका नेताहरु छन् ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *