‘छापामार शैली’ एमाले र माओवादी केन्द्रको एकता ! के थियो हेटौँडा महाधिवेशनको म्यान्डेट ?

Share to:

रासंसा/काठमाण्डौ, पौष १५,

मुलुकमा नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा पुस ११ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबारे एमाले महासचिव शंकर पोखरेलको भनाइमा सही थाप्दै भने, ‘हामीले गल्ती गरेका थिएनौँ । फेरि एकचोटि आत्मसमीक्षा गरौँ । कहाँ थियो त गल्ती ? के कारणले हामी दुई ठाउँमा हुन पुग्यौँ ? के कारणले यत्रो सपना हामी आफैँले भत्कायौँ ? त्यसको समीक्षा गरौँ । हामीले गल्ती गरेका थिएनौँ । हाम्रो उद्देश्य गलत थिएन ।’ यसको समीक्षाका लागि एकचोटि हेटौँडा महाधिवेशनको दस्तावेज हेर्नुपर्ने हुन्छ । हेटौँडा महाधिवेशनमा अध्यक्ष प्रचण्डले ‘नेपाली क्रान्तिको नयाँ संश्लेषण : एक ऐतिहासिक आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कम्युनिस्ट पार्टीको महाधिवेशन भनेको अर्को महाधिवेशनसम्मका लागि कार्यदिशा एवं नीति कार्यक्रम तय गर्ने सर्वोच्च निकाय हो । माओवादीको ०६९ साल माघ २०–२६ मा हेटौँडामा सम्पन्न सातौँ महाधिवेशनले नेकपा एमालेका सन्दर्भमा कस्तो दृष्टिकोण तय गरेको थियो ? के त्यो महाधिवेशनले एमालेसँग पार्टी एकता गर्ने ‘म्यान्डेट’ दिएको थियो ? महाधिवेशनबाट पारित दस्तावेजमा ‘कैयौं वामपन्थी समूहहरूसँग’ एकीकरणको वार्ता चलिरहेको उल्लेख थियो । तर, नेकपा एमालेसँग एकता गर्न सकिने कहीँ पनि उल्लेख थिएन । बरु ‘दक्षिणपन्थी संशोधनवाद मुख्य खतराका रूपमा रहेको र त्यसका विरुद्धको विचारधारात्मक संघर्षलाई समग्रमा जोड दिनुपर्ने’ महाधिवेशनको निष्कर्ष थियो । जबकि महाधिवेशनबाट सर्वसम्मतरुपमा पारित दस्तावेजको १६ औँ पृष्ठमा लेखिएको थियो, ‘नेपाली क्रान्ति र नेपाली कम्युनिस्ट आन्दोलनको आजको ठोस सन्दर्भमा अनुभववाद अर्थात् मार्क्सवादलाई वर्ग–संघर्षको नभएर वर्ग–समन्वयको हतियार बनाउन खोज्ने दक्षिणपन्थी संशोधनवाद मुख्य खतराका रूपमा रहेको छ र त्यसका विरुद्धको विचारधारात्मक संघर्षलाई समग्रमा जोड लिएर जानुपर्दछ ।’ हेटौँडा महाधिवेशनले ‘सही विचारधारात्मक र राजनैतिक कार्यदिशामा आधारित संकल्पगत एकताद्वारा सुगठित कम्युनिस्ट पार्टीको विकासको विकल्प छैन’ भनेता पनि बहुदलीय जनवाद मान्ने एमालेसँग ‘माओवाद’लाई समेत छाडेर प्रचण्डले पार्टीभित्र पर्याप्त छलफल नै नगरी ‘छापामार शैलीमा’ पार्टी एकता गरेको माओवादीकै कतिपय नेताहरूको गुनासो छ । हेटौँडा महाधिवेशनबाट पारित प्रतिवेदनको निष्कर्षमा भनिएको थियो– ‘आज हाम्रो पार्टीको काँधमा नेपाली जनवादी क्रान्तिलाई पूर्णता दिने तथा समाजवादी क्रान्तिको तयारी गर्ने गहन ऐतिहासिक जिम्मेवारी आएको छ । यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न सही विचारधारात्मक र राजनैतिक कार्यदिशामा आधारित संकल्पगत एकताद्वारा सुगठित कम्युनिस्ट पार्टीको विकासको विकल्प छैन । दायाँ बायाँ र मध्य विचलनका विरुद्ध संघर्ष गर्दै मालेमाको रक्षा, प्रयोग र विकास गर्ने एवं प्रतिक्रियावादी षड्यन्त्र परास्त गरी छाड्ने क्रान्तिकारी स्पिरिट र प्रतिबद्धताले नै हामी आफ्नो उद्देश्यमा सफल हुनेछौँ । हामी सबै एक ढिक्का भएर त्यस दिशामा अगाडि बढौँ ।’ महाधिवेशनको बन्दसत्रमा प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङले भने, ‘एमालेसँग एकता गरियो तर त्यो विचारको एकता थिएन । विचार र विधिको एकता नभएपछि कमजोर भइन्छ ।’ अन्ततः एमालेसँगको एकता एकता हेटौँडा महाधिवेशनको म्यान्डेटसँग मेल खाएन । यही कारणले हुनुपर्छ, अहिले आठौँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिहरूले एमालेसँगको एकताका विषयमा प्रश्न उठाएका छन् । त्यसैगरी प्रदेश २ का टोली नेता सत्यनारायण भगतले पनि एमालेसँगको एकतामा कमजोरी भएको बताएका छन् । उनले बन्दसत्रमा प्रदेश २ का सुझावहरू प्रस्तुत गर्दै भने ‘एमालेसँग एकता गर्दा हतार गरियो ।’ माओवादीका युवा नेता लेखनाथ न्यौपानेले त एमालेसँग पार्टी एकता गर्नु असामान्य गल्ती भएको बताउँदै यसका लागि प्रचण्डलाई दोषी देखाएका छन् । प्रदेश २ बाटै रिपोर्टिङ गर्दै भवानी थापाले एमालेसँगको पार्टी एकता वैचारिक छलफल नगरी गरिएको बताइन् । उनले भनिन्, ‘पार्टी एकता गर्दा वैचारिक छलफल गर्नुपर्थ्यो, त्यो गरिएन ।’ न्यौपानेले आफ्नो फरक मतमा भनेका छन्, ‘एमालेसँगको एकता सबै कोणबाट सही थियो भन्ने विषय प्रतिवेदनमा उल्लेख गर्ने कुरो समग्रतामा सही छैन । एमालेसँगको चुनावी तालमेल र कार्यगत मोर्चासम्मलाई सही मान्न सकिन्छ, तर शान्तिपूर्ण संसदवादमा डुबेको, उदारवादी अर्थतन्त्रको घोडा चढ्ने र ओलीजस्तो दक्षिणपन्थी विचारको नेतृत्वसँग छापामार तरिकाले गरिएको एकता सैद्धान्तिक र प्रक्रियागत हिसाबले गम्भीर गल्ती थियो ।’ एमालेसँग ‘छापामार शैली’मा एकता गरेर प्रचण्डले गरेको गल्ती सामान्य नभएको न्यौपानेको तर्क छ । उनी भन्छन्, ‘त्यो गल्ती सामान्य उदारवादी कार्यशैलीमा मात्र सीमित थिएन, यसमा कमरेड प्रचण्डभित्र विकास भइरहेको व्यक्तिवादी अराजकता र संसदवादी रुझान पनि जिम्मेवार छ ।’ प्रचण्डले आफ्नो दस्तावेजमा पार्टी एकता सही नै बताएका छन् । तर, ओलीले प्रतिक्रियावादी हर्कत गरेको बताउँछन् । ओली कहिलेसम्म क्रान्तिकारी थिए र कहिले प्रतिक्रियावादी भए भन्ने स्पष्ट पारिएको छैन । यसैबीच, प्रचण्डले तयार पारेको आठौँ महाधिवेशनको राजनीतिक प्रतिवेदनमा देशभित्र दुई राजनीतिक ध्रुवहरू टकराइरहेको बताउँदै ओली नेतृत्वको एमालेलाई लोकतन्त्रविरोधी धारका रूपमा चित्रित गर्ने प्रयास गरिएको छ । तर, हिजो हठात् पार्टी एकता गर्दासम्म ओली ठीक थिए त ? वा कहिलेदेखि उनी ओली प्रवृत्तिका रूपमा गलत पात्र बन्न पुगे ? यसबारे केही स्पष्ट खुलाइएको छैन । फेरि उनी थप्छन्, ‘केपी ओलीको चरम व्यक्तिवादी अहङ्कार सहमतिका विपरीत निरङ्कुश ढङ्गले पार्टी र सरकार चलाउने धृष्टता एवं उनमा रहेको मार्क्सवाद विरोधी, सामन्ती, दलाल, पुँजीवाद र वैदेशिक प्रतिक्रियावादका अगाडि आत्मसमर्पण गर्ने चरित्रका कारण पार्टीभित्र चरम गुटबन्दी अस्वस्थ अन्तरसंघर्षको विकास भयो ।’ एमालेसँगको एकताबारे प्रचण्ड भन्छन्, ‘राजनैतिक प्रतिवेदन, विधान र संगठनात्मक व्यवस्थापनको सहमतिले एकता प्रक्रियालाई सही साबित गर्दछ ।’ अब प्रचण्डले आफ्नो दस्तावेजमा भनेका छन्, ‘परिवर्तनको प्रमुख बाहक हुनुको नाताले सबैभन्दा पहिले हामीले आफ्नै पार्टीलाई वैचारिक, राजनैतिक, सांगठनिक र सांस्कृतिकरुपले बलियो पार्न र जनसम्बन्धलाई घनिष्ठ पार्न जोड लगाउनुको विकल्प छैन भन्ने ऐतिहासिक यथार्थलाई दह्रोसँग आत्मसात् गर्नु पर्दछ ।’ प्रचण्डको प्रतिवेदन पढ्दा स्वतः प्रश्न उठ्छ– उसोभए ‘मार्क्सवाद विरोधी, सामन्ती, दलाल, पुँजीवाद र वैदेशिक प्रतिक्रियावादका अगाडि आत्मसमर्पण गर्ने चरित्रका’ उनै केपी ओलीले नेतृत्व गरेको पार्टीसँग ‘छापामार शैली’ (लेखनाथ न्यौपानेको भाषा) मा गरिएको पार्टी एकताचाहिँ कसरी सही साबित हुन सक्छ ?

Like