७ उत्तराधिकारी साथमा एमालेका अध्यक्ष के. पी. ओलीका सम्भावित हस्तीहरु

Share to:

रसंसा/काठमाण्डौ, मार्ग ४,

गठबन्दधन सरकारका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको दशौँ महाधिवेशनबाट अध्यक्षपछिको शक्तिशाली पद ‘महासचिव’ को होला भन्नेबारे लेखाजोखा हुन थालेको छ । दशौं महाधिवेशनमा महासचिव बन्न सफल व्यक्ति र सो पदका दाबेदार नै ११ औं महाधिवेशनमा अध्यक्ष पदका लागि स्वाभाविक दाबेदार मानिने छन् । नेतृत्व हस्तान्तरणको सवालमा नेकपा एमालेको दशौँ महाधिवेशन निरर्थक हुने भएको छ । केपी शर्मा ओली नै फेरि अध्यक्ष हुने लगभग सुनिश्चित भइसकेका कारण एमालेको दशौं महाधिवेशनलाई नेतृत्व परिवर्तनका दृष्टिले चासोरहित मानिएको छ । यद्यपि, ११ औं महाधिवेशनका लागि ओलीको उत्तराधिकारी को बन्न सक्छन् भन्नेबारे दशौं महाधिवेशनले प्रारम्भिक खाका भने तयार पार्ने देखिन्छ । महासचिव पदका लागि धेरै नेता आकांक्षी देखिएकाले पनि एमाले वृत्तमा भावी महासचिवबारे चासो र चर्चा बढ्न पुगेको हो । एमाले महासचिवको उम्मेदवारका रुपमा केही नेताले शंकर पोखरेलको नाम लिन थालेका छन् भने केहीले विष्णु पौडेल त केहीले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको चर्चा गरिरहेका छन् । मंसिर १० गते चितवनको नारायणी किनारमा उद्घाटन गरेर सौराहामा हुने बन्दसत्रपछि नेतृत्वका लागि निर्वाचन हुनेछ । दशौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीमध्येबाटै ११ औं महाधिवेशनको नेतृत्व लिने भएकाले पनि दशौं महाधिवेशनमा एमाले महासचिव को बन्ला भन्ने धेरैका लागि चासो हुन पुगेको हो । हुन त यसअघि आफूले कक्षा नदोहोर्याउने बताएका एमाले अध्यक्ष ओलीले पुनः एक कार्यकाल नेतृत्व सम्हाल्ने घोषणा गरे अनुसार तयारीसमेत गरिसकेका छन् । दशौं महाधिवेशनबाट अध्यक्षमा ओली दोहोरिने लगभग निश्चित भएपनि ११ औं महाधिवेशनबाट उनी बाहिरिने पनि निश्चित छ । उमेर हदकै कारण कतिपय दोस्रो पुस्ताका नेतामध्येबाट ११ औं महाधिवेशनलाई मध्यनजर गरेर अध्यक्षपछिको कार्यकारी पद अर्थात् महासचिव पद कसले पाउला भन्नेमा धेरैको चासो हुन थालेको एमाले नेता कार्यकर्ताहरु बताउँछन् । एमालेको पछिल्लो विधानमा राखिएको ७० वर्षे प्रावधानका कारण ११ औं महाधिवेशनबाट अध्यक्ष ओली र हालका महासचिव ईश्वर पोखरेल समेत बाहिरिने पक्का छ । ओली र पोखरेलसँगै नेता सुवास नेम्वाङ पनि यही विधान कायम रहे ११ औं महाधिवेशनमा प्रतिस्पर्धाबाट बाहिरिनेछन् । दशौं महाधिवेशनमा एमाले महासचिव पदका लागि नेताहरु घनश्याम भुसाल, शंकर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, पृथ्वी सुब्बा गुरुङ लगायतका नाम चर्चामा छन् । यसबाहेक हाल सचिव रहेका प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे पनि महासचिवमा आकांक्षा राख्नुपर्ने अवस्थामा छन् । ज्ञवाली, भट्टराई, विष्ट र पाण्डे ११ औं महाधिवेशनमा अध्यक्षको दावी गर्नकै लागि भए पनि यो पटक महासचिवमा दावेदारी गर्नुपर्ने अवस्थामा पुगेका हुन् । किनभने, कम्युनिस्ट पार्टीमा अध्यक्षपछिको महत्वपूर्ण र शक्तिशाली पद भनेकै महासचिव हो । सोही कारण अहिले महासचिव पदमा जो पुग्छ अपवादबाहेक ११ औं महाधिवेशनमा एमालेको अध्यक्ष उही हुनेछ भन्नेमा कुनै शंका छैन । त्यसैले पनि दशौं महाधिवेशनमा महासचिवका लागि धेरै नेता आकांक्षी बनेका हुन् ।

एमालेको दशौं महाधिवेशनमा महासचिवको उम्मेदवारको रुपमा चर्चामा आएका नेतामा पर्छन् हालका उपमहासचिव विष्णु पौडेल । एमालेको नवौं महाधिवेशनमा पौडेल ओली समूहबाटै उपमहासचिव पदमा निर्वाचित भएका हुन् । एक कार्यकाल उपमहासचिव भइसकेका शालीन स्वभावका पौडेल तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा एकतामा महत्त्वपूर्ण भूमिका खेल्नेमध्येका एक हुन् । सोही कारण उनले झण्डै तीन वर्ष दुई पार्टी मिलेर बनेको नेकपाको महासचिव पदको जिम्मेवारी समेत सम्हालिसकेका छन् । पौडेलको तुलनामा ओलीको विश्वासपात्र नेता शंकर पोखरेल भएकाले पनि उनलाई यस पटक महासचिव बन्न त्यति सहज भने देखिँदैन । पौडेलको महासचिव बन्ने चाहना पुरा हुन्छ या हुँदैन, त्यो हेर्न केही समय कुर्नुको विकल्प छैन ।
त्यसबेला नेकपाका नेताहरु प्रचण्ड, ओली र माधव नेपाललगायतका नेताहरुले समेत पौडेललाई एकीकृत पार्टीको महासचिव स्वीकार गर्न तयार भएका थिए । तर, पछि सर्वोच्चको आदेशसँगै नेकपा विघटन भएपछि पौडेल पुनः एमालेको उपमहासचिव पदमै सीमित हुन पुगे । पार्टी एकतामा लगाएको गुन र महासचिव हुँदा खेलेको भूमिकाकै कारण ओलीले पौडेललाई आफ्नो नेतृत्वको सरकारमा अर्थमन्त्रीसमेत बनाए । तर पौडेल बालुवाटार जग्गा प्रकरणमा मुछिएर केही बद्नाम पनि भए । यद्यपि उनले उक्त जग्गा फिर्ता गरेपछि आममाफी समेत पाए र अर्थमन्त्रीमा दोहोरिने सौभाग्य पाए ।

गत ०७४ सालको निर्वाचनमा दाङबाट प्रदेश सदस्यमा निर्वाचित पोखरेललाई मुख्यमन्त्री बनाउन ओली र राष्ट्रपति भण्डारीकै जोडबल थियो भन्नेहरु पनि धेरै छन् । पछि नेकपामा नेताहरुबीच विवाद बढ्दा समेत ओलीलाई साथ दिन पोखरेल कुदेर काठमाडौ आइपुग्थे । त्यसक्रममा कतिपय एमाले नेताले पोखरेललाई मुख्यमन्त्रीबाट राजीनामा दिएर केन्द्रीय राजनीतिमा आउन सुझाव समेत दिने गरेका थिए ।नवौ महाधिवेशनमा उपमहासचिव पदमा पराजय भोगेका शंकर पोखरेल अध्यक्ष केपी ओलीले मन पराउने नेतामध्ये सबैभन्दा नजिकका भनेर चिनिन्छन् । पोखरेललाई एमालेभित्र जनताको बहुदलीय जनवाद (जवज) को कुशल व्याख्याता भनेर धेरै नेता कार्यकर्ताले चिन्छन् । त्यतिमात्रै होइन, पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ र समर्थन रहने गरेको एमालेभित्रका धेरै नेता कार्यकर्तामा ‘ओपन सिक्रेट’ बनेको छ । यसअघि विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पढ्ने क्रममा ओलीलाई स्वास्थ्यमा केही अप्ठेरो पर्दा ओलीले उनै पोखरेललाई पढ्न लगाएबाट पनि पोखरेललाई ओलीले आफ्नो उत्तराधिकारी बनाउन चाहेका हुन् भनेर धेरैले अनुमान लगाएका थिए । पछिल्लो समयमा पार्टी जीवनमा देखा पर्ने हर समस्याको समाधानका लागि ओलीलाई साथ र सहयोग गर्दै आएका पोखरेलका प्रतिद्वन्द्वीका रुपमा नेता विष्णु पौडेल आउने हुँदा उनलाई महासचिव बन्न त्यति सहज भने देखिँदैन । पूर्वमाओवादीप्रति खरो आलोचक मानिने पोखरेललाई एमालेभित्रै समाहित पूर्वमाओवादीको एक समूह पनि चुनौतीका रुपमा उभिने देखिन्छ । त्यतिमात्र नभई पृथ्वी सुब्बा गुरुङले पनि पोखरेल र आफू पार्टी संगठन, जिम्मेवारी र भूमिकाका दृष्टिले समान हैसियतमा रहेको बताउँदै उनीसँग प्रतिस्पर्धाका लागि कम्मर कसेको एमाले कार्यकर्ताहरूको भनाइ छ । पौडेलमात्रै होइन, एमालेभित्र विगतमा माधव नेपाल समूहमा रहेर संघर्ष गरेका तर पार्टी विभाजनमा एमालेमै बसेका एमाले नेता कार्यकर्ताले पनि पोखरेललाई सहजै मन नपराउने चर्चा एमालेभित्रै हुने गरेको छ ।

अघिल्लो महाधिवेशनमै महासचिवमा प्रतिस्पर्धा गरिसकेका पाण्डे वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र अध्यक्षका दावेदार मानिन्छन् तर अध्यक्षमा ओली, वरिष्ठ उपाध्यमा ईश्वर पोखरेलले स्थान प्याक गरिसकेकाले उनलाई यस पटक पनि महासचिवकै दाबीमा कायम रहनुपर्ने बाध्यता छ । लामो समय माधव नेपाल समूहमा रहेर राजनीति गर्दै आएका र चितवनलाई राजनीतिक बेस बनाएका सुरेन्द्र पाण्डेले भदौ २ मा माधव नेपालले पार्टी फुटाएर अलग पार्टी गठन गर्दा एमाले नै रोज्न पुगे । नवौं महाधिवेशनमा माधव नेपालको समूहबाट महासचिवमा प्रतिस्पर्धा गरेपनि ईश्वर पोखरेलसँग पराजित हुन पुगेका पाण्डे यो पटक पनि एमालेको महासचिवका आकांक्षी हुन् । विगतमा अर्थमन्त्रीको समेत जिम्मेवारी पूरा गरेका पाण्डेले महासचिवमा आकांक्षा देखाए पनि ओलीले कति रुचाउँछन् भन्नेमा नै उनको सफलता निर्भर हुन्छ । ओली निकटकै पोखरेल र पौडेलले समेत महासचिव पदमा आकांक्षा देखाइरहँदा दुवैको झगडा भए त्यसको लाभ पाण्डेले उठाउन सक्ने सम्भावनासमेत नभएको होइन । कतिपयले पाण्डेले यसपटक महासचिव पदमा दावी गरेर आगामी ११ औं महाधिवेशनमा अध्यक्षको सिट सुरक्षित गर्न खोजेको समेत भनेर टिप्पणी गर्न थालेका छन् । पार्टी विभाजनमा समेत एमालेमै रहेको र माधव नेपाललाई साथ नदिएकाले पाण्डेप्रति ओलीको थोरै सहानुभूति रहेको बताइन्छ । यस पटक महासचिव नभए पाण्डेले त्योभन्दा माथिल्लो पदमा समेत मौका नपाउने हुँदा उनका लागि महासचिव पद अनिवार्य जस्तै भएको छ ।

एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका नेता प्रदीप ज्ञवालीको चाहना अब उपमहासचिव या महासचिव बन्ने नै हो । तर, उनले यही पदमा उठ्ने भनेर घोषणा गरिसकेका छैनन् । शान्त र मिजासिलो स्वभावका भनेर चिनिने ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मध्येका भनेरै चिनिन्छन् । ज्ञवालीलाई ओलीले विश्वास गरेरै आफूले दोस्रो पटक सरकारको नेतृत्व गर्दा परराष्ट्रजस्तो महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने जिम्मेवारी दिएका थिए । त्यतिमात्रै होइन, आफू अध्यक्षमा निर्वाचित भएपछि ओलीले नेता ज्ञवालीलाई पार्टी प्रवक्ताको भूमिकामा ल्याए । एमाले र माओवादी मिलेर नेकपा बनेको समयमा ज्ञवालीको प्रवक्ताको भूमिका खोसिए पनि नेकपा विभाजनसँगै उनी फेरि एमाले प्रवक्तामा फर्किए । दशौं महाधिवेशनमा भने ओलीले ज्ञवालीलाई कुन पदमा व्यवस्थापन गर्छन् भन्ने विषयले नै उनको राजनीतिक भविष्य निर्धारण हुने एमाले बृत्तमा चर्चा छ । यद्यपि कतिपयले ज्ञवालीले पुन सचिव पदमै वा एक स्टेप बढुवा भएर उपमहासचिवको जिम्मेवारी पाउने सम्भावना रहेको बताउने गरेका छन् । जबकि १० बुँदे सहमति अनुसार भीम रावल र अष्टलक्ष्मी शाक्यको प्रदेश इन्चार्ज पद खोसिँदा ज्ञवालीलाई भने ओलीले सोही जिम्मेवारी दिएर सदासयता देखाए ।

विगतको निर्वाचनमा ताप्लेजुङ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भट्टराईमाथि अध्यक्ष ओलीले थोरै भए पनि सहानुभूति राख्ने गरेको प्रष्ट देखिएको छ । किनभने, अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनको सवालमा भट्टराईलाई जेठ २ कै अवस्थामा प्रचार विभाग प्रमुखको जिम्मेवारी दिन कुनै हिचकिचाहट गरेनन् । प्रतिनिधिसभा विघटनपछि माधव नेपाललाई खुलेर साथ दिएका भट्टराई अन्ततः माधव नेपालले पार्टी फुटाउँदा भने एमालेमै रहेर ओलीलाई साथ दिन पुग्ने सीमित नेतामध्येमा पर्छन् । विद्यार्थी राजनीतिबाट उदाएका योगेश भट्टराई नवौं महाधिवेशनमा माधव नेपाल समूहबाट एमालेको सचिव पदमा निर्वाचित भएका हुन् । युवा–विद्यार्थीमाझ एमालेको भावी नेतृत्व गर्ने नेताका रुपमा हेरिएका भट्टराई अबको महाधिवेशनमा उपमहासचिव वा महासचिवको दाबेदारका रुपमा अघि बढ्न सक्छन् । यी पदमा प्रतिस्पर्धा गर्न भट्टराईलाई स्वतन्त्रता भए पनि पार्टीभित्रको समीकरणले उनलाई त्यो अवसर मिल्छ वा मिल्दैन, त्यो भने भविष्यले नै दिशानिर्देश गर्नेछ । अप्ठेरो अवस्थामा भट्टराईले आफूलाई सहयोग गरेकाले पनि ओलीको दृष्टिकोण भट्टराईप्रति सकारात्मक रहेको बताइन्छ । जानकारहरुका अनुसार पछिल्लो समय भटट्राईले दशौैं महाधिवेशनमा पदाधिकारीको एक थान पद सुरक्षित गर्न र ओलीलाई खुसी पार्न विगतमा सहकार्य गरेका माधव नेपाल र प्रचण्डप्रति कटाक्षपुर्ण अभिव्यक्ति दिने गरेका छन् ।

नेता गोकर्ण विष्ट पनि एमालेको नवौं महाधिवेशनमा माधव नेपाल समूहबाटै सचिव पदमा निर्वाचित भएका हुन् । उनी पनि योगेशसँगै माधव नेपालले फरक पार्टी बनाउँदा एमाले नै रोज्न पुगेका नेता हुन् । १० बुँदे पक्षधर नेता मानिने विष्ट पनि उपमहासचिव वा महासचिवका दाबेदारमध्येमा पर्छन् । तर, विष्टका लागि पनि पार्टीमा बढुवा हुने उचित स्थान भने पहिचान भइसकेको छैन । यद्यपि ११ औ महाधिवेशनमा समेत पदाधिकारीमा लड्न पाउने सुविधा विष्टले पाउने छन् । प्रायः कम बोल्न रुचाउने विष्ट पनि ओलीको छत्रछायाबाटै पदोन्नति हुन चाहान्छन् ।

अध्यक्ष ओलीसँग फरक मत राख्ने भुसाल विगतमा पनि माधव नेपाल निकट भनेर चिनिएका हुन् । एमाले विभाजन हुन नदिने भन्दै १० बुँदे सहमति गर्ने मध्येका एक भुसाल अन्ततः माधव नेपाललाई छोडेर एमालेमै बस्ने १० नेता मध्येमा पर्छन् । उनी ओलीसँग अन्तरसंघर्ष गरेरै भएपनि पार्टीलाई सुधार गर्नुपर्छ भन्ने नेता हुन् । तर उनको अन्तरसंघर्षले ओली र एमाले कति सुधारिन्छ ? या आफै सुधारिन्छन् त्यो भने आगामी दिनले नै बताउनेछ । घनश्याम भुसाल नेकपा एमालेभित्र वैचारिक नेताका रुपमा परिचित छन् । हाल एमालेको उपमहासचिव रहेका भुसाल दशौं महाधिवेशनमा स्वतः महासचिवका दावेदार हुन् । तर, एमालेभित्रको राजनीतिक समीकरणमा भुसालले महासचिव पद पाउने सम्भावना निकै कमजोर छ । माधव नेपालले पार्टी विभाजन गर्दा एमालेमै बसे पनि भुसालप्रति ओलीको हेर्ने दृष्टिकोण त्यति धेरै सकारात्मक नभएकाले उनले यो महाधिवेशनमा चाहेको पद पाउने सम्भावना अत्यन्त कम रहेको एमाले वृत्तमा चर्चा छ । त्यही बुझेर पनि भुसाल यो पटक अध्यक्षमै ओलीसँग प्रतिस्पर्धा गर्ने सोचमा छन् । यद्यपि उनले आफू अध्यक्षमा प्रतिस्पर्धा गर्ने भनेर सार्वजनिक गरिसकेका छैनन् । भुसाल निकट नेताहरुका अनुसार सहमतिमै पदाधिकारी छनोट गरिए र महासचिव वा उपाध्यक्ष दिए अध्यक्षको उम्मेद्वारीबाट पछि हट्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

Like