सीपी मैनालीका प्रश्नै प्रश्न, जवाफको प्रतिक्षा, अब के के हुने हो त नेकपा माओबादी केन्द्रको आठौँ अहाधिवेशनमा
रासंसा/काठमाण्डौ, पौष ११,
मुलुकमा यतिखेर दलहरुको महाधिवेशनको होडबाजी चलेको छ । नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशन सकिए लगत्तै राप्रपाको महाधिवेशन र यसका साथै आजैदेखि नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन शुरु भएको छ । महाधिवेशनको उद्घाटन समारोहमा नेकपा मालेका महासचिव सिपि मैनालीले महाधिवेशनको अतिथि दीर्घामा उभिएर म देशभक्त परिवर्तनवादी पार्टी नेकपा माले र आफ्नै तर्फबाट समेत यस महाधिवेशनको सफलताको कामना गर्दछु । यस पार्टीमा समर्पित नेता तथा कार्यकर्ताहरुको सार्वजनिक भएको चाहनानुसार महाधिवेशनले गर्ने फैसला र त्यसले लिने कार्यदिशाले यस पार्टीलाई नवजीवन प्रदान गर्न सकोस् भन्ने कामनासमेत गर्दछु भन्नुभाओ । मलाई कहिले लाग्छ, इतिहासले विगतका हाम्रा आन्दोलनहरुलाई नेपाली जनताको स्वतन्त्र तथा इमान्दार राष्ट्रिय जनवादी आमूल परिवर्तनका निम्ति प्रयोगशालामा मात्र दर्ता गरिदिने त होइन ? नेपाली इतिहासको १० बर्षे कालखण्डबाट गुज्रँदै एउटा विषद् चर्चित आन्दोलनबाट आएको यस पार्टीको महाधिवेशनले जनताका यस्ता असन्तोष तथा जवाफ तलब इतिहासका सम्भावित फैसलालाई अवश्य सम्बोधन गर्नेछ, यसो भनेर मैले किन आशा नगरौं ? कमरेडहरु एवं मित्रहरु, मैले सुन्ने गरेको छु– तपाईहरुले पनि अवश्य सुन्नुभएको हुनुपर्छ कि हिजोआज जताततै जनताले भन्ने गर्छन् : हामीले पटक–पटक व्यवस्था बदल्यौं, तर हाम्रो अवस्था बदलिएन । मैले यसलाई जनताको हामीप्रतिको हामी जो समय समयमा व्यवस्था परिवर्तनको वाहक बन्यौं, हामीप्रति उनीहरुको यस असन्तुष्टिका रुपमा र जनताका जवाफतलवका रुपमा मैले बुझेको छु , लिएको छु । किन यस्तो गर्यौं ? किन यस्तो भयो भनी आक्रोशित नजरका साथ निर्देश जनताले झम्टिरहेको जस्तो मैले मानेको छु । हाम्रो आफ्नै जनवादी जनक्रान्ति सम्पादन गर्ने बाटो कुन हो ? जति राजनीतिक आन्दोलन गरेपनि र जनताका अधिकार जति बढाएजस्तो लागे पनि किन हामीलाई झनझन, आन्तरिक गोलमाल र बाह्य चक्रव्युहमा फसिरहेको अनुभव भइरहेको छ ? के साँच्चै हामी हाम्रा अन्तरराष्ट्रिय गुरुहरुका यस्ता शिक्षा र अनुभवहरुलाई नेपालको वस्तुस्थिति र विशेषताअनुरुप सटिक ढंगले लागु गरिरहेका छौं ? आयोजक नेतागण, उत्सुक सहभागीहरु तथा मित्रहरु मैले ठुल्ठुला प्रश्न आयोजक नेतागणका अगाडि उभिएको देखिरहेको छु । तीनका सही जवाफ समीक्षाबाट तथ्यबाट सत्य खोज्ने माध्यमबाट ननिकाल्ने हो भने देशमा एकखाले अन्योल कायमै रहनेछ । एउटा लक्ष्य प्राप्तिका निम्ति सुरु गरिएको एउटा आन्दोलन, जसका निम्ति राष्ट्र र जनताले अकुत बलिदान गरेका छन्, अर्कै बस्तु लिएर दिशा मोड्न पुगेको छ, तब नमेटिने गरी जिज्ञासाहरु उठेका छन् किन ? किन त्यो तात्कालिक लक्ष्य प्राप्त भएन ? त्यो घोषित लक्ष्यलाई कसले अपहरण गर्यो ? अथवा के त्यो लक्ष्य लिनु नै समय सापेक्ष थिएन ? समयले जवाफ खोजिरहेको छ । जिम्मेवार राजनीतिक पार्टीले आफूतिर उभिएका यस्ता प्रश्नबाट मुख मोडिरहन सक्छ र ? सक्दैन भनी म किन आशा नगरौँ ? कुनै पनि युनिर्सल सिद्धान्तलाई कुनै पनि देश विशेषमा त्यसका वस्तुस्थिति र त्यसका विशेषताअनुरुप अनुकुल हुनेगरी मात्र लागु गर्न सकिन्छ । यो कुरा मार्क्सवाद र नेपालबारे पनि लागु हुन्छ । नेपालमा मार्क्सवादलाई नेपाली जनताको राष्ट्रिय जनवाद र त्यसको जनवादी सत्ताप्राप्तिका निम्तिको आन्दोलनमा संगठित ढंगले एकाकार गर्न खोजिएको ७२ बर्ष पुगिसकेको छ । तर, पनि यस प्रयत्नमा कहिँ कतै ठुल्ठुला भ्वाङहरु भइरहेको प्रतीत भइरहेको छ । मार्क्सवाद उत्पीडित जनता र उत्पीडित राष्ट्रहरुको पक्षधर सर्वाहारा वर्गीय विज्ञानसम्मत सिद्धान्त हो भनी विश्वभर ख्यातिप्राप्त छ । विश्वमा उत्पीडक शासकहरुद्वारा सञ्चालित राष्ट्रहरु पनि छन् । यस्ता शासकहरुबाट सञ्चालित राष्ट्रको परोक्ष संलग्नतामा सञ्चालित आन्दोलनले उत्पीडित राष्ट्रलाई स्वतन्त्रतालाई मुक्ति दिन सक्दैन भन्ने मार्क्सवादी मान्यता विपरीत आचरण गर्ने राजनीतिक शक्तिले कसरी आफूलाई २४ क्यारेट मार्क्सवादी हुँ भन्ने दाबीलाई प्रमाणित गरिरहन सक्छ ? यस्तो आरोपलाई जिम्मेवार आयोजक मित्र नेतागणहरुले पार्टीको यस आठौं राष्ट्रिय महाधिवेशनमार्फत सम्बोधन गर्नुहुनेछ भन्ने मैले किन आशा नगर्ने ? अन्त्यमा, नेपाली कम्युनिस्ट आन्दोलनका विविध पक्षका विवरण प्रस्तुत गर्नुभन्दा पनि माथि उल्लेखित प्रश्नहरुको सही जवाफ खोज्नपट्टि लाग्नु नै आजको प्रमुख दायित्व हो भन्ने मलाई लाग्दछ । यस्ता प्रश्नहरुको जवाफ खोज्दै नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सफलताका साथ सम्पन्न होस् भन्ने पुनः कामना गर्न चाहान्छु । हाम्रो आफ्नै जनवादी जनक्रान्ति सम्पादन गर्ने बाटो कुन हो ? जति राजनीतिक आन्दोलन गरेपनि र जनताका अधिकार जति बढाएजस्तो लागे पनि किन हामीलाई झनझन, आन्तरिक गोलमाल र बाह्य चक्रव्युहमा फसिरहेको अनुभव भइरहेको छ ? के साँच्चै हामी हाम्रा अन्तरराष्ट्रिय गुरुहरुका यस्ता शिक्षा र अनुभवहरुलाई नेपालको वस्तुस्थिति र विशेषताअनुरुप सटिक ढंगले लागु गरिरहेका छौं ? आफूलाई विशिष्ट आन्दोलनबाट खारिएका साहसी नवप्रर्वतनकारी नेता भएको महशुस गर्ने आयोजक नेता मित्रहरुबाट यसै महाधिवेशनमा पनि उपरोक्त प्रश्नहरुलाई सम्बोधन गर्ने प्रयत्न हुनेछ भनी मैले किन आशा नगर्ने ?
(नेकपा माओवादी केन्द्रको आठौ महाधिवेशनमा नेकपा मालेका महासचिव सीपी मैनालीको शुभकामना मन्तव्य )