नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय र उपाध्यक्षमा सुनिल केसी निर्वाचित
रासंसा/काठमाण्डौ, कार्तिक २४,
मुलुकमा नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सर्वसहमतीको आधारमा चयन भएका छन् । मंगलबार राजधानीमा सम्पन्न साधारण सभाले उपाध्याएको अध्यक्षतामा संघको नयाँ नेतृत्व चयन गरेको हो । संघका निवर्तमान अध्यक्ष भुवनकुमार दाहालको दुईवर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षकालागि संघका अध्यक्ष उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । यसैगरी, संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । सो कार्यक्रममा नेपाल राष्ट्र बैंैकका गभर्नर महाप्रसाद अधिकारीले केही बैंकहरू एग्रेसिभ हुँदा बैंकिङ प्रणालीमा समस्या आएको बताए । गभर्नर अधिकारीले चालू आवको सुरुमै निजी क्षेत्रमा गएको कर्जाका कारण तरलतामा चाप परेको बताए । ‘चालू आवको सुरुमै ३२ प्रतिशत क्रेडिट चाप बढेको थियो र बैंकहरूले घाँटी हेरेर हाड ननिलेका कारण समस्या आएको हो,’ उनले भने । त्यसैगरी, संघको सदस्यमा मेगा बैंककी सीईओ अनुपमा खुन्जेली, नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी, लक्ष्मी बैंकका सीईओ अजयविक्रम शाह, सनराइज बैंकका सीईओ सुमन शर्मा, नेपाल एसबीआई बैंकका सीईओ दीपककुमार देव, माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र एनआईसी एसिया बैंकका सीईओ रोशनकुमार न्यौपाने चयन भएका छन् । यस्तै, संघका पूर्वअध्यक्षहरू ज्ञानेन्द्रप्रसाद ढुंगाना, अनिशकेशरी शाह, अशोकशमशेर राणा सल्लाहकारमा रहेका छन् । यसैगरी, उनले यस समयमा रेमिट्यान्स नबढेको र पुँजीगत खर्च पनि कम भएकाले तरलतामा चाप परेको बताए । उनले ब्याजदर समयअनुकूल बनाएर वित्तीय अवस्था स्वस्थ बनाउनसमेत बैंकहरूलाई आग्रह गरे । प्रतिस्पर्धाबाट मूल्य तय हुनुपर्ने त्यसको लाभ सबै ग्राहकले पाउनुपर्ने उनको भनाइ थियो । बैंकको भूमिका सहजकर्ताको हुनुपर्ने र अस्वस्थ प्रतिस्पर्धा नगर्न समेत उनले आग्रह गरे । उनले तत्कालै नाफा नखोज्ने, नियममा लुपहोल नखोज्न र दीर्घकालीन सोच राखेर काम गर्न सुझाव दिए । उनले तरलता अलिकति अभाव हुँदा नआत्तिनसमेत आग्रह गरे । गभर्नर अधिकारिले बैंकिङ क्षेत्रको वृद्धिदर आर्थिक क्षेत्रको वृद्धिदरसँग मेल खानु आवश्यक भएको समेत जानकारी गराए । नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष भुवन दाहालले यसबिच ठूलो समस्याका बाबजुद व्यवसायीले ब्याजदरमा रहेको स्प्रेडको कारण लाभ लिन सकेको बताए । उनले बैंकरहरूलाई कानुनले तर्साएकोले सो वातावरण अन्त्य हुनुपर्ने बताए । बैंकिङ कसुरसम्बन्धी कानुनका कारण बैंकरहरू त्रसित भएको बताउँदै दाहालले भने, ‘मौद्रिक नीतिमार्फत त्यसमा संशोधन हुनेमा बैंकरहरू आशावादी रहेका छन् ।’