कान्छी गुरुङको तीन पुस्ता राम मन्दिरको सेवामा बित्याे

Share to:

रासंसा, काठमाण्डाैं, अाश्विन २७,

जङ्गबहादुरका जेठान सनकसिंह टण्डनले विसं १९२८ मा स्थापना गरेको यस मन्दिरमा पहिले कान्छीकी सासूआमा सेविकाका रूपमा कार्यरत थिइन् । ‘कहिलेकाहीँ गोठालाहरू आउँथे । मन्दिरको संरचना पुरानो थियो, रेखदेख गर्ने हामी मात्रै थियौँ । गोबरले मन्दिर पोत्ने गरेका थियौँ,’ ईश्वरीले बाल्यकाल सम्झिइन्, ‘सडक विभागअन्तर्गत हेटौँडाको हेभी इक्विपमेन्ट शाखामा काम गर्ने भएकाले बुबा प्रायः बाहिरै बस्नुहुन्थ्यो । मन्दिरसँग जोडिएको एउटा सानो छाप्रोमा दिदी–बहिनी, आमा र हजुरआमा बस्थ्यौँ ।

चोर आउँदा हामी घण्टी बजाउँथ्यौँ र गुठियारहरू तलबाट दौडँदै आउँथे ।’२०७२ सालको भुँइचालोले कान्छी गुरुङको सातो लियो, जसकारण अहिले पनि हात काँप्छन् । खुलेर बोल्न अप्ठ्यारो छ । तर, यसका बाबजुद मन्दिरको सेवामा उनले आफ्ना औँलाहरू नियमित खियाइरहेकी छिन् । ‘यहाँ बस्न थालेको ६० वर्ष भयो, पहिले मन्दिरबाहिर जंगलै जंगल थियो, स्याल कराउँथे,’ बत्तिसपुतलीस्थित राम मन्दिर प्राङ्गणमा भेटिएकी ७७ वर्षीया गुरुङले  भनिन् ।

यही मन्दिर परिसरमा कान्छीले आफ्ना ६ जना छोरीलाई जन्माइन्, हुर्काइन् र अन्माइन् । अहिले यो मन्दिर क्रंक्रिटका घरहरूले घेरिएको छ । स्याल होइन, आजकल मोटरगाडीको हर्न कराएको आवाज सुनिन्छ । समय फेरिएर ज्येष्ठ नागरिक बनिसके पनि कान्छीभित्रको आस्था र भक्ति जस्ताको त्यस्तै छ । ‘बहिनीहरू विवाहपछि आफ्नो घर गए । आमालाई हेर्नुपर्ने भएकाले म र मेरा श्रीमान् यही बस्यौँ,’ कान्छीकी जेठी छोरी ईश्वरी गुरुङ उप्रेतीले भनिन्, ‘अहिले पनि उहाँले सबै काम आफैँ गर्नुहुन्छ । भगवानको सेवामा लगाव उस्तै छ ।’

एक दिन हजुरआमा दमले बितिन् । त्यसको ६ महिनापछि बाबु पनि दमले बिते । ईश्वरीका बहिनीहरू सानै थिए । ‘आफ्नो सहारा गुमाउँदा हामीले अत्यधिक पीडा महसुस ग–यौँ । तर, भगवानको आशीर्वादले हुनुपर्छ, अहिले सबै दिदीबहिनीको जीवन राम्रो र सन्तोषजनक छ ।’

२०४५ सालको भूकम्पले मन्दिर र ईश्वरीहरू बस्ने सानो छाप्रोमा क्षति पु–यायो । यसपछि डाक्टर गोविन्द टण्डनको पहलमा मन्दिरसँगै जोडिएको अर्को जग्गा गुठीले उपलब्ध गरायो । त्यही जग्गामा ईश्वरीले ०४९ मा नयाँ घर बनाइन् र सरिन् । अहिले यही घरमा उनले चमेनागृह समेत सञ्चालन गरिरहेकी छिन् । कुनै समय जीर्ण अवस्थामा पुगिसकेको राम मन्दिरले पुनर्निर्माणपछि अहिलेको स्वरूप पाएको पुजारी हरिप्रसाद अधिकारीले रातोपाटीलाई बताए । २०५० सालदेखि अधिकारी पनि मन्दिरको सेवामा छन् ।पहिले ईश्वरीको परिवार जहाँ बस्ने गरेको थियो, त्यस ठाउँमा अहिले अधिकारी श्रीमतीसहित बस्छन् । पछिल्लो समय मन्दिरमा सहयोगी कर्मचारीहरू पनि थपिएका छन् । ‘यहाँ आएपछिका केही महिना मन्दिर नजिकै टिनले बारेको एउटा सानो कोठामा बसेँ । बिस्तारै गोविन्द टण्डन सरको अगुवाइमा मन्दिर पुनर्निर्माणले गति लियो । दाताहरूले पनि सहयोग गरे । र, अहिले यस्तो स्वरूप बन्यो,’ अधिकारीले भने, ‘पहिले मेरा छोराछोरी पनि यहीँ बस्थेँ । अहिले छोरीहरू विवाह भएर आफ्नो घर गए, छोराहरू चाबहिलमा छन् ।’

उनका अनुसार दसैँको घटस्थापनाको दिन आसपासको क्षेत्रका झन्डै डेढ सय मानिसहरूले यहाँ ल्याएर जमरा राख्छन् । ‘अघिल्लो वर्ष कोरोनाका कारण केही कम मानिसहरू आउनुभयो । यहाँ दसैँभन्दा पनि रामनवमीमा विशेष उत्सव हुने गर्दछ,’ अधिकारीले भने,‘दसैँमा शक्तिपीठहरुको दर्शन गरिने भएकाले यहाँ कम मानिस आउनुहुन्छ । तर, रामनवमीमा खुट्टा राख्ने ठाउँ पाउन पनि मुस्किल पर्छ ।’ अधिकारीका अनुसार बिहान ५ बजे मन्दिर खुलेपछि यहाँ मंगल– आरती गरिन्छ । त्यसपछि भगवानलाई ओढाइएको ओढ्ने निकालिन्छ । अधिकारीले जप, सन्ध्या, नृत्य–तर्पण र पाठपूजा थाल्छन् । शालिकराम भगवानको स्नान हुन्छ । भगवानको शृङ्गार हुन्छ । भगवानलाई प्रसादहरू भोग लगाउने काम हुन्छ ।

विवाह पञ्चमीमा पनि यस मन्दिरमा विशेष रौनक देखिन्छ । ‘अघिल्लोपटक कोरोनाले रोकियो । नत्र, विवाह पञ्चमीमा पशुपति राम मन्दिरबाट यहाँ झन्डै तीन–चार सय जन्ती आउनुहुन्छ,’ उनले भने । साँझ ६ बजे फेरि आरती हुन्छ र आरती सकेर भगवानलाई ओढ्ने ओढाउने, शयन गराउने र ७ बजे मन्दिर बन्द गर्ने गरिन्छ । २८ वर्षदेखि अधिकारीको दैनिकी यसरी नै चलिरहेको छ । गुरुङ परिवारले पूजा–अर्चना र आरतीमा निरन्तर सहयोग गर्ने गरेको उनी बताउँछन् । ‘उहाँ त दशकौंदेखि सेविकाका रूपमा खटिरहनुभएको छ । मन्दिरको रेखदेख गरिरहनुभएको छ । उहाँहरूमा ईश्वरप्रति ठूलो भक्ति छ,’ कान्छी गुरुङतर्फ इशारा गर्दै अधिकारीले भने । बिहान ९ बजेपछि आरती सुरु हुन्छ र झन्डै १० बजेसम्म चल्छ । यसपछि, भगवानलाई प्रसाद भोग लगाइन्छ । ‘औसत २०–३० जना भक्तजनहरु दैनिक आउनुहुन्छ । पहिले त, कहिलेकाहीँ १ सय जनासम्म पनि आउनुहुन्थ्यो,’ अधिकारीले रातोपाटीसँग भने, ‘आरती सकिएपछि भगवानलाई प्रसाद चढाएर झन्डै साढे १० बजेतिर मन्दिर बन्द गर्छौँ । त्यसपछि  एकैपटक साँझ ५ बजे खुल्छ ।’

तपाईलाई चाहिँ भगवानको आशीर्वाद कत्तिको मिलेको छ ?   अधिकारीले भने, ‘कुनै जन्ममा केही राम्रो गरिएको थियो होला र यत्तिका वर्षसम्म भगवानको सानिध्यमा बसेर सेवा गर्न पाइयो । प्रसाद खान पाइयो भनेर गौरव नै लाग्छ ।’ अधिकारीले धेरै तीर्थस्थलहरुको भ्रमण पनि गरिसकेका छन् । ‘जगन्नाथपुरी, तिरुपति बालाजी, मद्रासमा पार्थ सारथी, रंगनाथ भगवान, रामेश्वरम, मीनाक्षीदेवी, केरलाको त्रिवेन्द्रममा जनार्दन, पद्मनाथ, उत्तराञ्चलमा बद्रीनाथ, केदारनाथ, वृद्धावन, ऋषिकेश, बनारस, अयोध्यया लगायत धेरै ठाउँमा पुग्ने मौका पाइयोे । सायद भगवानकै कृपा भएर होला,’ उनले भने ।

 

राम मन्दिर परिसरमा बस्ने यी दुवै परिवारको जीवनशैली सात्त्विक छ । ‘आमा वैष्णव हुनुहुन्छ । हामी पनि शाकाहारी हौँ । जमरा यहीँ मन्दिरमै राख्छौँ । यहीँ पूजा गर्छौँ,’ ईश्वरीले भनिन्, ‘दसैँमा टीका थाप्न बहिनी–ज्वाइँ र छोराछोरी पनि आउँछन्  । सबै मिलेर खुसीयाली मनाउँछौँ ।’ आमा जसरी नै सेविकाका रूपमा आजीवन काम गर्ने उनको अठोट छ । ‘०७२ को महाभूकम्पमा आमाको सातो उडेको थियो । अहिले पनि हात काँप्छ, तर उहाँ भगवानको सेवामा खटिन छाड्नुभएको छैन । म पनि यसरी नै रेखदेख गरेर बस्ने हो । यहीँ जन्मियौँ, हुर्कियौँ, यहीँबाट अन्मियौँ । अब भगवानको सेवा गर्दागर्दै हजुरआमा र बुबा जसरी नै यहीँबाट मसानघाट पुग्न पाए मुक्ति पाइएला भन्ने लाग्छ ।’ तर, उनलाई विशेष रौनक भने रामनवमीमै लाग्छ । किनकि, यस चाडसँग उनको बाल्यकालको याद जोडिएको छ । ‘अन्य समय मन्दिर सुनसान हुने भए पनि रामनवमीमा सधैँ चहलपहल हुन्थ्यो । हजुरआमा र आमाले बिहानै उठेर पूजा सामाग्री तयार गर्नुहुन्थ्यो । हामीले मन्दिर लिप्ने गरेका थियौँ । मानिसहरुको भीड देखेर दिदी–बहिनी निकै खुसी हुन्थ्यौँ,’ ईश्वरीले भनिन्, ‘अहिले पनि रामनवमीमा बहिनीहरू सकेसम्म यहाँ आउँछन् ।’

 

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *