१४० मेगावट क्षमताको तनहुँ जलविद्युतको प्याकेज दुई र तीनको काम धमाधम हुँदै
विराज अधिकारी
तनहुँ दमौली
तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्याकेज दुई र प्याकेज तीनको काम धमाधम भईरहको छ । व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१ मा निर्माणाधिन आयोजनाको कोभिड १९ को जोखिमको समयमा पनि स्वास्थ्य साबधानी अपनाएर आयोजनाको काम सञ्चालन गरिएको हो । प्याकेज दुई अन्तर्गत भूमिगत कामहरु भइरहेका छन् । बर्खाको समयमा पनि काम निरन्तर भइरहेको आयोजना प्रमुख अच्युत घिमिरेले बताए । हालसम्म ४ वटा सुरुङ निर्माण सम्पन्न भएको छ,’ उनले भने । १ सय ८८ मिटर लम्बाईको केबुल टनेल, दुई सय ८० मिटर लम्बाईको मुख्य प्रवेश सुरुङ , ३१४ मिटर लम्बाईको बाधतर्फ जाने नदिको दायाँ तर्फ पहुँच सुरुङ र ४३७ मिटर लम्बाईको सर्ज ट्याङ्क जाने पहुँच सुरुङ निर्माण भईसकेको आयोजनाले जनाएको छ । प्याकेज दुई अन्तर्गतको कामको जिम्मा पाएको चिनियाँ सिनो हाईड्रो कम्पनीले सो सुरुङमार्ग निर्माण गरेको आयोजना प्रमुख घिमिरेले बताए ।अच्युत घिमिरे आयोजना प्रमुख आयोजनाको बाँधको काम थाल्नका लागि उक्त सुरुङ निर्माण अपरिहार्य थियो । भूमीगत सर्ज ट्याङ्क , विद्युत गृह र बाँध तथा नदि फर्काउने कार्य अघि बढाउनका जरुरी रहेका उक्त सुरुङ मार्ग खन्ने कार्य पुरा भएको घिमिरेले बताए । सर्ज ट्याङ्क पहुँच मार्गका लागि प्राविधिक तथा ईञ्जिनियरहरुले सात महिनादेखि काम थालेका थिए । चिनियाँ र नेपाली प्राविधिक तथा चार सय जना यस सुरुङ निर्माण कार्यको लागि खटिएका थिए । आयोजनाको विद्युतगृहको काम पनि चिनियाँ सिनो हाईड्रो कम्पनीले गरिरहेको छ ।
प्याकेज एक अन्तर्गतको नदि फर्काउने, बाँध निर्माण गर्ने काम सोङ्ग दा–कालिका जे.भीले गर्दैछ । नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माण कार्यका लागि गत चैत्र ९ गते ठेक्का सम्झौता भईसकेको छ भने उक्त ठेकेदारले निर्माण पूर्व तयारीको कार्य गरिरहेको आयोजनाले जनाएको छ । अहिले ल्याण्ड स्केपिङ्ग, भौगर्भिक अन्वेषण, सर्भे लगायतका काम भएको आयोजनाले जनाएको छ ।
आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ । हाल २६ वटा फाउण्डेसनको निर्माण कार्य सम्पन्न भएको छ भने टावर निर्माणको लागि प्राविधिक टोलीले आवश्यक तयारी गरिरहेको छ ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।