नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात पर्यो

Share to:

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ ।
नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक उपकरणबाट अक्सिजन उत्पादन भएपछि दोस्रो सफलता हात परेको हो यसअघि नासाले मंगल ग्रहको सतहमा पहिलो पटक सानो हेलिकप्टर उठाएको थियो ।

यानमा रहेको मोक्सी नामक उपकरणले मंगल ग्रहको कार्बन डाइअक्साइडबाट अक्सिजन उत्पादन गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । अक्सिजन उत्पादन गर्न सफल मोक्सीको आकार टोस्टर (पाउरोटी बनाउने/तताउने सानो मेशिन) जति छ ।

समाचार अनुसार मोक्सीले एक घण्टामा पाँच ग्राम अक्सिजन तयार गरेको छ । उक्त परिमाणको अक्सिजनले एक जना अन्तरिक्ष यात्रीलाई १० मिनेटसम्म श्वास फेर्न पुग्छ । मोक्सीले प्रतिघण्टा १० ग्रामसम्म अक्सिजन उत्पादन गर्न सक्ने बनाइएको छ ।

नासाले हाल परीक्षण स्वरुप उक्त परिमाणको अक्सिजन उत्पादन गरिएको बताएको छ । भविष्यमा ठूलो परिमाणमा अक्सिजन उत्पादन गर्न सकियोस् र पृथ्वीबाट अक्सिजन बोक्न नपरोस् भनेर उक्त परीक्षण गरिएको पनि नासाको भनाइ छ ।

मंगल ग्रहमा जाने अन्तरिक्ष यात्रीका लागि मात्रै होइन, रकेटका लागि पनि अक्सिजन चाहिन्छ । तर मंगल ग्रहमा कार्बन डाइअक्साइडको मात्रा धेरै अर्थात् ९६ प्रतिशत छ । जबकि अक्सिजनको मात्रा निकै कम अर्था्त ०.१३ प्रतिशत मात्रै छ ।

पछिल्लो परीक्षणका क्रममा मोक्सीले कार्बन डाइअक्साइडबाट अक्सिजनका अणु छुट्ट्याएको र अक्सिजन अगल गरेपछि बाँकी रहेको कार्बन मोनोअक्साइड मंगल ग्रहमा नै फालिएको नासाले बताएको छ ।

Like