धेरै खसी बोका उत्पादन’ स्वदेशमै माग
रासंसा, काठमाडौं , अाश्विन २७,
मुलुकमा दसैंका लागि आवश्यक पर्ने खसीबोकाको आन्तरिक उत्पादन नै मागभन्दा बढी भएको सरकारको दाबी छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले काठमाडौं उपत्यमा दसैंका लागि माग हुनेभन्दा बढी खसीबोका स्वदेशकै उत्पादन भएको दाबी गरेको छ ।
कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले पछिल्लो समय पशु सेवा विभागले गरेको सर्वेक्षणले काठमाडौं उपत्यकामा खसीबोकाको माग ६० हजार रहेकोमा दसैं लक्षित स्वदेशी उत्पादन नै ७५ हजारभन्दा बढी रहेको जानकारी दिए । उनले स्वदेशी उत्पादन पर्याप्त हुँदा भन्सार नाकाबाट औपचारिक रूपमा १६ हजार मात्र खसीबोका मात्र आएको बताए ।
उनले बाख्रापालक व्यवसायी र हिफार इन्टरनेसनल संस्थाले चाडपर्वलाई लक्षित गरेर उत्पादन गरेको खसीबोकाको तथ्यांक हेर्दा काठमाडौं उपत्यकाको मागभन्दा बढी नै रहेको बताए । आन्तरिक मागभन्दा बढी स्वदेशी उत्पादन नै भए पनि व्यापारीहरूले मापदण्ड पूरा गरेर भारतबाट पनि खसीबोका आयात गरेको तर त्यसमा आफूहरूले रोक लगाउन नसक्ने प्रवक्ता सन्जेलको भनाइ छ ।
उनले खसीबोका आयात गर्दा स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्र भने अनिवार्य गरिएको बताए । पछिल्लो दुई साता अन्तरालमा भन्सार नाकाबाट स्वास्थ्य परीक्षण गरेर ल्याएका जम्मा १६ हजार मात्र खसीबोका व्यापारीले ल्याएको उनले दाबी गरे । तर, भन्सार छली चोरी पैठारी गरेर ल्याएको भए त्यसको मन्त्रालयसँग कुनै तथ्यांक नभएको उनको भनाइ थियो ।
पशुसेवा विभागका प्रवक्ता चन्द्र ढकालका अनुसार दसैंमा काठमाडौं उपत्यकामा ५० हजारदेखि ६० हजारको खसीबोका माग छ । सो माग आपूर्ति गर्न कृषक समूह सहकारीले दसैं लक्षित ५१ हजार खसीबोका र बाख्रापालक व्यवसायीले ६० हजार खसीबोका उत्पादन गरेका छन् । त्यसकारण दसंैमा काठमाडौं उपत्यकाको मागभन्दा बढी स्वदेशी उत्पादन नै पर्याप्त भएको ढकालको भनाइ छ । उनले पछिल्लो तीन महिनामा भन्सारबाट १० देखि १२ हजार मात्र खसीबोका आयात भएको दाबी गरे ।
उनले आन्तरिक तथा आयातीत दुवै खसीबोका एक ठाउँबाट अर्काे ठाउँमा लिन अनिवार्य स्वास्थ्य परीक्षणका गरेको प्रमाणपत्र चाहिने बताए । रोग लागेका बिरामी खसीबोका छ भने पशुसेवा विभागका प्राविधिले चेकजाँच गरी रातो चिह्न लगाउने गरेको उनले बताए ।
उनका अनुसार स्वस्थ खसीबोकामा हरियो रंग लगाइन्छ । निरोगी तर कम स्वस्थमा पहेंलो र बिरामी खसीबोकामा रातो रंग लगाउने गरिएको छ । विभागले हरियो रंग लगाएको खसीबोका किनेर खानसमेत आग्रह गरेको छ ।