काँग्रेस महाधिवेशनलाई नियाल्दा के भयो के भएन त ? राज्यको चौथो अंगलाई हेपैदो प्रवृति

Share to:

रासंसा/काठमाण्डौ, पौष ३,

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा अनेक तर्कना मनमा खेलाउँदै काठमाडौंको शहरभित्र भ्रिक्तिमंड़प पुगियो । हाम्रा लागि काठमाडौं नौलो ठाउँ थिएन तर काठमाडौंमा पत्रकारिता र फिल्ड रिपोर्टिङ भने हाम्रा लागि नौलो र पहिलो पनि थिएन। नेपालि कांग्रेस सत्ताधारी प्रमुख दलको महाधिवेशन पनि हाम्रा लागि पहिलो थियो । त्यसमाथि राजनीतिक क्षेत्रको रिपोर्टिङ केही संघर्षपूर्ण हुने महसुस थियो मलाई । विषय र स्थान नौलो नभएकाले केही सहज हुने अपेक्षासहित त्यहाँ पुगेका हौ ।

मंसिर २४ गते दिउँसो १ बजे नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उद्घाटन सत्रको कार्यक्रम थियो । त्यसैको रिपोर्टिङका लागि राष्ट्र संरक्षण साप्ताहिक तथा राष्ट्र संरक्षण डट कमलाई निमन्त्रणा थियो । कोही नेतृत्व दोहोरिनु पर्छ भन्ने धारणा व्यक्त गर्दै थिए त कोही नेतृत्व परिवर्तनको पक्षमा देखिन्थे । कोही भने काँग्रेसमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको आवश्यकता औंल्याउँदै युवापंक्तिले पार्टीको नेतृत्व गर्नुपर्ने विचार व्यक्त गर्दै थिए । नेपाली काँग्रेस महाधिवेशनमा आगामी नेतृत्व लिन उम्मेदवार बनेकाहरूको ब्यानरहरु यात्रा तत्र तन्गिएका थिए सडक छेउका पोलहरू उम्मेदवारका प्रचार सामग्रीले भरिएका थिए । आकाशे पुलका भित्ताहरू पोस्टर, फ्लेक्स, व्यानरले रंगिएका थिए । आफ्नो उम्मेदवारी प्रचारका लागि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूले कुनै कसर बाँकी छोडेका थिएनन् । समुद्घाटनका दिन दिउँसो १ बजे भनिएको उद्घाटन कार्यक्रम करिब २ बजेमात्र सुरु भयो । औपचारिक कार्यक्रमसँगै अनौपचारिक र फरक एङ्गलका समाचारहरू संकलन गर्नुपर्ने र त्यस विषयमा बुझ्नुपर्ने थियो । नेपाली काँग्रेस महाधिवेशनका लागि भृकुटीमण्डपमा मञ्च व्यवस्थापन गरिएको थियो भने मञ्चको बायाँतर्फ पत्रकारहरूलाई समाचार संकलन तथा फोटो/भिडियो खिच्ने स्थान निर्माण गरिएको थियो ।

अस्तव्यस्त अवस्थामा पत्रकारहरू त्यहाँ बसेर आफ्नो जिम्मेवारी पुरा गरिरहेका थिए । यता काँग्रेसका नेता तथा कार्यकर्ताहरू सो क्षेत्र कब्जा गर्दै पत्रकारलाई नै छेकेर मोबाइलबाट फोटो खिच्ने र फेसबुकबाट लाइभ गर्ने काम गरिरहेका थिए । प्रहरी पनि पत्रकार र कार्यकर्ताबीच भिन्नता छुट्याउन असमर्थ थियो । महाधिवेशन उद्घाटनसत्रमा प्रहरीहरू नै पत्रकारलाई रोक्दै थिए । पत्रकारका लागि छुट्याइएको स्थानमा बस्ने अवस्था नदेखेपछि मञ्च बाहिर बसेर त्यस दिनको कार्यक्रमको रिपोर्टिङ भयो । शौचालयको अभाव र अव्यवस्थित स्थानका कारण समाचार संकलन चुनौतीपूर्ण बन्न पुग्यो । नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गत मंसिर २५ गतेदेखि आगामी नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम तय गरिएको थियो । बिहान ८ बजेदेखि राष्ट्रिय सभागृहमा मनोनयन दर्ताको कार्यक्रम थियो । भोट माग्ने र प्रचार सामग्री वितरण गर्ने कार्यमा कार्यकर्ताहरू सक्रिय थिए । उनीहरूले भोट माग्न र उम्मेदवारको प्रचार प्रसारका लागि विभिन्न शैली अपनाएका थिए । कोही देउडा गाएर आफ्ना उम्मेदवारको प्रचारमा लागेका थिए त कोही नारावाजीमा केन्द्रित थिए । कोही भने डिजिटल शैलीमा आफ्ना उम्मेदवारहरूको प्रचारका लागि स्क्रिनमा प्रदर्शन गर्दै थिए । भिड नियन्त्रण गर्न प्रहरीलाई पनि सकस परिरहेको थियो । प्रहरीले राष्ट्रिय सभागृह छिर्ने सडकको दुवैतर्फ छेकबार लगाएको थियो, जहाँ उम्मेदवार र तिनका समर्थक तथा प्रस्तावकलाई मात्र छिर्न दिइएको थियो । सुरुवाती चरणमा त प्रहरीले सुरक्षाका कारण भन्दै पत्रकारहरूलाई पनि रोक्ने प्रयास गरे तर, पछि भने पत्रकारहरूलाई छिर्न दिइएको थियो । सबै पत्रकार अघिल्तिरको चौरमा बसेर फोटो/भिडियो खिच्ने, प्रत्यक्ष प्रसारण गर्ने र प्रतिक्रिया लिने कार्य गरिरहेका थिए । हामीले पनि सोहीअनुसार आफ्नो काम भयो । मनोनयन दर्ताको समय ५ बजेसम्म तोकिएको थियो । तर समय अपुग भएपछि ७ बजेसम्म थप गरियो । मनोनयन दर्ताको समयमा शीर्ष नेताहरूको प्रतिक्रिया लिन भने असहज परिस्थिति बन्यो । निर्वाचन समितिले पत्रकारहरूको लागि उपयुक्त स्थान र प्रतिक्रिया लिने ठाउँको व्यवस्थापन नै गरेको थिएन । पत्रकारहरूलाई मनोनयन दर्ताको फोटो/भिडियो खिच्न जान नै रोकिएको थियो । शीर्ष नेताहरूको मनोनयन दर्ताको फोटो/भिडियो मिडिया सेन्टरबाट उपलब्ध गराउने भनिएको थियो । जसका कारण पत्रकारहरूले राष्ट्रिय सभागृहभित्र प्रवेश पाएनन् । पत्रकारहरूलाई प्रहरीसहित काँग्रेसका प्रतिनिधिहरूले रोकेका थिए ।

मनोनयन दर्ताको समय समाप्त हुँदासमेत काँग्रेसको मिडिया सेन्टर प्रयोगविहीन बन्यो । मिडिया सेन्टरबाट न कुनै जानकारी नै प्राप्त भयो, न कुनै फोटो/भिडियो । कति जनाले मनोनयन दर्ता गरे भन्ने बारेसमेत मिडिया सेन्टर अन्यौलमा देखिन्थ्यो । मध्यराति १२ बजे मनोनयन दर्ता गरेका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशनको समय थियो । निर्वाचन समितिले मनोनयन दर्तापछि उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको थियो भने उम्मेदवारी फिर्ताको लागि दिउँसो १२ बजेसम्मको समय निर्धारण गरिएको थियो । सोही अनुसार उम्मेदवारहरू नेतृत्वसँग उम्मेदवारी कायम राख्ने वा फिर्ता गर्नेबारे छलफलमा जुटेका थिए । अन्ततः काँग्रेसको नेतृत्वका लागि उम्मेदवारी दिएका २ पदाधिकारीसहित ६५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिए । हामी त्यस विषयमा समाचार तयार पारेर अन्य समाचार खोज्नतर्फ केन्द्रित भयौं । केही व्यक्ति आफ्ना उम्मेदवारका थप ब्यानर राख्दै थिए भने केही सडक छेउमा बसेर आफ्नो पक्षका उम्मेदवारलाई मत दिन महाधिवेशन प्रतिनिधिहरूलाई फकाइरहेका थिए । केही कार्यकर्ता भने मदिरा सेवन गरी सडकमा होहल्ला गरिरहेका थिए । निर्वाचन समितिले मंसिर २७ गतेका लागि मतदानको कार्यक्रम तय गरेको थियो । बिहान ८ बजे मतदान सुरु हुने समय निर्धारण गरिएको थियो । कडा सुरक्षाका बीच मतदानको व्यवस्था गरिएको थियो । मतदानका लागि तीन स्थानमा व्यवस्था गरिएको थियो भने मतदान स्थलमा प्रवेश गर्न पत्रकारहरूलाई नै समस्या थियो । मुल सडकदेखि नै पत्रकारहरूलाई प्रहरीले रोकेका थिए । हरेक स्थानमा रहेका प्रहरीलाई आफ्ना कुरा सुनाउँदै पत्रकारहरू मतदान स्थलमा प्रवेश गरिरहेका थिए भने केही पत्रकारलाई मतदान स्थल बाहिरै राख्ने काम भएको थियो । प्रहरी र पत्रकारबीच केहीबेरको बहसपछि अन्ततः पत्रकारहरूले ‘क्यामेरा डाउन’ जस्ता विरोध कार्यक्रम सुरु गरेपछि भने प्रवेश दिइएको थियो । मतपत्र छपाइको काम समयमा नगर्दा मतदानको पूर्वनिर्धारित समय नै प्रभावित बनेको थियो । मतदानको कार्यक्रम निर्धारित समयभन्दा निकै ढिलो गरी सुरु भएको थियो भने राति ११ः३० बजे सम्पन्न भएको थियो । अस्तव्यस्त व्यवस्थापनका कारण मतदाताहरू पनि समस्यामा देखिन्थे । केहीले त व्यवस्थापन पक्षका व्यक्तिहरूलाई गालीसमेत गर्दै थिए । निर्वाचन समितिले उचित स्थान र व्यवस्थापन गर्न नसक्दा मतदान कार्य सहज रुपमा सञ्चालन हुन सकेको थिएन । मतपत्र अभावका कारण मतदान कार्य लम्बिएको थियो । मतदान सकिएको एक घण्टामा मतगणना गर्ने भनेर निर्वाचन समितिले दिएको जानकारी पनि व्यर्थ बन्यो । रात छिप्पिदै गएपछि चिसो झनै बढ्दै गएको थियो । पत्रकारहरू मतदानको आधिकारिक घोषणा र मतगणनाको पर्खाइमा राष्ट्रिय सभागृहको चौरमा बसिरहेका थिए । मतदान सकिएपछि पनि निर्वाचन समितिले आधिकारिक धारणा बाहिर ल्याउन सकेको थिएन । न मिडिया सेन्टरले नै कुनै जानकारी दियो । कति जनाले मतदान गरे भन्ने आधिकारिक जानकारी आउनै सकेन । राति २ बजेसम्म पनि मतगणना सुरु नभएपछि सबै पत्रकारहरू सभागृहको हलमा प्रवेश गरे । केही बेरमै प्रहरीले सिल गरिएको अवस्थामा सभापतिको ३ वटा मतपेटिका हलमा ल्यायो र अन्य मतपेटिका सानेपास्थित काँग्रेस पार्टी कार्यालय पठायो । मतपेटिकाको सुरक्षाका लागि हलभित्र बाक्लो मात्रामा प्रहरी राखियो । अघिल्लो दिन रातिबाटै मतगणना सुरु हुने भनिए पनि मंसिर २८ गते बिहानमात्र मतगणना सुरु भयो । मतगणनाको रिपोर्टिङका लागि रातभर चिसोमा अनिँदो बसेका पत्रकारहरूलाई निर्वाचन समितिले प्रहरी लगाएर हलबाट बाहिर पठायो । पत्रकारहरूले मतगणनाको फोटो खिच्न दिन आग्रह गरेपछि गणना सुरु हुने बेलामा बोलाउने आश्वासन दिइयो । सोही अनुसार सबै पत्रकार हलबाट बाहिरिए । केही उम्मेदवारका प्रतिनिधिसमेत भित्र प्रवेश गर्न पाएका थिएनन् । उनीहरू विरोध गर्दै मतदान कक्षको ढोका ढकढक्याउन थालेपछि भने मतगणना स्थलमा प्रवेश पाए ।

निर्वाचन समितिले भित्र मतगणना सुरु गर्दासमेत पत्रकारहरूलाई छिर्न दिइएन । पत्रकारहरूलाई सुरक्षा समवेदनशीलताका कारण प्रवेश नदिने निर्वाचन समितिको भनाइ आयो । त्यहाँ रहेका केही पत्रकारले आग्रह गर्दा समेत निर्वाचन समितिले पत्रकारलाई प्रवेश दिएन । अन्ततः पत्रकारहरू बाहिर रहेको सीसीटीभीको दृश्य देखाइएको स्थानबाट प्रत्यक्ष प्रसारणमा जुटे । विहान करिव ९ः३० बजेसम्म मतगणना चल्दा निर्वाचन समितिले पत्रकारहरूलाई बेवास्ता नै गरिरह्यो । निर्वाचन समितिले मतगणना सुरु भएदेखि अन्त्य हुँदासमेत कुनै आधिकारिक जानकारी दिएन । पत्रकारहरूले आ–आफ्नै स्रोत प्रयोग गरेर मतगणनाको समाचार संकलन गरे । नेपाली काँग्रेस सभापतिमा उम्मेदवारी दिएका पाँच जनामध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणमा निर्वाचन हुने भयो । निर्वाचन समितिले काँग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचनको मतदान ३ बजेका लागि तोकेको थियो । पत्रकारहरूलाई मतदान स्थलमा प्रवेशमा थप जटिलता थपिएको थियो । करिव १ घण्टा बाहिर कुरेपछि हामीले मतदान स्थलमा प्रवेश पाएका थियौं । विगत तीन दिनदेखि पत्रकारलाई प्रवेश गर्न प्रहरीले रोकेको थियो ।

राष्ट्रिय सभागृह परिसर प्रहरीले जालीदार फलामे बार लगाएर घेरेको थियो । पत्रकाहरूलाई मतदान स्थलमा न बस्ने ठाउँको व्यवस्था थियो, न हिँड्डुल गर्न अनुमति । सभागृह परिसरको सडकमा उभिएर रिपोर्टिङ गर्नुपर्ने बाध्यता थियो त्यस समयमा । सडक पेटीमा बस्न पनि प्रहरीले रोक लगाएको थियो । साँझ ७ः३० बजेसम्म तोकिएको निर्वाचन कार्यक्रम राति ९ बजेमात्र समापन भयो । समापनपछि पनि निर्वाचन समितिले कुनै धारणा सार्वजनिक गरेन । २ घण्टापछि मतगणना सुरु गर्ने निर्वाचन समितको तयारी त्यसदिन पनि व्यर्थ बन्यो । निर्धारित समयभन्दा निकै ढिला गरी मतगणना सुरु भएको थियो । पत्रकारको आग्रहपछि निर्वाचन समितिले त्यसदिन भने पत्रकारहरूलाई फोटो/भिडियो खिच्ने व्यवस्था मिलायो र त्यसपछि बाहिर पठाएको थियो । निर्वाचन समितिले समाचार संकलन गर्न बसेका पत्रकारका लागि प्रारम्भिक मतगणनाको बारेमा कुनै जानकारी गराउने साहस गरेन । अघिल्लो दिनमा जस्तै निर्वाचन समिति मत परिणामका बारेमा मौन बस्यो । पत्रकारहरूले आफ्नै स्रोत प्रयोग गरेर मतगणनाको समाचार तयार पारे । बिहान करिव ३ः३० बजे मतगणना सकियो । काँग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भए । मत परिणामको आधिकारिक घोषणा भएन । सभागृह केही बेरमै खाली भयो । पत्रकारहरू त्यही हलमै बस्ने तरखरमा लागे । दलहरूको महाधिवेशनको समाचार संकलनमा पत्रकारहरूलाई प्रवेशमा रोक लगाउने कार्य गलत हो । आम जनताको सूचनाको हकमाथि रोक लगाउने कार्य दलहरूबाटै भइरहेको छ । यसअघि चितवनमा भएको एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी भइयो । त्यहाँ पनि पत्रकारहरूलाई प्रहरी र स्वयंसेवक लगाएर समाचार संकलन गर्ने कार्यमा बाधा अड्चन थियो ।

मिडिया सेन्टर बेकाम बनेको थियो । सूचना तथा जानकारीमा रोक लगाइएको थियो । निर्वाचन समिति सूचना दिन कञ्जुस्याइ गरिरहेको थियो । यस्तो लेख्नुस्, यो खिच्नुस् भन्दै निर्देशन दिइरहेका थिए । त्यही अवस्था काँग्रेसमा पनि देखिएको थियो । यसरी देश र जनतको हित गर्ने एजेण्डा बोकेका दलहरूले मिडियालाई नै प्रतिवन्ध गर्नु लोकतन्त्र विपरीत कार्य हो । पार्टीका नेतृत्वमा रहेका व्यक्तिहरूले पार्टीको नारामा संविधानको कार्यान्वयन, प्रेस स्वतन्त्रता र लोकतन्त्रको विषय उठाइरहँदा वास्तविकतामा दल कति लोकतान्त्रिक भएछ भन्ने बारेमा पनि मूल्यांकनको खाँचो देखिन्छ । समाचार के बनाउने, कसरी लेख्ने, फोटो हाल्ने कि नहाल्ने, भिडियो देखाउने कि नदेखाउने, फिचर बनाउने कि हार्डन्यूज बनाउने, यी सबै कुराको निर्णय गर्न पत्रकार र मिडिया हाउस स्वतन्त्र हुन्छन् र हुनुपर्छ । यसमा दलहरूले रोक्ने छेक्ने कार्य गर्नु पत्रकारिताको मर्म विपरीतको कार्य हो । यसरि राज्यको चौथो अंगमाथि नै राजनीतिक दलहरुले अंकुश लगाउनु पनि समन्तिवादिहरुको बाहुल्यता हो ।

Like