हाम्रा चाड पर्वहरु राष्ट्रिय पहिचानका धरोहरहरु हुन्

त्यसमाथि विश्वास गर्नु नगर्नु व्यक्तिको धार्मिक स्वतन्त्रताको कुरा हो ।बडादसैसित बलिप्रथा जस्तो नकारात्मक परम्परा पनि जोडिएको छ । पशुबलि दिएपछि देउता खुसी हुने कुप्रथालाई हटाउने र चाडबाडहरूमा समयसापेक्ष सुधार ल्याउने कदमहरू चाल्नु समाजकै जिम्मेवारी हो । तर, यस्तै र अन्य विभिन्न कारणहरू देखाएर बडादसैँ वा अरू कुनै पनि पर्वको महत्त्वउपर प्रश्न खडा गर्नु गैरजरुरी मात्र होइन हास्यास्पद पनि हुन जान्छ । चाहे त्यो नास्तिकतावादी कोणबाट होस् वा अन्धजातिवादी कोणबाट नै । यसले मुलुकको एकता बलियो हुन सक्तैन । कुनै व्यक्ति वा समुदायलाई कुनै चाडपर्व मान्न वा नमान्न छुट हुन्छ । तर, कसैको धार्मिक–सांस्कृतिक आस्थाको अवमूल्यन गर्ने वा त्यसमाथि प्रहार गर्ने छुट भने कसैलाई पनि हुनुहुँदैन । समाजशास्त्रीय कोणबाट यसमा बहस हुन सक्छ कि बडादसैँलाई प्रवर्धन गर्नुमा कुन शासकहरूको के अभिप्राय थियो । शायद यो तुलना यहाँनेर कसैलाई अमिल्दो लाग्ला तर यो पनि हेक्का हुनु पर्दछ कि हामीले प्रयोग गर्ने मोबाइलदेखि लत्ता कपडासम्म, पिउने चियादेखि रक्सीसम्म, औषधिदेखि चढ्ने मोटर गाडीसम्म सबै लादिएकै त हुन । मोबाइल बहुराष्ट्रिय कम्पनीहरूले लादे । चिया खाने चलन अङ्ग्रेजका पालादेखि सुरु भयो । घरेलु मदिरामाथि अङ्ग्रेजी मदिरा लादियो । व्यापार र मुनाफाका लागि मोटरहरू लादिए । आयुर्वेदिक पद्धतिमाथि एलोपेथिक पद्धति लादियो आदि इत्यादि । तसर्थ हिन्दु शासकहरूले चाडपर्वहरू सिङ्गो समाजमाथि लादेका कारणले गर्दा यसलाई बहिष्कार गर्नु पर्दछ भन्ने जुन तर्क हो त्यो व्यवहारिक छैन । यसलाई राजनीतिक कोणबाट यसरी पनि बुझ्न सकिन्छ कि इतिहास, धर्म, संस्कृति आदि सबै विजेताहरूकै हुन्छन् ।
ऐतिहासिक कालका किरात, लिच्छवी वा मल्ल शासकहरूले आजसम्म पनि निरन्तरता पाएको भएदेखि दसैँ यो स्वरूपमा सम्भवतः आउने थिएन । चाड पर्वहरुबिना मानव जीवन र मानव सभ्यताको कल्पना गर्न सकिन्न । पर्वहरूबिनाको मानवसमाज यान्त्रिक र शुष्क हुन्छ । पर्वहरूले मानवजातिभित्र सामूहिकता र सामाजिकताको सञ्चार गर्दछन् । व्यक्ति, समूह र समुदायभित्र निकटता, आत्मीयता, अन्तरघुलन र एकता निर्माण गर्न पर्वहरूको अत्यन्त ठुलो भूमिका रहेको हुन्छ । एउटा राष्ट्रका लागि त्यसको भुगोल, भौगोलिक सम्पदा र जनसम्पदा जति महत्त्वपूर्ण हुन्छ त्यति नै महत्त्वपूर्ण सांस्कृतिक सम्पदा पनि हुन्छ । चाडपर्वहरू यसै सांस्कृतिक सम्पदाभित्र पर्दछन् । हरेक चाडपर्वहरू मानव सभ्यताको एउटा युग विशेषका उपज हुन् । नेपाल भौतिक विकासका हिसाबले पछि भए पनि सांस्कृतिक हिसाबले विश्वकै सम्पन्नतम मुलुक हो । चाडपर्वहरूले व्यक्ति परिवार र समाजको जीवनमा उत्साह र उमङ्गको सञ्चार गर्दछन् जो खुसीयाली र सुख सन्तुष्टिको एउटा महत्त्वपूर्ण आधार हो ।
मुलुकको जातीय, सांस्कृतिक र धार्मिक विविधताबीच बडादसैँले एउटा जबरजस्त राष्ट्रिय एकता निर्माण गरेको छ । दसैँ मान्यजनबाट टिका आशीर्वाद थाप्ने तथा परिवार, आफन्तजन र साथीभाइ जुटेर रमाइलो गर्ने पर्वका रूपमा नेपालभरिनै स्थापित भएको छ । यो दसैँको सबैभन्दा सबल पक्ष हो । दशैलाई हिन्दु शासकहरूले प्रवर्धन गरे भन्ने गुनासो र विरोध गर्नु भन्दा बरु यो उल्लासको पर्वलाई विभिन्न प्रकारका अन्धविश्वास र कुरीतिहरूबाट मुक्त गर्दै समयसापेक्ष कम खर्चिलो कम भड्किलो कसरी बनाउने भन्नेतिर बहस गर्नु उचित हुने देखिन्छ । यसका साथै दशैको विरोध र बहिष्कार होइन अरू पर्वहरूले पनि दसैँ सरह राष्ट्रिय मान्यता पाउनु पर्दछ भन्नेतिर बहस चलाउनु र दबाब सृजन गर्नु नै उपयुक्त विधि हो । सबैजसो चाडबाडहरू धार्मिक जगमा उभिएका हुन्छन् वा कुनै सामाजिक मिथकमा आधारित हुन्छन् । सामाजिक मिथकमा आधारित पर्वहरूले पनि प्रकारान्तरमा गएर धार्मिक स्वरूप ग्रहण गर्दछन् । राज्यले सबै जातजाति र धर्म संस्कृतिलाई प्रोत्साहन गर्नु पर्दछ । बडादशैजस्तै ल्होसार, माघी, ईद आदि पर्वहरूलाई पनि राज्यले प्रोत्साहन गर्नु पर्दछ । नेपालमा बोलिने सबै भाषाहरू राष्ट्रिय भाषा भए जस्तै मनाइने सबै चाडबाडहरू पनि राष्ट्रिय चाड हुन् ।
कार्ल मार्क्सले धर्मलाई “उत्पीडितहरूको विलाप, हृदयहीन समाजको हृदय र जनताका लागि अफिम” ठहर गरेका छन् । धर्ममा उत्पीडितहरूले काल्पनिक सुखको खोजी गर्दछन् भन्ने कुरा नै धर्म सम्बन्धी मार्क्सको भनाइको सार हो । तर, मार्क्सको यो भनाइलाई मार्क्सवाद समर्थक र मार्क्सवाद विरोधी दुवैले धर्मको विरोधको रूपमा लिने गरेको पाइन्छ । “धर्म जनताको लागि अफिम हो” भन्ने मार्क्सको अधुरो कोटेसन पढेर हुर्किएको एउटा सिङ्गो पुस्ता मुलुकमा छ । जसको परिणाम यो भएको छ कि दशैलाई लिएर एउटा विचित्रको विरोधाभास “क्रान्तिकारी” कम्युनिस्टहरूमा रहेको छ ।
त्यसै गरी सानो उमेरकाले ठुलो उमेरका स्वजनहरूलाई सम्मान गर्दै टिका ग्रहण गर्नु भनेको ठुलाको अनुभव र ज्ञानको पनि प्रतीकात्मक रूपमा सम्मान गर्नु हो । वर्तमान समयसम्म आइपुग्दा सूचना सञ्चारमा जति नै विकास भए पनि, जे जस्ता विशेषता भएका स्मार्टफोन आए पनि टेलिफोनका आविष्कारकर्ता अलेक्जेन्डर ग्राहम बेल (१८४७ जन्म) लाई बिर्सन नसकिए जस्तै पुरानो पुस्ताको अनुभव,ज्ञान र सीपको नयाँ पुस्तालाई अनवरत हस्तान्तरणबाट नै मानव जातिको यात्रा, विकास र प्रगति सम्भव छ । पुरानोलाई भत्काउँदै नयाँ समाजवादी संस्कृतिको जग बसाल्नु पर्दछ भन्ने बहस यो कित्तामा चल्न थालेको पनि सात दशक भैसकेको छ । यो अवधिमा न त कथित प्रतिक्रियावादी संस्कृति कमजोर बनेको छ न त भन्ने गरिएको नयाँ संस्कृतिको जग नै बस्न सकेको छ । बरु त्यसको उल्टो भएको छ । ५० प्रतिशत भन्दा बढी वाम जनमत भएको मुलुकमा दसैँ तिहार तिज लोसार जस्ता चाडबाडहरूले झनै सामाजिक मान्यता पाउँदै आएका छन् । झनै उत्साह र उल्लासमय वातावरणमा ती चाडबाडहरू मनाइने गरेका छन् । तर “क्रान्तिकारीहरू” भने मान्यजनहरूबाट टिका जमरा लगायो वा आफ्ना भाइ सन्ततिलाई टिका जमरा लगाएर दसैँ मनाइयो भने बिटुलो भइन्छ भनेर आफू क्रान्तिकारी सिद्धान्तमा अडिग रहेको आत्मरति लिएको पाइन्छ । टिका, जमरा कृषि उत्पादन हो जसमा किसानको पसिना खर्च भएको छ जसबाट प्राप्त हुने जीवनदायी अन्न नै मानव सृष्टि र विकासको आधार हो । त्यसैले जमरा र चामलको अक्षतालाई कृषि, श्रम र मानव जीवनको अविभाज्य सम्बन्ध दर्साउने प्रतीकहरूका रूपमा लिने कुरामा केही पनि अवस्तुवादी छैन ।
नेपालका कम्युनिस्टहरूको अहिलेको पुस्ता यस अर्थमा भाग्यमानी छ कि उनीहरूलाई मार्क्सवाद ग्रहण गर्नका लागि नेपालजस्तो साम्यवादी विचारलाई सहजरुपमा ग्रहण गर्ने अग्रजहरूको समेत साथ सहयोग प्राप्त रहँदै आयो । किनकि हाम्रा बाउबाजेहरु मलाया वा इन्डोनेसियातिरका मुस्लिम जस्तै वा इजरायलतिरका यहुदीजस्तै कट्टर कम्युनिस्ट विरोधी थिएनन् । हामीले जनै चुँडाल्दा पनि हाम्रा बाबुबाजेले हाम्रो बहिष्कार गरेनन् । नेपालको हाम्रो पूर्ववर्ती पुस्ता (र वर्तमान पनि) उदार हिन्दु वा उदार बौद्धमार्गी, प्रकृति पूजक वा उदार मुस्लिम थिए । त्यस अर्थमा पनि आफूलाई क्रान्तिकारीका रूपमा बुझ्ने कम्युनिस्टहरुका लागि समेत दसैँ आफ्ना बाबुआमाप्रति, अग्रजहरुपति धन्यवाद ज्ञापन गर्ने एउटा उत्तम अवसर हो ।
यस अर्थमा दसैँको टिका थाप्ने वा प्रदान गर्ने विषयमा मार्क्सवाद मान्नेले आपत्ति जनाउनु पर्ने कुनै कारण देखिन्न । बरु दसैँ नमनाउँदा सामाजिक अलगावमा पर्ने र परोक्ष रूपमा इसाई वा इस्लाम धर्मको प्रभावमा परेर कम्युनिस्टहरूले दसैँ नमनाएको अवाञ्छित सन्देश समाजमा प्रवाह हुने गरेको छ । यहाँ यो भ्रम कसैले नपालौँ कि कम्युनिस्टहरूले इस्लाम वा ईसाई धर्मलाई प्रवर्धन गर्न हिन्दु धर्ममा आधारित दसैँ नमानेका होइनन् । कम्युनिस्टहरू धर्म विरोधी होइनन् । त्यसैले चाड पर्व र संस्कृतिहरूका वैज्ञानिक र अहानिकारक पक्षहरूको प्रवर्धन गर्ने र अन्धविश्वास र कुरीति पक्षहरूलाई हटाउनका लागि प्रयास गर्ने नीति नै सही नीति हो । त्यसैले हामि नेपालीहरु भाइचाराको नाताले पनि हामि एक अर्कामा परिपुरक र मान्यान्य छौं । हाम्रा चाड पर्व नै मुलुकका पहिचान हुन् र यिनलाई संरक्षण र सम्बर्द्दन गर्नु हामि सबैको दायित्व हो । जयराष्ट्र ।
(लेखक पशुपति अन्नपुर्णा आश्रम, रिटायर्ड क्लब नेपाल, सेभ द नेशन मिडियाका केन्द्रीय अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ)