सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै, अझ पेचिलो बन्दै एमसीसी:
– राप्रपादेखि विप्लवसम्मको विरोध
‘एमसीसीका विषयमा हामीले अहिले कुनै छलफल नै गरेका छैनौं, संसद्मा पेस हुने अवस्था आए छलफल गर्छौं, अहिले एमसीसीबारे हाम्रो पार्टीको कुनै धारणा नै बनेको छैन,’ जसपा अध्यक्ष यादवले भने । सत्ता गठबन्धनकै अर्को घटक जसपाका अध्यक्ष उपेन्द्र यादवले एमसीसीका विषयमा आफ्नो दलको अहिले कुनै धारणा नै नभएको बताउँछन् । यस्तै, सत्तारूढ घटकमध्येकै एक दल राष्ट्रिय जनमोर्चासमेत एमसीसीको पक्षमा छैन । उसले एमसीसीको विरोधमा देशव्यापी विरोधका कार्यक्रम नै गरिरहेको छ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी संसद्बाट पारित हुन नसक्ने बताए । सत्तारूढ घटकमध्येकै अर्को दल नेकपा एसकी नेत्री रामकुमारी झाँक्रीले पनि एमसीसीका प्रावधानमा केही सुधार आवश्यक रहेको बताइन् । ‘एमसीसीका केही प्रावधानमा संशोधन आवश्यक छ । यो विषयमा निरन्तर छलफल भइरहेको छ,’ नेत्री झाँक्रीले भनिन् । ‘हाम्रो पार्टीको एमसीसीका विषयमा प्रस्ट धारणा छ, यथास्थितिमा एमसीसी संसद्बाट पारित हुँदैन, केही संशोधन गर्ने विषयमा अमेरिका तयार हुनुपर्छ,’ माओवादी केन्द्रका नेता श्रेष्ठले राजधानीसँग भने । एमसीसीका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सत्तारूढ दलको नीति हेरेर अघि बढ्ने बताएको छ । ‘हामी अहिले नै यस विषयमा बोल्न हतार गर्दैनौं, सत्ता पक्ष कसरी अघि बढ्छ हेरौं, त्यसपछि हामी पनि छलफल गरेर निर्णयमा पुग्छौं,’ एमाले नेता सुवासचन्द्र नेम्वाङले भने । राप्रपा नेता बुद्धिमान तामाङले पार्टीले कुनै ठोस धारणा नबनाए पनि संशोधनका पक्षमा राप्रपा रहेको र अध्ययन गरिरहेको जानकारी दिएका हुन् । सरकारको नेतृत्व गरेको दल कांग्रेसले भने सहमतिबाटै संसद्बाट एमसीसी सम्झौता अनुमोदन गर्ने बताउँदै आइरहेको छ । यस्तै, राप्रपालेसमेत एमसीसीका विषयमा कुनै ठोस निर्णय लिइसकेको छैन । तर, अनौपचारिक रूपमा भने यथास्थितिमा एमसीसी अघि बढाउन राप्रपासमेत तयार छैन । उसले एमसीसीका केही विषयलाई संशोधन गरिनुपर्ने बताएको छ । त्यसयता प्रधानमन्त्री देउवाले अनौपचारिक रूपमा एमसीसीका विषयमा राजनीतिक दलका नेता र अर्थ विज्ञहरूसँग एमसीसी परियोजना कसरी अघि बढाउने भन्नेबारेमा छलफल गर्दै आइरहेका छन् । प्रधानमन्त्री देउवाले सो विषयमा गत शुक्रबार एमसीसीको प्रतिनिधिमण्डलसँगको भेटमासमेत आफू सबै राजनीतिक दलसँगको छलफलबाट एमसीसी अघि बढाउने विषयमा सकारात्मक रहेको बताएका थिए । तर, विप्लव नेतृत्वको दलले भने एमसीसी परियोजना राष्ट्रघाती भएको र यसले देशको हित नगर्ने भन्दै कुनै हालतमा अगाडि नबढाउन सरकारलाई सचेत गराएको छ । विप्लव नेतृत्वको दलले सोमबार एमसीसीको विरोधमा राजधानीमा विरोध सभाको नै आयोजना गरेको थियो । स्रोतका अनुसार उनले आफूनिकटका केही नेतालाई विपक्षी दलका नेताहरूसँगको संवादका लागि समेत खटाएका छन् भने सत्ता गठबन्धनभित्र पनि देउवाले यो विषयलाई निष्कर्षमा पु¥याइनुपर्ने भन्दै आइरहेका छन् । विकासशील देशहरूलाई ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्ले स्थापना गरेको हो । सन् २०१२ यता भएका शृखलाबद्ध छलफलपछि सन् २०१७ मा तत्कालीन नेपाली कांग्रेसको सरकार हुँदा अमेरिका र नेपालबीच एमसीसीमा सम्झौता भएको थियो ।